दिउँसो पढाउनै मान्दैनन् शिक्षक : कता जान्छन् दिनभर ?
बागलुङ : शिक्षा विभागले तीन वर्षअघि दिवा समयमा कक्षा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरे पनि जिल्ला तहको कार्यन्वयनमा शिक्षक बाधक देखिएका छन्।
जिल्लामा सञ्चालित १ देखि १२ कक्षासम्मको पढाइ बिहान १० बजेदेखि ४ बजेसम्म पढाउन निर्देश गरे पनि जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयले शिक्षक र भवनका कारण कक्षा सञ्चालन गर्न नसकिने बताउदै आएका छन्।
जिल्लाका विद्या मन्दिर मावि, कालिका कन्या माविलगायतका दर्जन सामुदायिक र संस्थागत विद्यालय अझै पनि बिहान सञ्चालित छन् । विद्यालयको सुविधा सम्पन्न भवन बनिसक्दा पनि बिहान कक्षा सञ्चालन गरिएको छैन ।
बिहानमा कक्षा सञ्चालन गर्दा धेरै शिक्षकले दिउँसो अर्को विद्यालय र क्याम्पसमा जागिर गर्ने गरेका छन् । विद्या मन्दिरमा मात्र २० शिक्षकले बिहान पढाएर दिउँसो विभिन्न क्याम्पस, विद्यालय र निजी स्कुलमा जाने गरेको अभिभावक देवेन्द्र शर्माले बताए । शिक्षकहरुले अप्रत्यक्ष रुपमा नेकपा नेतृत्वमार्फत निर्णय कार्यन्वयन नगर्न दबाव समेत बढाएका छन्।
विद्यालय तहको शिक्षा स्थानीय तहमा हस्तान्तरण भएपछि गत वैशाखमा बाग्लुङ नगरपालिकाले सदरमुकाममा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा दिवा समयमा सञ्चालन गर्न निर्देशनसहित पत्राचार गरेको थियो।
विद्यालयले पहिलो पत्रको बेवास्ता गरेपछि नगरपालिकाले एक साताको म्याद दिएर पुनः चेतावनीसहित केही दिन अघि फेरि पत्राचार गर्यो। पछिल्लो पत्र र निर्देशनलाई पनि विद्यालयले बेवास्ता गरेपछि नगरपालिकाका मेयर जनकराज पौडेलले सोमबार विद्यालयका प्रधानाध्यापकलाई बोलाएर तत्काल निर्णय कार्यन्वयन गर्न निर्देशन दिएका छन्।
दिवा कक्षा सञ्चालन नगरे नगरपालिकाले तलब, सेवा सुविधा रोक्का गर्ने र आवश्यक कारवाहीमा जाने चेतावनीसमेत दिएको नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए। विद्यालय तहको पढाइ ६ घण्टा हुने नियमावलीमा उल्लेख भए पनि बिहानी कक्षामा जम्मा चार घण्टामात्र अध्ययन हुने गरेको छ।
‘हामी दिउँसोमै कक्षा चलाउन निरन्तर प्रयासरत छौं’ नगर शिक्षा अधिकारी शर्माले भने, ‘तर, शिक्षकको दबावका कारण निर्णय कार्यन्वयनमा चुनौती छ, नगरपालिकाले हिजो मात्रै बोलाएर दिवा समयमै कक्षा सञ्चालन गर्न र नगरे तलब रोक्का गर्नेसम्मको चेतावनी दिइएको छ।’
सामुदायिक विद्यालयलाई अनुदान लगायतका सेवा सुविधा लाने भएकाले कडाई गर्न सहज भए पनि संस्थागतलाई यसको दायरामा ल्याउन थप चुनौति देखिएको नगरपालिकाले जनाएको छ। शिक्षक इतरको भवनको समस्या भएका विद्यालयलाई तत्कालीन अस्थायी रुपमा भाडाँमा कक्षा कोठा व्यवस्थापन गर्न आग्रह गरिएको छ। यसका लागि आवश्यक समयसमेत दिन सकिने शर्माले बताए।
प्रतिक्रिया दिनुहोस !