भाइ किन बलात्कृत हुँदैन ?
एक पत्रिकामा ‘चारजनाले बालिका अपहरण गरी बलात्कार’ शीर्षकको समाचारमा आँखा पुगेको मात्र थियो, टेबलमा रहेको मेरो मोबाइलमा घण्टी बज्यो, ‘मामु, हजुर कता ? आउने बेला भएन ? ’ छोरीले मलाई फोनमा यति सोध्नेबित्तिकै भनें, ‘किन छोरी ? के भयो ? ’ तीन बजे स्कुलबाट आएकी छोरीलाई साँझ ६ बजेसम्म करिब १० पटक फोन गर्छु।
मेरो एउटा बानी छ। सायद मजस्तै आमाहरूको पनि स्वभाव होला। आपूm घरछेउछाउ पुग्दानपुग्दै घरको ढोकामै छोराछोरी आएर हेरिदिऊन् र प्यारो हुँदै भनून्, ‘मामु, आज यो गरें, उ गरें।’ उनीहरूलाई हेर्न घरभित्रसम्म पनि आँखाले प्रतीक्षा गर्न मान्दैनन्।
मेरा दुई सन्तान। छोरी ठूली र छोरो सानो। तर चासो छोरीको बढी हुन्छ। पछिल्लो समय घरमा पुग्नेबित्तिकै छोरीको अनुहार निराश देखियो भने मेरो मन ढक्क फुल्छ। एकछिन म केही सोध्न पनि सक्दिनँ। किनभने, जुन हातले मैले घरमा पुगेर छोरीलाई सुमसुमाउँदै थिएँ, तिनै हातले केही घण्टाअघि चार वर्षीय बालिकादेखि ७० वर्षीय वृद्ध महिलासम्म बलात्कृत भएका समाचार लेखेर घर पुगेकी हुन्थें।
केही दिनअघि बेलुका घरमा पुगेपछि छोरीले भनिन्, ‘मामु, बलात्कार भनेको के हो ? बलात्कार छोरीलाई मात्र हुन्छ मामु ? भाइलाई किन हुँदैन ? ’ छोरीको प्रश्न नसकिँदै घरबाहिरको आँगनमा खटियामा थचक्क बसेर सोचें- के भनेर सम्झाऊँ ? मैले छुट्ट्याउन नसकेको छोरा र छोरीबीचको अन्तर छोरीले सहजै छुट्ट्याई। तर पनि बेलाबखत उसलाई ‘ब्याड टच’ को बारेमा पटकपटक बुझाइरहें।
‘मामु, जसको मामु विदेश गएका हुन्छन्। उनीहरू घरमा कसरी बस्छन् ? तिनीहरूलाई कसले यस्तो नगर, यो खराब हो भनेर सम्झाउने ? ’ छोरीका प्रश्नहरू एकाएक थपिँदै गए। बलात्कार शब्दप्रति नौ वर्षीय छोरीले सोधेका प्रश्नका पाना त पल्टाउँदै जाउँला, तर उसको मनभित्रको असुरक्षित भावना कसरी मेटाऊँ ?
मेरी आमा, म जुन समाजमा जन्मियौं, हुर्क्यौं, त्यही समाजमा आज छोरीलाई जोगाउन मलाई मुस्किल परेको छ।
केही दिनअघि छिमेकमा एकजना १४ वर्षकी बालिकाको छातीमा ७० वर्षको छिमेकले सीधै हात लगेछन्। त्यतिबेलै ती बालिकाले प्रतिकार गरेर ती वृद्धलाई जति सक्दो कुटेर माफ माग्न लगाइछन्। छोरीले त्यो घटना नजिकबाट सुनेकी थिई। उसलाई त्यही दिनदेखि बलात्कार शब्ददेखि निकै उत्सुकता बढेको थियो।
त्यसो त, मेरो दैनिक गतिविधिप्रति ऊ खुब चासो र सरोकार राख्छे। उसलाई रिपोर्टिङ भन्ने शब्द प्रिय लाग्छ। यही सन्दर्भमा करिब एक महिनाअघि झापाको मेचीनगरमा एउटा बलात्कारको घटना बाहिरियो। बलात्कारमा संलग्न व्यक्ति सामाजिक रूपमा पूmर्तिफार्तीका थिए। दुईचारजनाको नमस्तेसम्म पाउने हैसियतका तर क्रूर मानसिकता भएका ५५ वर्षीय वृद्ध थिए। उमेरले १७ वर्षकी तर शारीरिक अवस्था हेर्दा आठ-नौ वर्षकी जस्ती देखिने किशोरीलाई ती पुरुषले एक वर्षदेखि मानसिक र शारीरिक यातना दिँंदै बलात्कार गर्दै आएको घटना बहिरियो।
घटना बाहिरिएपश्चात् सोही ठाउँका स्थानीय वासिन्दा घटनाको ढाकछोप गर्न यसरी लागे कि मानौं उनीहरू यो समाजमा बस्ने मानिस होइनन्। उल्टै उनीहरूले पीडित बालिकालाई पेसेवर यौनकर्मी भन्नसमेत बाँकी राखेनन्। बलात्कारीलाई जोगाउन सिंगो समाज नै लागिपर्यो। यही कुरा घरमा छोरीलाई पनि सुनाएँ। उसले दायाँबायाँ नसोची भनी, ‘मामु, जसको बलात्कार भयो नि, उसलाई ‘ब्याड टच’ बारे थाहा नहुन पनि सक्छ।’
यो त्यही देश हो, जहाँ मेरी हजुरआमा १८ वर्षको उमेरमा विधवा भइन् र ७५ वर्षसम्म संघर्षको जीवन बिताइन्। मेरी आमा, जुन देशमा जन्मिन्, म जुन देशमा जन्मिएँ, जुन घर र समाजको रहनसहनमा हुर्की बढें, त्यहाँ त यति धेरै असुरक्षा महसुस भएको थिएन। अहिलेको जस्तै हाम्रो समाज यति धेरै बहकिएको भए त्यतिबेला हाम्रा हजुरआमाले विधवाको कहालीलाग्दो जीवन कसरी व्यतीत गर्थे होलान् ?
मेरी छोरी जन्मिँदाको खुसी सायद जीवनको अरू कुनै खुसीसँग तुलाना हुँदैन। आज उनै छोरीलाई जोगाउन मुस्किल परेको छ। पलपल आत्तिन्छ मन र धड्किन्छ मुटु। दिनभरि घरबाहिर हुँदा एकपटक पनि छोरीको फोन आएन भने म उसलाई आफैं फोन गर्न पनि सक्दिनँ। मन र मुटुले नै काम गर्दैन। के भयो कि भन्ने मात्र त्रास हुन्छ।
प्रहरीले गत असारमा देशभर २३ बलात्कारका घटना भएको तथ्यांक सार्वजनिक गरेको थियो। त्यसमा झापा जिल्लाको एउटै नगरभित्र एक साताभित्र तीनवटा बलात्कारका घटना भएको रहेछ। यस्ता समाचार कानमा पलपल ठोकिँदा मैले छोरीको सुरक्षा पनि कहाँनेर महसुस गर्न सक्छु र ? म पनि आमा हुँ। मजस्तै लाखौं आमाले आफ्ना छोरीको सुरक्षाको महसुस कसरी गरून् ?
भन्न मन लाग्छ- सरकार बलात्कारीलाई जीवनभर जेलभित्रै राख्ने कानुन ल्याउन किन सक्दैन ? साँच्चिकै जनताको सरकार हो भने मजस्तै आमाहरूको कुण्ठा सुन, रोदन सुन, आँसुको मूल्य चिन र यस्ता अपराधीलाई उम्कन नदेऊ।
इन्सेकको पछिल्लो तथ्यांकअनुसार गत वर्ष यौनजन्य हिंसाबाट धेरै बालबालिका पीडित भएका थिए। अधिकांश बलात्कार प्रयास पनि १० वर्षमनिका बालिकामाथि भएको छ। बलात्कार प्रयास पनि चिनेका तथा आफन्तबाट भएको छ। यसले आफन्तबाटै बालिका बढी असुरक्षित देखिएको इन्सेकले आफ्नो प्रतिवेदनमा खुलाएको छ।
निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण भएको एक वर्ष पुगेको छ। यसबीचमा निर्मलालाई न्याय दिलाउन सिंगो देश खटियो। घटना अनुसन्धानका लागि आधा दर्जन समिति बने। शंकास्पद भनिएका ५२९ व्यक्तिसँग बयान लिइयो। ७३ जनाको डीएनए परीक्षण भयो। तर अभियुक्त पक्राउ पर्न सकेको छैन। यसले हाम्रो सरकारको नालायकपन छताछुल्ल पारेको छ। अब अभिभावकले सोच्नैपर्छ- हाम्रा छोरीहरूको सुरक्षा राज्यबाट हुन सक्दैन। छोरीहरूको भविष्य सुरक्षित राख्ने अभिभावक मात्रै हुन्।