बबरमहलमा फुटेको पाइप मर्मत, पानी परीक्षण सुरू
काठमाडौं : काठमाडौंको बबरमहलमा फुटेको मेलम्ची खानेपानीको मुख्य पाइप मर्मत गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले बिहीबार नयाँ पाइप जडान गरिसकेको खानेपानी मन्त्री प्रदीप यादवले बताए। पाइपमा पानी पठाएर परीक्षण गर्न सुरू गरिसकिएको उनले बताए।
'पाइप मर्मत कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ। अहिले पानी परीक्षणको काम भइरहेको छ। परीक्षण सम्पन्न भएपछि खानेपानी वितरण प्रक्रिया पुन: सुचारु गरिनेछ,' खानेपानी मन्त्री यादवले अन्नपूर्णसँग भने।
मेलम्चीको पाइप बुधबार फुटेपछि बबरमहल आसपासका सरकारी कार्यालयहरू जलमग्न बनेको थियो। नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने क्रममा होरिजोन्टल ड्रिलिङ गर्दा उक्त पाइप फुटेको थियो। पाइप फुटेदेखि केयुकेएलको मर्मत टोली बुधबार रातिदेखि नै मर्मतमा लागेको मन्त्री यादवको भनाइ छ।
तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !