'ताज महलका टेन्डर' प्रदर्शनसँगै सकियो नेपाल-भारत रंग महोत्सव
काठमाडौं : नेशनल स्कुल अफ ड्रामाका निर्देशक चित्तरन्जन त्रिपाठीद्वारा निर्देशित 'ताज महलका टेन्डर' नाटक प्रदर्शनसँगै नेपाल-भारत रंग महोत्सव सकिएको छ। बुधबार जमलस्थित नाचघरमा भव्य दर्शकहरूबीच नाटककार अजय शुक्लाद्वारा लिखित उक्त नाटक प्रदर्शन गरिएको हो।
यो नाटकले भारतको मात्र होइन, नेपालको सिस्टमलाई पनि ठूलो व्यंग्य गरेको छ। यो नाटकले कर्मचारीतन्त्र, फाइल सिस्टम र अफिसियलडमप्रति कडा व्यंग्य गरेको निर्देशक त्रिपाठी बताउँछन्। 'यो नाटक ती संगठनात्मक बिरामीहरूमा केन्द्रित छ, जसबाट भारतवर्ष नराम्रोसँग पीडित छ। जस्तै भ्रष्टाचार, कामचोर, परिवारवाद, अंहकार र जनताका आवश्यकताप्रतिको संवेदनहीनता,' निर्देशक त्रिपाठी भन्छन्।
बादशाह शाहजहाँले आफ्नी स्वर्गीय पत्नीको सम्झनामा एउटा स्मारक बनाउन चाहन्छन्। जसलाई 'ताज महल'को नाम दिइन्छन्। यो जिम्मेवारी सरकारी निर्माण विभागका मुख्य इन्जिनियर गुप्ताजीलाई सुम्पिएको छ। अत्यन्तै चलाख र भ्रष्ट गुप्ताजीले शाहजहाँलाई तानाबाना बुनेर सरकारी जालोमा घुमाउँछन्। ताज महलको टेन्डर अनुमोदन हुन नै २५ वर्ष लगाउँछन्। गुप्ताजीले नेता, ठेकेदार र विचौलियासँग मिलेर कसरी 'ताज महल' योजनालाई लामो समय घिसार्छन् भन्ने मुद्दा नै नाटकमा दर्साइएको छ।





गत माघ २३ गतेबाट सुरू भएको नेपाल-भारत रंग महोत्सव ६ दिन चलेको थियो। उद्घाटन सत्रमा सुनिल पोखरेलको निर्देशन रहेको '…गच्छामि' नाटक प्रदर्शन गरिएको थियो। यो नाटकले शाक्य मुनी सिद्धार्थ गौतमको यात्रालाई चित्रण गरेको छ, जसले ज्ञानको खोजीमा सांसारिक जीवन त्यागेका थिए। 'यो नाटक हाम्रो अज्ञानको परिणाम हो। यसको मूल लेखक एउटै छैन। बुद्धसम्बन्धी विभिन्न पुस्तकहरू नाटकका आधार हुन,' निर्देशक पोखरेल भन्छन्।


दोस्रो दिन दिया मास्के निर्देशित 'कथा कस्तुरी' प्रदर्शन गरिएको थियो। यो नाटकले नेपाली लोककथा र परम्पराहरूमा यसको भूमिकाको अन्वेषण गर्नुका साथै मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्ने चुनौतीबारे देखाउन खोजिएको छ।


तेस्रो दिन नम्रता केसी निर्देशित 'जून' प्रदर्शन गरियो। 'यो नृत्य नाटिका चाहना र प्रेमको प्रतिफल हो। जहाँ हामी समकालीन कथा कथनको परम्परा र महिला पात्रहरूप्रतिको हाम्रो धारणालाई समृद्ध बनाउँछ,' केसीले भनेकी छन्।



त्यस्तै चौथो दिन भारतीय नाटक 'माई री मैं का से कहुँ' प्रदर्शन भयो। जसलाई अजय कुमारले निर्देशन गरेका छन्। यो नाटकमा एउटी महिलाको इच्छा, उसका भावनाहरू र सामाजिक मर्यादाबीचको द्वन्द्व देखाइएको छ।



त्यस्तै पाँचौं दिन राजेश सिंह निर्देशित भारतीय नाटक बाबुजी प्रदर्शन गरियो। 'यो नाटकले समाजका ती हरेक व्यक्तिको प्रतिनिधित्व गर्छ, जो स्वतन्त्र भएर आफ्नो सर्तमा बाँच्न चाहन्छन्। यो नाटकले सामाजिक र पारिवारिक जिम्मेवारीलाई पनि बचाइराख्न चाहन्छ,' नाटकबारे निर्देशक सिंह भन्छन्।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नाटक महोत्सवले दुई देशको कला क्षेत्रको प्रवर्द्धन भएको बताए। समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल र भारतबीच सदियौंदेखि कला-संस्कृति क्षेत्रमा सम्बन्ध रहँदै आएको बताए।


प्रतिक्रिया दिनुहोस !