टिकटकले स्मार्टफोन बनाउने
![टिकटकले स्मार्टफोन बनाउने](https://annapurnapost.prixacdn.net/media/albums/TIKTOK_20190802044741_ZTWmwAaGmO.jpg)
भिडियो सेरिङ एप टिकटकको व्यापक सफलतासँगै कम्पनीले स्मार्टफोनको व्यवसायमा हात हाल्ने भएको छ। पछिल्लो समय युवामाझ टिकटक लोकप्रिय बन्दै गइरहेको छ। यसको प्रयोगकर्ता ५० करोडभन्दा धेरै पुगिसकेका छन्।
टिकटकको डेभलपर बाइटडान्स स्मार्टफोनको क्षेत्रमा प्रवेश गर्ने तयारीमा छ। बाइटडान्ससँग टिकटकलगायत अन्य भिडियो तथा समाचारमा एपको स्वामित्व छ। टोटियो, बुज भिडियो, भिगो भिडियोमध्ये यसको सबैभन्दा चर्चित एप टिकटक हो।
चीनको आर्थिक पत्रिका कैजिङका अनुसार बाइटडान्सको नयाँ मोबाइल २०२० को सुरुवातमा सार्वजनिक हुनेछ। कुनै एक एपको व्यापक सफलतासँगै मोबाइलको दुनियाँमा प्रवेश गर्ने बाइटडान्स पहिलो कम्पनी भने हैन। सन् २०१३ मा चीनकै सेल्फी एप बनाउने कम्पनी मीतूले स्मार्टफोन निर्माण गरिसकेको छ। मितू फोनलाई चीनको सामाजिक सञ्जालमा उत्कृष्ट क्यामरा र द्रुत अटो फोकसका साथै आर्टिफिसियल इन्टिलिजेन्सीका लागि राम्रो मोबाइल भएको बताइएको थियो। यो फोन बजारमा प्रवेश गर्नुअघि नै चीनमा कैयौं कम्पनीको बोलवाला रहँदै आएको छ। नयाँ कम्पनीलाई पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्न निकै चुनौती छ।
फेसबुक, गुगल, अमेजनजस्ता ठूला कम्पनी प्राविधिक क्षेत्रमा निकै शक्तिशाली छन्। सामाजिक सञ्जाल एपबाट सुरु गरेको फेसबुकसँग ह्वाट्सएप र इन्स्टाग्राम जस्ता दुई ठूला कम्पनी छन्। तर, फेसबुकले बजारमा ल्याएको एन्ड्रोइड लन्चर एप सफल हुन सकेन। गुगल कम्पनीको गुगल पिक्सल स्मार्टफोन सफल भए पनि सोसल नेटवर्किङमा गुगल प्लस फ्लप रहयो। यस्तै अमेजन कम्पनीको ट्याबलेट र ई रिडर्सले प्रयोगकर्ताको मन जित्न सफल भए पनि फायर फोन प्रयोगकर्ताको रोजाइँमा पर्न सकेन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)