हामखोला झरनामा सांस्कृतिक महोत्सव
![हामखोला झरनामा सांस्कृतिक महोत्सव](https://annapurnapost.prixacdn.net/media/albums/Hamkhola-jharana-lamjung_20190802101042_ElRKjTbMMF.jpg)
बेंसीसहर : छङ्छङ् झरना। पानीमा खेल्ने र सेल्फी लिने मानिसको घुँइचो। लमजुङस्थित मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा पर्ने हामखोलाको पछिल्लो दृष्य हो यो। यहाँ पछिल्लो समय वाह्य र आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ।
पर्यटकको रोजाइमा परेको हामखोला झरना अझ आकर्षक बढाउन स्थानीयले पहिलोपटक ‘वाटरफल फेस्टिवल’को आयोजना गर्ने भएका छन्। आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी साउन २५ गते उक्त महोत्सव आयोजना गरिएको हामखोला झरना महोत्सव उपसमितिका संयोजक प्रमोद घलेले जानकारी दिए।
घलेका अनुसार ‘एक नौलो सांगितिक अनुभुति, साथमा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो। आयोजक समितिका सचिव रवि थापाका अनुसार महोत्सवमा डिजे डेकिङको विशेष प्रस्तुति रहनेछ। साथमा स्थानीय कलाकारको समेत सांस्कृतिक प्रस्तुती रहनेछ।
आन्तरिक तथा वाह्य पर्यटकका लागि ३ वटा स्वीमिङ पुल बनाउन थालिएको उनले बताए। यो महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए। महोत्सवमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको जानकारीमुलक तस्विरहरु राखिनेछ। महोत्सव संचालनका लागि गाउँपालिकाले एक लाख रुपियाँ सहयोग गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)