खेलकुदमा उधारो पुरस्कार

खेलकुदमा उधारो पुरस्कार

काठमाडौं : गत चैत ४ गते हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाली धावक अजितकुमार यादवले स्वर्ण पदक जिते। विभागीय टोली एपीएफ क्लबबाट खेल्दै आएका अजितले पुरुष तीन हजार मिटर दौड आठ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए। आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमानमा पनि सुधार गरेका उनले भारत र यमनका खेलाडीलाई पछि पारेका थिए।

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गरेको प्रतियोगितामा नेपाली खेलाडीले जितेको त्यो पहिलो स्वर्ण पदक थियो। ४५ वर्षअघि सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक थियो त्यो।

नेपाललाई ऐतिहासिक पदक दिलाएका अजितलाई गत चैत १२ गते पाँचतारे होटलमा कार्यक्रम आयोजना गरी नेपाल एथलेटिक्स संघले एक थान मोटरसाइकल र मासिक ६० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्‍यो। यो घोषणा भएको चार महिना बितिसक्दा पनि अजितले न मोटरसाइकल पाउन सकेका छन् न त मासिक रूपमा दिने भनिएको रकम हात पारेका छन्।

सुदूरपश्चिम प्रदेशमा २०७५ चैत ३ गते सम्पन्न मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिताको विजेता खेलाडीले पनि पुरस्कारबापतको रकम पाउन ठुलै सकस भोग्नुपर्‍यो। त्यहाँको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश पहिलो र प्रदेश नम्बर १ दोस्रो भएका थिए।

त्यतिबेला खेलाडीलाई पुरस्कार रकम बराबरको ‘डमी चेक’ हस्तान्तर गरिए पनि वास्तविक पुरस्कार दिइएन।

खेलाडीले लामो समय पुरस्कार नपाएको गुनासो गरे। त्यो विषय विभिन्न सञ्चारमाध्यममा आयो। अन्ततः ‘डमी चेक’ पाएको चार महिनापछि मात्र विजेता खेलाडीको हातमा पुरस्कार रकम पर्‍यो। पुरस्कार रकम वितरण कार्यक्रममा पदक विजेता कतिपय खेलाडी उपस्थित भएनन्।

गत वर्ष काठमाडौंमा एक भारतीयले ‘आधिआवादी भलिबल लिग’ आयोजना गरे। प्रतियोगिता उद्घाटन तामझामसाथ गरिएको थियो। प्रतियोगिताका लागि चितवन टाइग्रेसले तीन अमेरिकी खेलाडी झिकाएको थियो। तर, प्रतियोगिताको फाइनलमा सबैलाई ‘डमी चेक’ थमाएर ती भारतीय बेपत्ता भए। प्रतियोगितामा नेपाल भलिबल संघ पनि संलग्न भएकाले लामो समयको आरोप प्रत्यारोपछि विजेता खेलाडीलाई संघले नै पुरस्कार दिनुपरेको थियो।

यसैगरी यस वर्षको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता गत जेठमा आयोजना भयो। राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपालयको व्यवस्थापनमा भएको प्रतियोगिताका विजेताले तत्काल पुरस्कार पाउन सकेनन्। प्रतियोगिताको करिब एक करोड ८० लाख बजेटमध्ये परिषद्ले ८० लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी रकम व्यवस्थापकले खोज्नुपर्ने सहमति भएको थियो। तर, प्रतियोगिताको व्यवस्थापकको जिम्मेवारी लिएको नेपालयले आफ्नो भागको रकम उठाउन नसकेपछि विजेतालाई पुरस्कार दिन ढिलाइ गरेको थियो।

यसै वर्ष आयोजना भएको मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको दाउफिन्स फुटबल क्लबले जित्यो। गत सिजनमा आफूले जितेका अन्य गोल्डकपको पुरस्कार रकम पाए पनि मनकामना केबलकार पोखरा कपको पुरस्कार भने अहिलेसम्म पाउन नसकेको खेलाडीले गुनासो गर्दै आएका छन्।

यसरी पछिल्लो समय नेपाली खेलकुदमा प्रतियोगिता सम्पन्न हुनासाथ ‘डमी चेक’ थमाउने र लामो समयसम्म विजेता टोली र खेलाडीलाई पुरस्कार नदिने प्रचलन बढ्न थालेको छ। आफूले जितेको पुरस्कार समयमै पाउन नसक्दा खेलाडीमा निराशा छाउँछ। यस्तो विषयमा न खेलाडी खुलेर बोल्न सक्छन् न त सम्बन्धित निकायले यसतर्फ ध्यान पुर्‍याएको पाइन्छ। यस्तो कार्यको विरोध गर्दा भविष्यमा आफ्नो खेलजीवन संकटमा पर्न सक्ने डर बोकेर बस्न बाध्य हुन्छन् खेलाडी।

मुख्यमन्त्री कपमा प्रदेश १ को फुटबल टोलीको व्यवस्थापन सम्हालेका सुजय गौतम लामो समयसम्म पुरस्कारको रकम पाउन नसक्दा खेलाडीमा निराशा छाउने बताउँछन्। ‘खेलाडीको हौसला बढाउन पनि पुरस्कार राशि तत्काल दिनुपर्ने हो’, उनी भन्छन्। मुलुकका लागि ऐतिहासिक पदक जितेका अजितले चार महिना बितिसक्दासम्म पनि आफूले घोषित पुरस्कार पाउन नसकेको बताए। ‘चार महिना बितिसक्दा पनि पूर्वघोषित पुरस्कार पाउन सकेको छैन’, अजितले भने, ‘पुरस्कार घोषणापछि न संघका पदाधिकारीले सम्पर्क गरेका छन् न त कर्पोरेट हाउसले नै।’

नेपाल एथलेटिक्स संघका सदस्य तेजेन्द्र थापा अध्यक्षले नै सबै कुरा हेरिरहेकाले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताउँछन्। ‘अजितलाई पुरस्कार दिने प्रक्रिया कहाँ पुगेको छ भन्ने कुरा मलाई थाहा भएन’, उनले भने, ‘सबै कुरा अध्यक्षले नै हेरिराख्नुभएकाले उहाँ आएपछि मात्र थाहा हुन्छ।’ उनले अध्यक्ष राजीवविक्रम शाह अहिले थाइल्यान्डमा रहेकाले आएलगत्तै संघको बैठक बसेर निर्णय गरिने बताए।

सम्मान कार्यक्रममा अजितलाई मोटरसाइकल र उनका प्रशिक्षक धनीराम चौधरीलाई एक लाख रुपैयाँ दिने घोषणा गरिएको थियो। प्रशिक्षक चौधरीले पनि अहिलेसम्म आफूले कुनै पुरस्कार नपाएको बताए। ‘मैले पुरस्कार दिने घोषणा भएको मिडियाबाट मात्रै थाहा पाएको हुँ। अहिलेसम्म पुरस्कार पाइसकेको छैन’, वरिष्ठ प्रशिक्षक चौधरीले भने, ‘संघले पनि पूर्णता नपाइसकेको र अध्यक्ष विदेश भ्रमणमा व्यस्त रहेकाले पनि नपाएको हुन सक्छ।’ उनले आगामी बैठकमा संघलाई पनि पूर्णता दिने र घोषणा गरिएको पुरस्कार पनि प्रदान गरिने जानकारी आफूले पाएको बताए।

अजितलाई एक वर्षका लागि मासिक १२ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले संघका पदाधिकारी र खेलाडी बैंकको सम्पर्कमा नआएकाले पूर्वघोषित पुरस्कार दिन नपाएको बताए। ‘अहिलेसम्म न संघका पदाधिकारी आउनुभएको छ न त खेलाडी नै’, शाहले भने, ‘हामीले उहाँहरूलाई खोज्दै जाने कुरा भएन। उहाँहरू सम्पर्कमा आएपछि नबिल बैंकले प्रतिबद्धता गरेअनुसारको पुरस्कार दिन हामी तयार छौं।’

हङकङ जानुअघि अजित र प्रशिक्षक चौधरीलाई बिदाइ गर्ने राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलाले पूर्वघोषणा गरिएको पुरस्कार दिलाउन पहल गर्न आफू तयार रहेको बताइन्। ‘संघले विभिन्न कर्पोरेट हाउससँग सहकार्य गरेर पुरस्कार घोषणा गरेको हो। कर्पोरेट हाउसले प्रतिबद्धता जनाएका रकम दिन्छन्। यसका लागि पहल गर्न म तयार छु’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.