कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोट
सुर्खेत : नेपाल भ्रमण वर्ष सन् २०२० का लागि कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन्। छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्ये २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य छ।
कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थललाई अन्तराष्ट्रिय महत्वको पर्यटकीय गन्तव्यका रुपमा छनौट गरिएको बताए।'कर्णालीका १० वटै जिल्लाका पर्यटकीय स्थानको सूचीकरण गरिएको छ, उनले भने, 'हरेक पर्यटकीय स्थललाई व्यवस्थीत बनाएर पर्यटकको आकर्षण बढाइनेछ।'
४० पर्यटकीय गन्तव्य
नेपाल भ्रमण वर्ष २०२० का लागि छनोट भएका कर्णालीका ४० पर्यटकीय गन्तव्यमा हुम्लाको लिमी उपत्यका र खार्पुनाथ सिमिकोट, मुगुको राराताल र छाँयानाथ, जुम्लाको चन्दननाथ, गुठिचौर पातारासी र सिँजा उपत्यका, कालिकोटको पचालझरना, चुलीमालिका, कोटदरबार पिली र मान्म बजारलाई पर्यटकीय स्थलको सूचीमा छनौट गरिएको हो।
त्यस्तै, दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, सुर्खैतको काँक्रेविहार, बुलबुले ताल र पञ्चपुरी सर्किट, सल्यानको कुपिण्डे दह र छायाँनाथ तथा खैरावाङ मन्दिर, रुकुम पश्चिमको सिस्ने हिमाल र स्यार्पुताल मुसीकोट दरबार र डिग्रेमाई मन्दिर, जाजरकोटको भेरी मन्दिर, डोल्पाको माथिल्लो डोल्पा, से फोक्सुण्डो ताल र त्रिपुरासुन्दरी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा राखिएका छन्।
पर्यटक आवागमन बढाउन जहाँज उडान माग
कर्णालीमा पर्यटक आवागमन बढाउन सुर्खेतबाट सरकारी जहाज नियमित उडानको व्यवस्था गर्न माग गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन गठित कर्णाली प्रादेशिक पर्यटन प्रबद्र्धन समितिको बैठकले सरकारको लक्ष्य हाँसिल गर्न सुर्खेतबाट कर्णालीका प्रर्यटकीय स्थलतर्फ आउजाउ गर्न सरकारी जहाज नियमित उडानका लागि व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको हो।
नियमित जहाँज उठानका लागि नेपाल सरकारसँग माग गरिएको समितिका सदस्य सचिव समेत रहेका कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले बताए।
कर्णाली प्रादेशिक पर्यटन प्रबद्र्धन समितिले राजु कार्कीको संयोजकत्वमा दिलबहादुर महत, देवराज जैसी, देवीकृष्ण रोकाया सदस्य र धिरेन्द्रकुकार प्रधान सदस्य सचिव रहेको पाँच सदस्यीय सचिवालय समेत गठन गरेको छ।
नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार तथा कर्णालीको पर्यटन प्रबद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याती प्राप्त पाँच जनालाई पर्यटन द्रूत चयन गर्ने र भदौ २५ गते डोल्पामा हुने महोत्सव सफल पार्ने समितिले निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !