यस्ता छन् जंक फुडका असर

यस्ता छन् जंक फुडका असर

विमलकुमार दाहाल । मानव जीवनलाई स्वस्थ र सक्रिय राख्न आवश्यक पर्ने विभिन्न पौष्टिक तत्त्व रहेका खाने तथा पिउने पदार्थ तथा तिनको समि श्रणलाई खाद्य पदार्थ भनिन्छ। विभिन्न शारीरिक क्रियाकलाप सञ्चालन गर्न, शारीरिक वृद्धि विकास गर्न, शक्ति प्रदान गर्न, जीवन प्रणाली सञ्चालन गर्न र रोग प्रतिरोध क्षमता विकास गर्न खाद्य पदार्थले सहयोग गर्छ।

खाद्य पदार्थमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी गरी ६ प्रकारका पोषक तत्त्वहरू रहेका हुन्छन्। यी पोषक तत्त्वहरू हाम्रो दैनिक भोजनमा समावेश भएको हुनुपर्छ। एउटा खानामा यी सबै पोषक तत्त्वहरू सघन रूपमा हुँदैनन्। त्यसैले प्रत्येक छाकमा थरीथरीका खाद्य पदार्थ खानुपर्छ।

खाद्य पिरामिड

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालीका लागि असल खानपानसम्बन्धी पिरामिडको डिजाइन गरेको छ। जसरी पिरामिडको तल्लो भाग सबैभन्दा ठूलो हुन्छ, त्यसैगरी हामीले खाने प्लेटमा पनि अन्न र कन्दमूलको सबैभन्दा बढी भाग हुनुपर्छ। त्यसैगरी पिरामिडको दोस्रो तल्लामा दाल र गेडागुडी, तेस्रो तल्लामा हरिया सागपात तथा फलफूल, चौथो तल्लामा माछा मासु, दूध, दही र अन्डा राखिएकोले तल्लाअनुसार यी खाद्य पदार्थको मात्रा क्रमशः घट्दो हुनुपर्छ। पिरामिडको सबैभन्दा माथिल्लो भाग सबैभन्दा सानो भएकोले त्यसमा राखिएका गुलियो, नुनिलो र चिल्लो पदार्थ हाम्रो प्लेटमा सबैभन्दा कम मात्रामा हुनु पर्छ।

जंक फुड

जंकको नेपाली शाब्दिक अर्थ पत्रु वा काम नलाग्ने वस्तु हुन्छ। खाद्य पदार्थको हकमा हाम्रो शारीरिक आवश्यकताअनुसार पोषक तत्त्व नभएको वा असन्तुलित रूपमा पोषक तत्त्व भएको खाद्य पदार्थलाई जंक फुड सम्झनु पर्छ। सामान्यत, गुलियो, नुनिलो र चिल्लो पदार्थको मात्रा बढी भएका खाद्य पदार्थलाई जंक फुड भनिन्छ।

कुनै जंक फुडमा बढी मरमसलासमेत राखिएको हुन्छ। केक, क्र्याकर्स, क्यान्डी, मिठाई, आलु चिप्स, कार्बोनेटेड पेय आदिलाई जंक फुडको उदाहरणको रूपमा लिन सकिन्छ। बालबालिकाले यस्ता खाद्य पदार्थ एक पटक खाए पछि पटक पटक खाने इच्छा गर्छन्। बालबालिकामाझ यस्ता जंक फुड लोकप्रिय हुनुको कारण पकाउन नपर्ने, खाँदा अत्यन्त स्वादिलो हुने, साथै बोकेर लैजान सकिने, विज्ञापन र साथीहरूको नक्कल गर्ने बानीको कारणले गर्दा हो।

हाम्रो जिब्रोमा स्वाद थाहा पाउने स्थानहरू (टेस्ट बड्स) रहेका हुन्छन्। यसले खाद्य पदार्थमा हुने आधारभूत पाँच (गुलियो, नुनिलो, अमिलो, तीतो र युमामी) स्वाद अनुभव गर्छन्। जंक फुड खाएपछि त्यसमा रहेका सक्रिय तत्त्वहरूले जिब्रोमा रहेका टेस्ट बड्सलाई लठ्याउने वा निष्क्रिय बनाउने गर्छन्। यसले गर्दा अरु मुख्य खानाप्रतिको रुचिमा कमी हुन्छ। बालबालिकाले घरमा तयारी गरेका पोषणयुक्त ताजा खानामा रुचि नदिने तर पोषणका दृष्टिकोणले असन्तुलित जंक फुड मात्र अधिक उपभोग गरेमा निम्न नकारात्मक असरहरू देखा पर्न सक्छन्।

-  आवश्यक पौष्टिक तत्त्वहरूको कमी हुने

-   तौल बढ्ने र मोटोपन हुने

-   रगतमा सोडियमको मात्रा बढ्ने

-    मुटुसम्बन्धी रोग लाग्ने

-    पेटसम्बन्धी रोगले सताउने

-   पेप्टिक अल्सर हुने

-   कलेजो खराब हुने

-   दाँतमा कीरा लाग्ने

-   मधुमेह हुने

-   निराशापन बढ्ने

सहरीकरण तथा औद्योगीकरणको कारणले जंक फुड सर्वत्र उपलब्ध छन्। जंक फुडको अधिक उपभोगबाट सिर्जना हुने नकारात्मक असरबाट जोगाउन अभिभावकले विशेष ध्यान दिन जरुरी छ।

विशेषगरी बालबालिकाको पहुँच हुने स्थानमा स्वस्थकर खाना राख्ने गर्नुपर्छ। पुरस्कार वा कोसेलीको रूपमा जंक फुड नलैजाने, ठूलो मात्रामा जंक फुड घरमा नल्याउने र जंक फुडको उपभोगलाई क्रमशः निरुत्साहित गर्दै जाने गर्नुपर्छ। यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जंक फुडको उपभोग सम्बन्धमा अभिभावक स्वयम् उदाहरणीय बन्नुपर्छ। यसो गर्न सके बालबालिकाहरूलाई जंक फुडको अधिक उपभोगबाट हुन सक्ने नकारात्मक प्रभावबाट जोगाउन सकिन्छ।

(दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.