सद्गुरु किन आवश्यक ?

सद्गुरु किन आवश्यक ?

सन्त कविर भन्नुहुन्छ– बरू मेरो जीवनमा पापीको संगत आइलागोस्, तर गुरु नभएको निगुरासँग संगत गर्न नपरोस्। यसको अर्थ हो– पापीले त सद्गुरुको संगतले आफ्नो भूल सुधार्ने अवसर प्राप्त गर्छ। गुरु नै नभएको निगुराले भड्किएको मार्ग र कर्मलाई कसरी सम्हाल्छ ? प्रत्येकको जीवनमा गुरु आवश्यक छ भन्ने सन्देश सन्त कविरको छ। बजारमा धेरै गुरुको हल्ला र विज्ञापन चल्छ, तर सद्गुरु को हो छुट्ट्याउन सक्नुपर्छ। सद्गुरु त्यो हो, जसको नजिक मात्र हुँदा पनि सकारात्मक ऊर्जाको अनुभूति हुन्छ र शान्ति र आनन्द एक मात्र सत्य हो, जुन धर्म र सम्प्रदायले उल्लेख गरे पनि सत्यता एक मात्र छ, भित्रको बोध र जागृति नै जीवनलाई जान्ने माध्यम हो भनेर बताउँछ। एउटा सद्गुरुले कुनै धर्म, सम्प्रदाय, संस्कार र प्रचलनको विरोध गर्दैन, बरू बहकिएर जीवनलाई सही मार्गनिर्देश गर्न नसकेकालाई सही मार्ग देखाउने काम गर्छ।

परमगुरु ओशोले त आफूलाई खुलेर म भगवान् हुँ भनेर उल्लेख गरे र भगवान् रजनिशको नामबाट समेत आफूलाई चिनाए। यसको सन्देश हो– उनमा त्यो हिम्मत थियो, त्यो गुण थियो र भित्रबाट निखारिएर सन्तत्वको शिखरमा पुगेका थिए। उनको यो सन्देश आफूलाई भगवान् भनाउने मात्र थिएन, प्रत्येक व्यक्तिभित्र भगवान् हुने गुण छिपेको छ। त्यसका लागि ध्यानको माध्यमबाट साधना गरेर, आफूलाई भित्रबाट खाली गरेर अस्तित्वको परम अमृतरसमय अवस्थामा पुर्‍याउन सक्नुपर्छ। ओशो भन्छन्– जसले बाहिरको सान्त्वना र प्रेमले भुलाउन खोज्छ, ऊ गुरु हुन सक्दैन। सद्गुरुले तिमीलाई तिम्रो अनुभवले, ध्यान साधनाले निखारिएर भित्रको बोधको गहिराइमा लैजान मद्दत गर्छ। बाहिर प्रेम तर कारणवशको सम्झौतायोग्य प्रेम होइन। अकारण प्रेम र भित्रको ध्यानलाई परिचित गराउन मद्दत गर्छ। जागृति, शान्ति, मैत्रीमा रहने कला जसले सिकाउँछ, जसले बोधको ज्ञान दिन सक्छ, ऊ नै सद्गुरु हो। ओशो थप प्रकाश पार्नुहुन्छ– कृष्ण, शिव, बुद्ध, महावीर, जिसस, मीरा, गार्गी आदि जति पनि सन्तहरू भए, उनीहरूले केवल ध्यानको माध्यमबाट भित्रको अमृतरसलाई जान्ने कला सिकाए। बाहिरको जोस मात्र होइन, भित्रको होसलाई ख्याल बनाइराख्ने कला बताए। विस्मृतिबाट मुक्त भएर हरपल परम स्मृतिमा, सुमिरनमा रहने कला सिकाए। जो व्यक्ति आफ्ना हरेक क्रियाकलापमा होसपूर्ण रहन्छ, सुमिरन बनाइरहन्छ। ऊ कदापि विस्मृत हुन सक्दैन। ओशो थप प्रकाश पार्छन्– जसले प्रीति, प्रफुल्लता, स्वीकार भाव र अहोभावपूर्ण जीवन जिउन सिकाउँछ, ऊ नै सद्गुरु कहलाउँछ।

एउटा सद्गुरुले आफ्ना शिष्यलाई गुरु गम्भीरतामा राख्न चाहँदैन। सद्गुरुले त लीलाभाव, उमंग र खुसीपूर्ण जीवन जिउने कला बताउँछ। एउटा शिष्यले आफ्नो जीवनशैली कसरी अभ्यासमा ल्याउने र कर्मयोगमा रमाउँदै आनन्दित जीवन जिउने त्यो कला सद्गुरुले सिकाउँछ। सद्गुरुले सीधै परमात्माको कुरा गर्दैन, व्यक्तिको जीवनशैली सकारात्मक भयो र ध्यान, योग, कर्म, प्रतिकूलताप्रतिको स्वीकार, सेवा भाव, मंगलभाव कायम राख्दै दैनिकी चलाउन, जान्यो भने परमात्माको, परम सत्यताको बोध आफैं हुन्छ भन्ने तथ्यपूर्ण ज्ञानको अभ्यास गराउँछ। सम्यक् आहार, सम्यक् निद्रा, सत्संग र प्रफुल्लतालाई जीवनका आयाम बनाउने कला बताउँछ। यो नै जागृतिपूर्ण जीवन जिउने आधार र जीवनलाई शान्ति एवं आनन्दित राख्ने उपाय हुन् भन्ने बोध गराउँछ। बाहिरका अहंकाररूपी मान्यता मात्र जीवनको लक्ष्य होइन, आनन्दको मार्ग होइन भन्ने ज्ञान गुरुको अनुभूतिबाट प्राप्त हुने हुँदा हरेक व्यक्तिको जीवनमा सद्गुरुको आवश्यकता पर्छ।

काम, दाम र सम्पन्नता अनि अहंकारले भड्किरहेको बेहोसी अवस्थाबाट हामीलाई जगाउन सद्गुरुको आवश्यकता पर्छ।

ओशो अरू प्रस्ट पार्छन्– मेरो कुरालाई मानेर होइन, तिमीले प्रयोग गरेर, जानेर हेर। मेरा शब्दलाई समातेर नबस, त्यसलाई जीवनमा अभ्यास गर र सही लागे अपनाऊ। आफ्ना ६ सय किताब र हजारौं प्रवचनको माध्यमबाट जीवन रूपान्तरणका कला बताएकै कारण धेरैको हृदयमा समाहित हुन सकेका हुन् ओशो। जीवनलाई हेर्ने वैज्ञानिक आधार, व्यावहारिक र भावनात्मक एवं मनोवैज्ञानिक रूपले प्रयोगात्मक अभ्यासद्वारा आफ्ना शिष्यलाई जागृत जीवन जिउने सूत्र प्रदान गरेकै कारण सम्झिन, श्रद्धा गर्न र अपनाउनलायक बने ओशो। ओशो, कविर, कृष्ण, शिव, बुद्ध, महावीर, जिसस सबैसबैका बारेमा बोलेर, उनीहरूका सूत्रलाई जीवनमा प्रयोग गर्ने तरिका बताएर, सारा अध्यात्मलाई एउटा क्याप्सुलको रूपमा प्रतिपादन गरी मानव मात्रको कल्याणमा आफ्नो जीवन सुम्पेकै कारण सद्गुरुका रूपमा सबैले अनुसरण गर्न योग्य भएका हुन् ओशो।

ओशोले कहिल्यै एउटा विधि र मार्गमा सीमित गराएनन् आफ्ना शिष्यलाई। कैयन् ध्यान विधि, नृत्य, गायन र मौनका प्रयोग गराएर जुन विधि आफूलाई उपयुक्त लाग्छ, जुन सूत्रलाई हृदयले अवलम्बन गर्छ, त्यसलाई रोज्नु र आफ्नो जीवनमा प्रयोगमा ल्याउनु भनी सहज बनाइदिएका छन्। मान्नुसँग कुनै तात्विक अर्थ छैन। तिमीले जान्नुसँग सम्बन्ध छ भन्दै प्रेरणादायी, सहज र सरल ध्यान एवं प्रज्ञा सूत्रहरूमार्फत भड्किरहेको जीवनलाई उत्सवमय जिउने कला सिकाए ओशोले। त्यसैले त उनका अनुयायीहरूले अध्यात्मको शिखर भनेर मान्ने गर्छन्। जीवनका कुनै आयामलाई नछुटाई, कुनै सन्त पुरुषका वाणी र सूत्राधारलाई नछुटाई, अध्यात्मको अर्थ र महत्त्वलाई एक ठाउँमा गाँस्ने काम ओशोबाटै भयो। मानिसको जीवनमा दुःख आउने, असहजता र सिकायत मात्र व्यक्त गर्ने प्रवृत्ति अपेक्षा र आफ्नो स्वभावबाट पर हटेका कारण हो। त्यसैले आफ्नो स्वभावमा बाँचेर, आफूसँग भएको चिजमा खुसी मान्ने प्रयोगात्मक कलासमेत ओशोले बताए। कुनै पनि काम या निर्णयलाई विचार गरेर होइन, दर्शनीय रूपमा, साक्षीभावले हेरेर त्यसलाई अनुभूतिमा ल्याउने कला पनि ओशोले बताएका छन्।

समग्रमा भन्नुपर्दा आफ्नो जीवन ऊर्जाको पहिचान गरेर प्रफुल्लता, उमंगता, सक्रियता, सहजता र सरल तरिकाले जीवन बाँच्ने मार्गनिर्देशन सद्गुरुबाट मिल्ने हुँदा जीवनमा सद्गुरुको महत्त्व रहेको छ। काम, दाम र सम्पन्नता अनि अहंकारले भड्किरहेको बेहोसी अवस्थाबाट हामीलाई जगाउन सद्गुरुको आवश्यकता पर्छ। जीवनको उपलब्धि भौतिक सम्पन्नता मात्र होइन, जीवनमा शान्ति, प्रीति, भक्ति, प्रेम र आनन्द पनि आवश्यक छ भन्ने सूत्र र सत्संग प्राप्त गर्नका लागि पनि सद्गुरुको आवश्यकता छ। जति प्रयास गरे पनि अपूर्णता महसुस हुने जीवनमा प्रयास होइन, अस्तित्वले बिनामूल्य दिएका प्रसादलाई पहिचान गर्न पनि सद्गुरुको मार्गनिर्देशन आवश्यक छ। सद्गुरु एउटा सहारा हो, जसले सधैं आफ्ना शिष्यको निःस्वार्थ भलो चाहन्छ। त्यसैले सही सद्गुरु प्रत्येक व्यक्तिको जीवनमा आवश्यक हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.