हवाई यातायातले कहिले भर्छ उडान ?

हवाई यातायातले कहिले भर्छ उडान ?

नेपाल विश्वमै प्राकृतिक मनोरम दृश्य तथा विविध संस्कृतिले सिँगारिएको एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो। यस गन्तव्यसम्म विश्वको सहज पहुँचका लागि कनेक्टिभिटीको आवश्यकता पर्छ। तर यस्ता यातायात तथा सम्पर्क सञ्जाल निर्माणमा नेपाल कहिल्यै गम्भीर बनेको छैन। पर्यटन बजार नेपालको गतिलो आमदानीको स्रोत भएको ज्ञात भइसक्दा पनि नेपालले हवाई उद्योगको विस्तार गर्न सकेको छैन। करिब ६५ वर्षदेखि एउटै अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको साख जोगाएको छ। त्यसैगरी निजी वायु सेवा कम्पनीले पनि तेस्रो देशतर्फको गन्तव्यमा उडान भर्न सकेको छैन भने राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम पनि आन्तरिक उल्झनसँगै वैदेशिक प्रतिबन्धका कारण पखेटा फिँजाउन सकेको छैन।

युरोपियन युनियन (ईयू) ले ईयूका २८ वटा देशमा नेपाली वायु सेवालाई उड्न अनुमति नदिएको पाँच वर्ष नाघिसकेको छ। सन् २०१३ डिसम्बर ५ देखि निरन्तर ईयूले प्रतिबन्ध लगाउँदै आएको हो। वायु सुरक्षा जाँचबुझमा देखिएका कमीकमजोरीका कारण नेपाली वायु सेवालाई प्रतिबन्ध लगाएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गका सबै वायु सेवामा ईयूले प्रतिबन्ध लगाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क, हवाई परिवहन सेवाको सुरक्षित तथा नियमित सञ्चालन विषयमा नेपाल लगातार असफल भइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै आएको छ। उता अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईसीएओ) ले सन् २०१३ जुलाईदेखि नेपाललाई कालो सूचीमा राख्दै आएकोमा सन् २०१७ बाट हटाएको थियो। आईसीएओबाट सन् २००९ मा गरिएको नेपालको उड्डयन क्षेत्रको जाँचमा नै नेपालको सुरक्षा स्तरमात्रै होइन, उड्डयन प्राधिकरण पनि अक्षम रहेको व्यक्त भएको थियो।

संयुक्त राष्ट्रसंघको एक विशेष संस्थाको रूपमा सन् १९४४ मा आईसीएओको स्थापना गरिएको थियो, जसले विश्वभरको अन्तर्राष्ट्रिय नागरिक उड्डयनको सुरक्षा तथा व्यवस्थित विकासको प्रवद्र्धन गर्दै आएको छ। आईसीएओबाट हरियो झण्डा पाएदेखि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेवानि) तथा निजी वायु सेवाहरू ईयूबाहेक विदेशी भूमिमा आफ्नो सेवा विस्तार गर्न प्रयासरत छन्।

यसैगरी नेपालले चीनमा पनि उडानको प्रयास गरिरहेको छ। यता पनि चिनियाँ उड्डयन प्रशासन सीएएसीको सुरक्षा जाँचबुझ प्रक्रियाका साथै विमानस्थलमा ‘स्लट’ ठाउँको अभावका कारण उडान भर्न सकेको छैन। तर गत जुलाई २६ मा बेइजिङमा बसेको द्विपक्षीय बैठकले नेपाली वायु सेवालाई चाँडै क्वानचौ (ग्वान्जाओ) र बेइजिङ (पैचिङ) को उडान दिने निश्चित भइसकेको छ। दुईपक्षीय वार्तापछि थप हवाई उडान सम्झौता भएको थियो। सम्झौताअनुसार, नेपालले चीनका सातवटा उडान गन्तव्यबाट १५ वटाको अनुमति पाएको छ। साथै सातामा एकअर्काको देशमा ९८ वटा उडान पाइने भएको छ। सन् २०१४ अघि सातामा मात्र १४ वटा उडानको सम्झौता थियो र सन् २०१४ मा ५६ हवाई उडानको सम्झौता बढाएर वर्ष दिनभित्र ७० पुर्‍याइएको थियो। नेपाल-चीनबीच एकअर्काको देशमा सातामा ९८ वटा उडानको अनुमति पाए पनि नेपालले कहिले उडान भर्ने हो, त्यो भविष्यको गर्भमा छ। साथै चीन र नेपालबीच पहिलो हवाई सेवा सम्झौता भने सन् २००३ मा भएको थियो।

हालै सम्पन्न वार्ताबाट चिनियाँ पक्षले नेपालमा थप उडान गर्न चाहेको प्रस्ट छ। साथै अरू चिनियाँ वायु सेवा पनि नेपाल उड्न तत्पर छन्। हाल चीनबाट पाँचवटा वायु सेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन्। यसबाट पनि नेपाल एउटा लाभकारी गन्तव्य भएको पुष्टि हुन्छ। चीनबाट हाल वार्षिक डेढ÷दुई लाख पर्यटक नेपाल भित्रिरहेका छन्। यसर्थ नेपाली वायु सेवाले अनुमति पाएका १५ गन्तव्यहरूमध्येबाट छनोट गरी लाभ उठाउन सक्नु पर्छ। साङहाई हुँदै जापानको ओसाकासम्मको उडान भर्दै आएको नेवानिले घाटाका कारण सन् २००७ मा सेवा बन्द गर्नुपरेको थियो। सायद, त्यस्ता अनुभव यसपटक काम लाग्नेछ। साथै चीनको खुन्मिङ सहर दक्षिण एसियाका साथै आसियान मुलुकका लागिसमेत एक हबको रूपमा चीनले विकास गर्दै लगेको छ। अमेरिका, युरोप, जापानबाट यसै ठाउँलाई ट्रान्जिट बनाएर आमनेपाली आवतजावत गर्दै आएका छन्।

नेपाल र चीनको हवाई क्षेत्रको सुरुआत एउटै समयमा भएको हो तर चीनले धेर उँचो उडान भरिसकेको छ, नेपाल आरम्भ विन्दुबाट डेग चलेको छैन।

यस खुन्मिङबाट चिनियाँ पक्षले थप उडानको माग गरेको सम्पन्न वार्तामा सहभागी बेइजिङस्थित नेपाली नियोग उपप्रमुख सुशीलकुमार लम्सालको भनाइ छ। ‘चीनले नेपालतर्फको उडान वृद्धि गर्न चाहेका छन् नै, त्यसमाथि खुन्मिङबाट भने अझै बढाउन चाहेका छन्।’ यस आधारमा खुन्मिङ रोज्नु नेपाललाई लाभदायी देखिन्छ। त्यसैगरी चीनको ल्हासा सहरसम्म सीधा अन्तर्राष्ट्रिय उडान नेपालको काठमाडौंबाट मात्र हुने गरेको छ, यो गन्तव्य पनि राम्रो छनोट हुन सक्नेछ।

विश्वमा सन् १९०३ देखि सुरु भएको हवाई यातायातको इतिहासमा सन् १९४८ मा बेलायती नागिरकले काठमाडौंको गौचरणमा सफलतापूर्वक विमान अवतरण गरेको घटनालाई नेपालको हवाई यातायातको सुरुआत मानिन्छ। त्यसपछि सन् १९५४ मा शाही नेपाल वायु सेवा निगमको स्थापना (हाल नेपाल वायु सेवा निगम), सन् १९५५ मा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना, सन् १९५७ मा हवाई विभागको स्थापना, सन् १९६० मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईसीएओको सदस्यता र सन् १९९८ डिसेम्बरमा नेपाल नागरिक उड्डयन ऐन १९९६ अनुसार तत्कालीन हवाई विभाग खारेज गरी नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना गरेको थियो।

जसरी शदीयौंदेखि कृषिमा आधारित नेपालीले कृषि क्षेत्रको विकासमा आधुनिकता भित्याउन सकेको छैन, त्यसैगरी गतिलो आमदानीको स्रोतका रूपमा रहेको नेपालको पर्यटन बजारलाई पनि नेपालले पहिलो हवाई अवतरणदेखि आजको दिनसम्म पुग्दा ७० वर्ष त्यसै खेर फालेको छ। न विकट दुर्गम क्षेत्रमा आन्तरिक हवाई यातायातको विकास गर्‍यो न त विदेशी पर्यटक भित्यायो।

जटिल भूअवस्थाका कारण नेपालमा मोटर बाटोको अपेक्षित विकास हुन सकेको छैन। यस्तो अवस्थामा हवाई यातायात एउटा राम्रो विकल्प हो, तर यसको विकासमा ध्यान गएको खासै देखिँदैन। छिटो र आरामपूर्वक गन्तव्यमा पुग्न सकिने यस हवाई यातायातबाट पनि आमनेपालीले लाभ लिन पाएका छैनन्। त्यसमाथि आन्तरिक वायु सेवाले उठाउने चर्को शुल्क र मौसम प्रतिकूल भइरहँदा उडान शतप्रतिशत सुरक्षित हुन सकेको छैन। तापनि पछिल्लो समयमा नेपाली यात्रुको रोजाइ हवाई यातायात बन्दै गएको छ। पछिल्लो समय वैदेशिक रोजगार, अध्ययनका साथै विदेश भ्रमण र पारिवारिक मिलनका कारणले पनि विदेश यात्रा गर्ने नेपाली हवाई यात्रुको संख्या दिनानुदिन बढ्दै छ। एयरबसले सन् २०१४ मा गरेको एक अध्ययनअनुसार, सन् २०२४ सम्म नेपाली हवाई क्षेत्रमा ५० भन्दा बढी नयाँ यात्रुवाहक विमानको आवश्यकता पर्नेछ।

दस लाख विदेशी पर्यटक भित्याउने लक्ष्य बोकेको भिजिट नेपाल २०२० आरम्भ हुन अब केही महिना मात्रै बाँकी छ। विश्वमा असल सन्देश फैलाउन हाललाई उपलब्ध स्रोतसाधनबाट युद्धस्तरमा लाग्नुबाहेक अरू उपाय छैन। साथै ईयूको प्रतिबन्ध हटाउनु पहिलो आवश्यकता हो। अब पनि के उँचो उडानको खाकाका साथै कार्ययोजना अघि नसार्ने ? के सधैं उखान-टुक्का मात्रै भन्ने हो कि छिमेकीबाट केही सिको गर्ने ?

नेपाल र चीनको हवाई क्षेत्रको सुरुआत एउटै समयमा भएको हो तर चीनले धेर उँचो उडान भरिसकेको छ, नेपाल आरम्भ विन्दुबाट डेग चलेको छैन। नेपाल ओहोरदोहोर गरिरहने जोकोही चिनियाँले भन्ने गर्छन्- नेपालीहरू राजनीतिको गफमा मात्र भुलेका हुन्छन्। सबै राजनीति गर्न खप्पिस छन्। देश बनाउने सोच छैन। के यी चिनियाँहरूले नेपाल बुझेका हुन् त ?

यसै सेप्टम्बरको अन्त्यबाट बेइजिङको थ्येनआनमनबाट ४६ किलोमिटर दक्षिणमा पर्ने नयाँ तासिङ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै छ। सन् २०१४ मा निर्माण सुरु गरेको यस विमानस्थलको निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न भएको हो। नेपाली वायु सेवालाई पनि यसै नयाँ अत्याधुनिक विमानस्थलमा चीनले स्लट उपलब्ध गराउने भएको हो। यो विमानस्थल पाँच वर्षमा तयार भई सञ्चालनमा आउँदै छ भने नेपालको भैरहवा विमानस्थल सन् २०१७ मा तयार हुने भनिएको आजसम्म निर्माणाधीन अवस्थामै छ।

भैरहवा विमानस्थल मात्रै होइन, पोखरा विमानस्थलको पनि त्यही हविगत हो। हालै निजगढको प्रसंग फेरि ब्युँतेको छ। सर्वप्रिय मन्त्री रवीन्द्र अधिकारीको असामयिक निधनपछि उनले सम्हाल्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयसँगै उनको योजना र जनताको सपना टुहुरो भएको थियो। अहिले अर्का आशालाग्दा युवा नेता योगेश भट्टराईले त्यो कमान सम्हालेका छन्। उनले नेवानिसँगै नेपाली हवाई यातायातको मुहार फेर्ने प्रतिबद्धता देखाएका छन्। यससँगै नेपाली जनताको मरिसकेको आशा फेरि ब्युँतेको छ। आशा गरौं- यो आशा निराशा नबनोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.