‘इलामे’को संसार गाईगोठ

‘इलामे’को संसार गाईगोठ

इलाम : यहाँ आउँदा बस्ती थिएन। छोराछोरी यतै जन्मिए। जगतबहादुर राई उर्फ इलामे कान्छाले सुनाए, ‘दुःखले यहाँसम्म ल्यायो, अब यहिँ संसार प्यारो लाग्न थालेको छ।’ इलाम नगरपालिका–३ पुवामझुवामा जन्मेका ६२ वर्षीय इलामेको रजगज अहिले सूर्योदय नगरपालिका १ लामिधुरामा छ। पर्यटकीय सन्दकपुर जाने भारतीय सडकपेटीमा रहेको गोठ र टिनले बारेको छाप्रोमा भेटिएका इलामेले २५ वर्षअघिको लामिधुरा सम्झँदै भने, ‘चिन्नेले दुःख देखेका छन्, पानीसमेत थिएन यो डाँडामा।’

सन्दकपुर पुग्ने बेसक्याम्पजस्तो लाग्ने लामिधुरामा बास बस्ने जगतबहादुरको नाम कसैले इलामे राखिदियो। उनले सुनाए, ‘इलामे भनेरै सबैले चिन्छन्।’ अहिले अन्तरे, सेतेबुढो, दावा, पेमा छुइङ उनका छिमेकी छन्। चित्राले बारेको गोठमा सातवटा गाई छन्। वनले गाई चराउन पाउँदैनस् भनेपछि २१ माउ गाईबाट भटाएका उनले सुनाए, ‘बस्न दिए त बाँचुञ्जेल यहिँ बस्ने थिए।’

२५ वर्षअघि आफन्तसँग ३ हजार रुपैयाँ ऋण लिएर ४ माउ गाई पाल्न सुरु गरेको इलामेको बाल्यकाल र कहि जवानी पनि अरुकोमा ‘गोठालो’ बस्दैमा बित्यो। घर छोड्दा १० किलो आलु बोक्न सक्ने थिए। उनले सुनाए, ‘सुम्बेकमा वर्षको ६० मा गोठालो बसेँ।’ त्यहाँ रातोमाटोमा कखरा सिके। रातोमाटोमा लेख्दै मेट्दै गर्थे। खाताकिताब चाहिँदैन थियो। गोठालो बसेरै साउ अक्षर पढ्न सिकेँ। उनले ‘घ’ लेख्न मात्रै एक हप्ता लागेको बताए।

तीन वर्ष बसेपछि जसवीरे ढुगानाकोमा सरे। त्यहाँ वार्षिक १५० कमाउन थाले। ढुंगानाको घर छाडेपछि उनी लामिधुरा लागे। लामिधुरामा नै उनको जीवनको अर्को पाटो सुरु भयो। गाई पाल्न थाले। घर छोडेपछि उनी घर फर्केनन्। दाजुभाइ कति छन् उनलाई थाहै छैन। बाबुले ४ वटी विहे गरेको सम्म खवर छ। उनको कनेक्सन गोठ र गाईमा यति विध्न जोडिएको छ, बाहिरी संसारसँग खासै मतलब छैन।

इलामे पति - पत्नि ।

गाई र गोठले नै उनलाई मालिक इलामे बनाएको छ। जुन उनी आफैं भन्न चाहँदैनन्। दुईवटा गाडी, दार्जिलिङमा किनेको फ्याटको उनलाई खासै मोह छैन। भारतीय आर्मीमा जागिर खाने छोरी र सिक्किममा नोकरी गर्ने छोरीले पेटपालो गर्न थालेकोमा भने निकै सन्तुष्ट छन्। उनी भन्दै थिए, ‘आफूजस्तो छोराछोरीले रुनु परेको छैन।’

सिमानामा बास बसेका उनले सरकारले उठायो भने ओतका लागि दार्जिलिङमा घरको जोहो गरेको सुनाए। गाडीलाई गहनाजस्तै ठान्ने उनले भने, ‘यसबाट कमाइ हुन्छ भन्ने आश छैन।’ आलु व्यापार गर्ने बाबुले घाटाको व्यापार गरेको देखेपछि भड्किएर पहाड चढेका उनले ‘बाहुनहरूको घरमा गोठालो बसेर’ दिन मात्रै काटेनन्, केही गर्ने उत्साह पनि लिएर आए। पहाड चढ्दै गर्दा मिङ्मा शेर्पासँग विवाह गरे। मिङ्मा भाउजुले सुनाइन् ‘आधा गाई बूढा चराउँथे, आधा म चराउँथेँ।’ अहिले इलामे गाई चराउँछन्। मिङ्मा घर समाल्छिन्। छोरा निमा शेर्पा र छोरी निमाछुकी शेर्पा आफ्नै संसार बनाउन व्यस्त छन्। उनले छोराछोरीको थर आमाको थरबाट राखेका छन्। सबैलाई भारतले नागरिकता दिएको छ। इलामेले भने, ‘आमाबाबुले नेपालको नागरिकता बनाई दिएनन्, मेरो त नागरिकता छैन।’

तारजस्ता जुँगा, कपाल विदा हुँदै गरेको तालु। ६२ को पोयामा हिँड्दै गरेको इलामेलाई अन्तिम स्वास लामिधुरामा गाईसँगै फेर्ने चाहना छ। त्यो सरकारले पूरा हुन दिन्छ कि दिँदैन उनी आफैं अलमलमा छन्।

विहान ४ बजे उठी उनको दिनचर्या गाई दुहुने, चराउने, घिउ बनाउने, छुर्पी बनाउनेमै बित्ने गरेको छ। उनले आफ्नो उत्पादन भारतीय बजारमा बिक्री गर्ने गरेको सुनाए। छिमेकी पेमा शेर्पाले सुनाए, ‘उनको मिहिनेत देखेर हामीलाई पनि जाँगर चल्छ।’ सानैदेखि इलामेलाई चिनेका दिनेश महत भन्छन्, ‘गाई, गोठ र मिहिनेतको कनेक्सनले इलामे धेरैका लागि उत्प्रेरणाका स्रोत बनेका हुन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.