छाडा चौपाया हटाउन बेवास्ता

छाडा चौपाया हटाउन बेवास्ता

काठमाडौं : छाडा चौपाया नियन्त्रण गर्न स्थानीय सरकारले ध्यान दिएका छैनन्। कान्जी हाउस तथा गौशाला बनाउने भनिए पनि काम अघि बढेको छैन। पशुपालक किसानको नियमन पनि भएको छैन। जसले गर्दा बेवारिस छाडिएका गाईवस्तु सडकमै मरिरहेका देखिन्छन्।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका अनुसार काठमाडौं र ललितपुर दुवै महानगरपालिकाले छाडा पशु नियन्त्रणको काम गरेका छैनन्। यो केन्द्रले काठमाडौं, ललितपुर र भक्तपुरमा काम गरिरहेको छ। प्रदेश ३ सरकारले टोखा नगरपालिकामा कान्जी हाउस बनाउन ७२ लाख रुपैयाँ विनियोजन भने गरेको केन्द्रका प्रमुख नारायण श्रेष्ठले बताए। ‘बूढानीलकण्ठ, टोखा नगरपालिका, चन्द्रागिरी नगरपालिकाले केही मात्रामा काम गरेका छन्’, उनले भने, ‘अरूले केही गरेका छैनन्।’ स्थानीय सरकार अगाडि नबढेसम्म समस्या समाधान हुन नसक्ने उनको ठम्याइ छ।

उनका अनुसार पशुपतिस्थित मठमन्दिर गाईबाच्छा बचाउ समाज विकासले भने यसमा काम गरिरहेको छ। संस्थाले यसै साता सुन्धाराबाट नौ बाछा उद्धार गरी लगेको थियो। ललितपुरमा पशु अधिकारका लागि स्नेहाज केयरले काम गर्दै आएको उनले सुनाए। धोवीघाटमा चिनियाँ कम्पनीले सञ्चालन गरेको अलकत्रा कारखानामा परेर गत वर्ष घाइते भएका गाईको उद्धार उक्त संस्थाले गरेको थियो। स्नेहाजले ६ महिनाअघि कैलालीको घोडाघोडी नगरपालिकामा पनि गाईको उद्धार गरेको थियो।

संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठका अनुसार छाडा गाई व्यवस्थापन गर्न भन्दै २ हजार ५ सय गाई घना जंगलमा लगेर छाडिएकोे थियो। ‘मरेका गाईको दुर्गन्ध फैलिएर जंगलमा पस्न सक्ने अवस्था थिएन’, उनले भनिन्।

प्रहरीले निगरानी थालेपछि ललितपुरमा छाडा पशु कम मात्रै देखिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मि श्रको भनाइ छ। उनका अनुसार गत वर्ष पालेको गाई बेवारिस छाडेको आरोपमा खुमलटारका एक पशुधनीलाई पक्राउ गरिएको थियो। उनी धरौटीमा छुटेका थिए। ती किसानको गाई घाउ आएर बिरामी भएको थियो। दूध दिन छाडेलगत्तै उनले गाईलाई सडकमा छाडेका थिए।

मुलुकी अपराध संहिताले यस्ता निन्दनीय काम गर्नेलाई सजायको व्यवस्था गरेको उनको भनाइ छ। ‘गाईले दूध दिइन्जेल पाल्ने तर बिरामी भएपछि सडकमा छाड्नेलाई यसै नियमले बाँधेको छ’, उनले भने। पशुमाथि यस्ता निन्दनीय व्यवहार गर्न नहुने प्रावधान रहेकाले दोषीलाई कारबाही गरिएको उनले सुनाए।

मुलुकी अपराध संहिताको परिच्छेद २७ को दफा २९० मा पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने उल्लेख छ। कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने व्यवस्था दफा १ ले गरेको छ। कसुर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.