सुन तस्करीका अभियुक्तलाई साढे ३५ करोड जरिवाना र ६ वर्ष कैद माग
गोरखा : १६ किलो सुनसहित पक्राउ परेका गोरखा केरौंजाका धनकमल गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागले ३५ करोड रुपैयाँ जरिवाना माग दावी गर्दै जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको छ।
सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर विभागले मिसिल र अभियोगपत्र मंगलबार जिल्ला अदालत गोरखामा पठाएको श्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए।
'राजस्व अनुसन्धान विभागबबाट अनुसन्धानसम्बन्धी हालसम्म तयार भएको सम्पूर्ण मिसिल र अभियोग पत्र यहाँ पठाएको छ,' श्रेस्तेदार अधिकारीले भने, 'प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।'
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको उनले बताए । गत साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका-१ हुलचुकका गुरुङविरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैयाँ जरिवाना गर्न माग गरिएको उनले बताए।
प्रतिवादी गुरुङलाई आर्थिक जरिवानासहित ६ वर्ष कैद सजाय हुन पनि राजस्व अनुसन्धान विभागले माग गरेको छ। बरामद भएको सुनको मुल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ । प्रतिवादी धनकमल गुरुङले बयानमा लोप्साङ लामा भन्ने व्यक्तिबाट आफूले सुन लिएको बयान दिएका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाले सुनसहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागले एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको हो ।
विभागले पठाएको अभियोगपत्र अनुसार प्रतिवादी धनकमल गुरुङसँग मंगलवारै बयान गरिएको जिल्ला अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस !