पुँजी पुर्याउन बिमा कम्पनीलाई ताकेता
![पुँजी पुर्याउन बिमा कम्पनीलाई ताकेता](https://annapurnapost.prixacdn.net/media/albums/beema-samitee_20190904063757_UkvreAkTHG.jpg)
काठमाडौं : राष्ट्रिय बीमा समितिले निर्धारित समयमा पुँजी नपुर्याउने पुराना बीमा कम्पनीलाई ‘कल इन एड्भान्स’ मा पैसा राखेर तत्कालै पुँजी पुर्याउन ताकेता गरेको छ। बीमा समितिले गएको असार मसान्तसम्म पुँजी पुर्याउन निर्देशन दिएको थियो।
‘दिइएको समयमा पुँजी नपुर्याएका कम्पनीका सञ्चालकलाई बोलाएर संस्थापक लगानीकर्ताले अग्रिम पुँजी चुक्ता (कल इन एड्भान्स) गरेर भए पनि पुँजी पुर्याउन निर्देशन दिएका छौं’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘यदि पुँजी पुर्याउन नसकेमा कम्पनीलाई बीमा समितिले कारबाही पनि गर्न सक्छ।’
सूर्या लाइफ, प्राइम लाइफ, गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थानले निर्धारित पुँजी पुर्याउन सकेका छैनन्। निर्जीवन कम्पनीमा प्रुडेन्सियल, लुम्बिनी, एनएलजी, युनाइटेड, राष्ट्रिय बीमा कम्पनीको पुँजी पुगेको छैन। विदेशी कम्पनीमा मेटलाइफ र नेसनल तथा ओरियन्टल इन्स्योरेन्सको पनि पुँजी पुगेको छैन। ‘विदेशी कम्पनीलाई असाइन क्यापिट लक्ष्य पुर्याउनुपर्ने व्यवस्थाअनुसार उनीहरूलाई पनि भनिएको छ’, राष्ट्रिय बीमा संस्थानका सूचना अधिकारी निर्मल अधिकारीले भने।
गुराँस र प्राइम लाइफको सञ्चालक समितिलाई बोलाएर कल इन एड्भान्समा पैसा राख्न भनिसकेको बीमा समितिले जानकारी दिएको छ। अरु कम्पनीका सञ्चालकलाई पनि छिट्टै बोलाएर यसबारे छफलफल गर्ने कार्यकारी निर्देशक पौडेल बताउँछन्। केही कम्पनीले भने आफ्ना संस्थापक सेयरधनीसँग अग्रिम पुँजी उठाइसकेको छ। सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले ६० करोड रुपैयाँ अग्रीम पुँजी उठाइसकेको बताए। उनले हकप्रद सेयरको बिक्रीपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब १५ करोड पुग्ने बताए।
सूर्या लाइफ, प्राइम लाइफ, गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थानले निर्धारित पुँजी पुर्याउन सकेका छैनन्।
बीमा समितिले गएको साउनमा पुँजी नपुर्याउने बीमा कम्पनीलाई पत्राचार गरेर स्पष्टीकरण सोधेको थियो। ‘सबै कम्पनीले जवाफ पठाइसकेका छन्’, अधिकारी भन्छन्, ‘नपुगनेजस्तो आधार देखिएको छैन।’ प्राविधिक कारणले पुँजी नपुगेको र २–४ महिनामै पुर्याउनसक्ने देखिएको उनले बताए। तर, बीमा समितिले हालसम्म पुँजी वृद्धिका लागि थप समय दिने औपचारिक निर्णय भने गरेको छैन। उनले यो वर्षदेखि बीमा कम्पनीको लेखा प्रणालीलाई ‘नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस)’ लागू भएकाले लेखा परीक्षण गर्नै ढिलाइ भएको बताए।
आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट पनि पुराना कम्पनीलाई साधारणसभा गर्न ढिलाइ भएको बताउँछन्। ‘यसले गर्दा अघिल्लो वर्षको नाफाबाट बोनस सेयर दिएर पुँजी बढाउनमा पनि ढिलाइ भइरहेको छ’,उनी भन्छन्। नयाँ बीमा कम्पनीमा भने सस्थापक सेयरधनीले विद्यमान व्यवस्था अनुसार नै पुँजी लगानी गरिसकेका छन्।
बीमा समितिले हाल जीवन बीमा कम्पनीका लागि दुई अर्ब र निर्जीवन बीमा कम्पनीका लागि एक अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी तोकेको छ। नयाँ कम्पनीले प्राथमिक सेयर निस्काशन (आईपीओ) भने जारी गर्न पाएका छैनन्। ‘नेपाल धितोपत्र बोर्डले आर्थिक वर्षको पूरै वित्तीय विवरण सार्वजनिक नगरी आईपीओ जारी गर्न नपाउने व्यवस्था गरेकाले गत वर्ष नयाँ बीमा कम्पनीले आईपीओ जारी गर्न सकेनन्’, उनी भन्छन्, ‘अब यो वर्ष धेरै कम्पनीले आईपीओ जारी गरेर पुँजी पुर्याउँछन्।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)