सांसदकै अघि कालीगण्डकी दोहन

सांसदकै अघि कालीगण्डकी दोहन

बागलुङ : बागलुङ-१ का संघीय सांसद डा.सूर्य पाठक मंगलबार गाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर सदरमुकाम फर्कंदै थिए। कालीगण्डकी किनार भएर आउँदै गरेका पाठक मध्यरातमा भइरहेको अवैध उत्खनन्को प्रत्यक्षदर्शी बने। आँखा अगाडि अवैध तवरले बालुवा झिकिइरहेको देखेपछि उनले प्रहरीलाई खबर पनि गरे। तर प्रहरीले तत्काल उत्खनन्मा सहभागीलाई नियन्त्रणमा लिन हच्किएको उनले गुनासो गरे।

पाठकले उत्खनन्को सूचना दिएको एक घण्टापछि पर्वत प्रहरीले एक जनालाई नियन्त्रणमा लिए पनि बागलुङ प्रहरीले भने केही प्रमाण नभेटिएको जवाफ फर्कायो।

सांसद पाठकले यो विषय संघीय संसद्मा समेत कुरा उठाएका छन्। ‘यो मनपरीतन्त्रको खराब उदाहरण हो। यो विषयमा स्थानीय सरकार, जनप्रतिनिधि, प्रहरी र प्रशासनले मौनता साँध्नुहुँदैन’, पाठकले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन नगरी गरिने नदी दोहनले राजश्व छली मात्र नभइ यसबाट निम्तिने जोखिमलाई कम आँकलन गर्नुहँुदैन।’

बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदी किनारमा ठेक्का अघिनै नदीबाट बालुवा उत्खनन् गर्ने क्रम जारी छ। बागलुङतर्फ भकुण्डे गलुवा र पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारा आसपासमा मध्यरातमा बालुवा निकाल्ने गरिएको छ। दिउसो मानिस लगाएर बालुवा झिक्ने गरिए पनि राति ठूला डोजर प्रयोग गरी बालुवा उत्खनन् भइरहेको प्रत्यक्षदर्शी सीता खड्काले बताइन्।

नियमानुसार, असारदेखि भदौसम्म नदीको सतह र धार बदल्ने गरी उपकरण प्रयोग गरी नदीजन्य बस्तु उत्खनन् गर्न पाइदैन। तर, क्रसर व्यवसायीले खुलमखुल्ला गरिरहेको अवैध कार्यबारे स्थानीय सरकार, प्रहरी प्रशासन मौन देखिएको स्थानीय र सर्वसाधारणको गुनासो छ।

नदी दोहनका विषयमा क्रसर व्यवसायीले भने बर्खायाममा बगेर जाने बालुवा निकाल्नु गलत नहुने तर्क गर्छन्। नदीको धार र सतह बदलिने गरी बालुवा ननिकालिएको निर्माण व्यवसायी सन्दिप खड्का बताउँछन्।

‘एउटा उपकरण पहिरोले पुरिएको छ। हामीले अहिले डोजर लाएर निकालेका पनि छैनौं’, खड्काले भने, ‘बजारमा बालुवालगायतका सामग्रीको उच्च माग छ, त्यो कहाँबाट पुरा गर्ने भन्ने विषयमा पनि सरोकारवाला गम्भीर हुन जरुरी छ।’

क्रसर व्यवसायीले नियमित रूपमा बालुवा र गिटी नझिकेमा नदीले जमिन पुर्ने खतरा हुने र बालुवा झिकेकै कारण नदी सही बहावमा बग्ने गरेको तर्क समेत गर्छन्।

नदी किनारमा डोजर र ट्र्याक्टर देखे पनि उत्खनन् गरेको प्रमाण नपाइएको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए। उत्खनन्को अवस्थाको भिडियो र सवारी साधन भेटिएकोबारे जिल्ला समन्वय समिति, प्रशासन र नगरपालिका कार्यालयमा पत्राचार गरिएको उनले बताए।

पर्वततर्फ भने राजाको बगर र अन्य विभिन्न स्थानमा डोजर लगाएर बालुवा झिकिरहेको समयमा चालक राजु घर्तीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्याम अर्यालले बताए।

कालीगण्डकी नदी किनारको बालुवा उत्खनन्का लागि बागलुङ नगरपालिकाले ठेक्काको तयारी गरेको छ भने पर्वततर्फ ठेक्का प्रक्रिया सुरु भएको छैन। ठेक्का सुरु नहुँदै यहाँका क्रसर व्यवसायीले करोडौं मूल्यको बालुवा नदी किनारमा निकालेर ठूलो चाङ बनाएर राखेका छन्। बागलुङ नगरपालिका भित्र पर्ने कालीगण्डकी नदी किनारको नदीजन्य बस्तु उत्खनन्का लागि केही दिनमै टेण्डर आह्वान गर्ने तयारीमा रहेको नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले यो महिनामा नदीमा उत्खनन् गर्न नपाइने प्रष्ट व्यवस्था रहेकाले त्यस्तो देखिए कारवाही अघि बढाउने बताए।

नदीदेखि ५ सय मिटरको दूरीमा मात्र क्रसर उद्योग खोल्न पाउने कानुनी प्रावधान छ। यो प्रावधान विपरित पर्वततर्फ केही र बागलुङमा एउटा क्रसर उद्योग खुलेको छ। नदीको बहावबाट ५ मिटर भित्रै ती क्रसर सञ्चालित छन्। गतवर्ष मात्रै उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङ, कुश्मा र बेनी नगरपालिकासहितका स्थानीय तहलाई कानुन बनाएर नदी उत्खनन्को प्रक्रिया थाल्न निर्देशनात्मक आदेश दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.