काष्ठमण्डपमा मौलिकताको खोजी

काष्ठमण्डपमा मौलिकताको खोजी

मरुसत्तल (काष्ठमण्डप) वसन्तपुर घुम्न आउने जोकोहीका नजरमा पर्न थालेको छ। काष्ठमण्डपलाई चारैतिर बाँसको खटले बाँधेर बनाइँदै छ। बटुवाहरू एक टकले यसको पुनर्निर्माण नियाल्छन्। अनि प्रश्न गर्छन्, ‘यो बाँस किन लगाएको ? ’ काष्ठमण्डपमा प्रयोग भइरहेका काठ मानिसहरूले नै उचालेर ल्याएको देख्दा ती अझै अचम्मित हुन्छन्। अनि फेरि नाक–मुख खुम्च्याउँदै भन्न थाल्छन्, ‘अहिलेको जमानामा पनि के दुःख गरेको होला ? ’ कतिपय युवा त खिसिट््युरी पनि गर्छन्, ‘संसार कहाँबाट कहाँ पुगिसक्यो। हाम्रो देशको विकास भने यस्तो ‘स्लो मोसन’ को छ।’

वसन्तपुर गद्दीबैठकको ठीक अगाडि र नौतले दरबारको पश्चिमतर्फको चौबाटोमा पर्ने यो मरुसत्तल ०७२ को भूकम्पमा पूर्णरूपले भग्नावशेष भएको थियो। एउटै काठले बनेको विशाल काष्ठमण्डपले छिनभरमै आफ्नो स्वरूप गुमायो। मरुटोलका स्थानीय र काष्ठमण्डप एकअर्काका पर्यायजस्तै थिए। त्यसैले स्थानीयकै सहभागितामा काष्ठमण्डप पुनर्निर्माण गर्ने निर्णय भयो। सुरुमा काष्ठमण्डप पुनर्निर्माण अभियानलाई यो जिम्मा दिइएको थियो। तर पछि काष्ठमण्डप पुनर्निर्माण समिति खडा गरी उसैलाई जिम्मा दिइयो।

पछिल्लो समय काष्ठमण्डप पुनर्निर्माण समिति काष्ठमण्डपको मूर्त मात्र होइन, अमूर्त सम्पदा जगेर्नामा पनि प्रयासरत छ। यसलाई मौलिक स्वरूपमा ढाल्न खटलाई जुट र नरिवलको जटाले बलियो गरी जोडिएको छ। तीनतले काष्ठमण्डपमा तलमाथि गर्न बाँसकै भर्‍याङ छन्। पानी पर्दा र चर्को घाम लागेका बेला ‘प्लास्टिक कभर’ ले ती बाँस मक्किनबाट जोगाइन्छ। अन्य समय पुनर्निर्माणलाई प्रत्यक्ष अवलोकन गर्न सबैलाई छुट छ। सकेसम्म काष्ठमण्डपलाई स्थानीयको अपनत्वसँग जोडेर व्याख्या गरिन्छ। तर, स्थानीयको संलग्नता भने देखिँदैन। किन काष्ठमण्डपसँग जोडिएका अमूर्त सम्पदाको खोजीमा समिति अझै मौन छ ?

काष्ठमण्डप पुनर्निर्माण अभियानले काष्ठमण्डपको मूर्त र अर्मूत सम्पदा संरक्षण गर्न सम्पूर्ण अनुसन्धान गरेको थियो। तर, यस्तो अनुसन्धानपछि बनेको काष्ठमण्डप पुनर्निर्माण समितिले गरेको छैन। काठमाडौंमा मनाइने जात्रा तथा पर्वहरू प्रत्यक्ष तथा परोक्षरूपमा काष्ठमण्डपसँग जोडिन्छन्। ती काष्ठमण्डपसँग जोडिएका अमूर्त सम्पदा हुन्। समितिले यस्ता अर्मूत सम्पदाको अनुसन्धान र त्यसमाथि सार्वजनिक रूपमा बहस चलाएको खासै भेटिँदैन। यस विषयमा संस्कृतिविद्् काशीनाथ टमोटले बारम्बार टिप्पणीसमेत गर्दै आएका छन्।

काष्ठमण्डप महानगरअन्तर्गत बन्दै छ। काष्ठमण्डप पुनर्निर्माण अभियानले स्थानीयको सहभागितामा कुमारीलाई साक्षी राखेर पुनर्निर्माणको सुरुवात गरेको थियो। यसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले काष्ठमण्डप बनाउने जिम्मा पुनर्निर्माण अभियानलाई दिएको थियो। तर, पछि काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिका रूपमा यो जिम्मेवारी पायो। सरकारको प्रत्यक्ष संलग्नता नदेखाउन काष्ठमण्डप पुनर्निर्माण समिति गठन गरियो। जनताबाटै रकम उठाएर काम गर्ने भनिए पनि त्यसो भएन।अभियानका संयोजक वीरेन्द्रभक्त श्रेष्ठ भन्छन्–नेतृत्वमा बढीभन्दा बढी मानिसको सहभागितामा पुनर्निर्माण गर्ने सम्झौता भएको थियो।

अभियानमा संलग्न ‘एक्सपर्ट’ समूहले काष्ठमण्डपको पुनर्निर्माण महानगरले गरिरहेकाले पछि यसको स्वामित्व महानगरले नै लिने सम्भावना रहेको आशंका गरेको छ। संस्कृतिविद् टमोट सार्वजनिक स्थल मरुसत्तल महानगरले आफ्नो स्वार्थका लागि प्रयोग गर्न सक्ने आशंका व्यक्त गर्छन्। प्राचीनकालदेखि नै काष्ठमण्डपको स्वामित्व सरकार तथा राजारजौटाले लिएको प्रमाण छैन। यसबारे टमोटको ‘काष्ठमण्डप ताम्रपत्रको अभिलेखः चित्तहर्ष बज्राचार्यको पाठ र अनुवाद’ शीर्षकमा अध्ययन भएको छ।

उक्त अनुसन्धानअनुसार काष्ठपण्डपको स्वामित्व कसै न कसैको स्वामित्वमा दिनुपर्ने महसुस गरी त्यतिबेला सरकारले गोरखनाथ गुठीको नाममा काष्ठमण्डपको महल्दारी (सार्वजनिक स्थान कसैलाई एकलौटी अधिकार दिनु) दिन खोजेको देखिन्छ। नेपाल संवत्् ४५४ देखि ६३२ (सन् १? देखि १५१२) सम्मका प्राचीन नेपालभाषामा लेखिएको ताम्रपत्राभिलेखमा महल्दारी शब्द उल्लेख छ। महल्दारी पाएको संस्था वा गुठीले सार्वजनिक स्थाल वा ठाउँलाई भाडामा प्रयोग गर्न सक्छ। महानगरपालिकाले पनि यही नीति नअपनाउला भन्न सकिन्न।

अभियानका संयोजक वीरेन्द्रभक्त काष्ठमण्डपले अपनत्वको भावना जगाउन नसकेको बताउँछन्। उनी पुनर्निर्माण समितिलाई प्रश्न गर्छन्, ‘खै प्रशासनिक प्रक्रिया पुर्‍याएको ? खै खर्च विवरण सार्वजनिक गरेको ? ’ उनी त अहिलेको समिति ठेक्कापट्टाको नयाँ रूप भएको बताउँछन्।

काष्ठमण्डपकै नाममा काठमाडौं सहरको नाम छ। काठमाडौंको मुटुमा रहेको काष्ठमण्डपसँग यहाँका सबै धार्मिक तथा सांस्कृतिक पर्वहरूको प्रत्यक्ष–परोक्ष संलग्नता रहन्छ। त्यसैले काष्ठमण्डप पुनर्निर्माणमा स्थानीय होइन, राजनीति पसेको धेरैको बुझाइ छ। परोक्ष रूपमा काष्ठपण्डप पुनर्निर्माणको स्वामित्व सरकारले लिनुमा पनि राजनीतिक खेल भएको भन्दै टमोट आक्रोश पोख्छन्।

धर्म र सम्पदाका नाममा सत्तारुढ दल र विपक्षी पार्टीले राजनीति गर्दै आएका छन्। आफ्नो उपस्थितिलाई बलियो देखाउन वर्तमान सरकारले काष्ठमण्डप स्थानीयकै पहलमा बनिरहेको भाषण गर्दै हिँडे पनि स्वामित्व आफ्नै हातमा लिएको काठमाडौं वडा नं २० का वडाध्यक्ष राजेन्द्र मानन्धरको गुनासो छ। उनलाई समितिमा स्थानीयको सहभागिता देखाउन सदस्य राखिए पनि समितिले आजसम्म कुनै बैठकमा बोलाएको उनलाई याद छैन। नगरपालिकाले एकलौटि रूपमा काष्ठमण्डप बनाउँदा स्थानीयको प्रतिनिधित्व हुन नसकेको उनको भनाइ छ।

बाहिरबाट हेर्दा काष्ठमण्डपको पुनर्निर्माण निकै सुस्त प्रतीत हुन्छ। डोकोमा माटो बोकेर कामदार विस्तारै लम्किरहेका हुन्छन्। मां आपा (चारकुने इँटा) छानीछानी डकर्मी उत्तिनै विस्तारै मरुसत्तलको अंग (गाह्रो) भर्छन्। उता हनुमानढोकापरिसरमा सिकर्मी र काठमा बुट्टा भर्ने कलाकारलाई पनि कामको कुनै हतारो छैन।

नयाँ र पुराना पुस्ताका प्राविधिकहरू सानोभन्दा सानो निर्णय लिन पनि ठूलै बहस चलाउँछन्। आर्किटेकहरू आफ्नो काम सकाउन अझै समय चाहिएको भन्दै समिति सचिवसँग अनुरोध गरिरहेका हुन्छन्। खट निर्माण गर्न स्टिलको पाइप राख्ने कि बाँसको भन्ने विषयमा लामो छलफल चल्यो। काष्ठमण्डप पुनर्निर्माणमा हरेक काम गर्दा उत्तिकै समय लिइन्छ। आखिर किन ढिलासुस्ती ?

हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मी हतारोमा पुनर्निर्माणको काम सकाउँदा ‘डिटेलिङ’ मा गल्ती हुन सक्ने बताउँछिन्। ‘हामीले काष्ठमण्डप पुनर्निर्माणमा मौलिकतालाई प्राथमिकता दिएका छौं’ प्रमुख नकर्मी भन्छिन्, ‘काष्ठमण्डप निर्माणमा प्रयोग हुने कुनै पनि पुरातात्विक महŒवका सरसामानमा सम्झौता गरेका छैनौं।’ सयौं वर्ष पुराना सामान र प्रविधि जुटाउन कठिन भएकाले नै पुनर्निर्माणमा समय लागेको उनी बताउँछिन्।

२०७२ सालको भूकम्पले कयौं सम्पदा मासिए। कतिपय ऐतिहासिक महŒवका सम्पदा बनिसकेका छन् भने कतिपय बन्दै छन्। सम्पदा पुनर्निर्माण गर्दा मौलिकतालाई प्राथमिकता दिनुपर्ने आवाज एकातर्फ उठिरहेको छ भने अर्कातर्फ छिटो सकाउनुपर्ने दबाब पनि छ।

काष्ठमण्डप इतिहास बोकेको पुरातात्विक सम्पदा हो। काष्ठमण्डपकै नामबाट काठमाडौं रहन गएकाले यसको पुनर्निर्माणमा अझै जिम्मेवारी थपिएको छ। आधुनिक युगमा छिटोछरितो प्रविधि प्रयोग गरेर काष्ठमण्डप बनाउन आवश्यक छ। पुनर्निर्माणको चर्चा चलिरहँदा यस सम्पदाको जग पनि कंक्रिटले भर्ने प्रस्ताव नआएको होइन।

अन्ततः काष्ठमण्डपलाई मौलिक स्वरूपमै बनाउने निर्णय भयो। आखिर किन ? धेरै त परम्परागत प्रविधि वैज्ञानिक तथा दिगो नहुने धारणा राख्छन्। तर, काष्ठमण्डप पुनर्निर्माणमा पुराना सीप र नयाँ सोच दुवैलाई उत्तिकै प्राथमिकता दिइएको छ। नकर्मी तलेजु भवानी मन्दिर उदाहरण दिँदै भन्छिन्, ‘हाम्रा मौलिक प्रविधिलाई विश्वास गर्ने धेरै आधार छन्। यसलाई प्रमाणित गर्न काष्ठमण्डपलाई रोल मोडल बनाउनै पर्छ।’

काष्ठमण्डपको बनावटमा उत्तिकै ध्यान दिइएको छ। मौलिकता र नयाँ प्रविधिभित्र्याएर काष्ठमण्डपको पहिलो तला पूरा गर्ने कार्य अगाडि बढेको छ। तर, बनाउन चाहिने लागतका विषयमा प्रदेश ३ का सांसद तथा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले स्पष्ट पारेका छैनन्। समितिका सचिव गौतम डंगोल पनि यसको जवाफ दिन असमर्थ छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.