धौलागिरि पदमार्ग सञ्चालन

धौलागिरि पदमार्ग सञ्चालन

बागलुङ : स्थापित पदमार्ग मोटरबाटो निर्माणका क्रममा भत्काइन थालेपछि जिल्लामा नयाँ पदमार्गको रेखांकन गरिएको छ। साविकको धौलागिरि अञ्चलभित्रका पदमार्ग सडक सञ्जाल बिस्तारसँगै भत्किएर हिउँदमा धुलाम्य र बर्खायाममा हिलाम्य हुने अवस्था आएपछि नयाँ पदमार्गको रूपमा धौलागिरि पदमार्ग सञ्चालनमा ल्याइएको हो।

यो पदमार्ग जिल्लाका बागलुङ नगरपालिकाको प्रसिद्ध सर्वसिद्धिधाम पञ्चकोटदेखि सुरु भएर काठेखोला गाउँपालिका ३ को धम्जा र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको सिमानामा अवस्थित बेलढुंगा पुग्न सकिनेछ। यस मार्गमा पदयात्राका क्रममा पूर्वमा पर्वत र अन्नपूर्ण, माछापुच्छे«, गुर्जा हिमशृंखला तथा पश्चिममा ढोरपाटनसम्मको दृश्य देख्न सकिने स्थानीय गोपाल श्रीसले बताए । ‘पञ्चकोट धेरैको आस्थाको धरोहर र धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै छ, यहाँबाट पञ्चकोट दर्शन गरेर पदयात्रा सुरु गर्न सकिन्छ’, उनले भने, ‘पञ्चकोटमाथि संसारकोट, कारिकोट हुँदै सुन्दर दृश्यावलोकन गरेर धम्जाको होमस्टेमा बस्ने व्यवस्थाले पर्यटक आकर्षित हुनेमा हामी विश्वस्त छौं।’

प्रारम्भिक चरणमा बागलुङ बजारदेखि पञ्चकोट, संसारकोट, थाप्ले, बेलढुंगादेखि धम्जा देउरालीसम्मको पदमार्ग रेखाङ्कन गरिएको छ। यो खण्ड झन्डै १५ किमि लामो छ । धम्जादेउरालीदेखि घोडाबाँधे, बिहुँको रामकोट, भकुन्डे, भैरवस्थान हुँदै बलेवा एयरपोर्टसम्मको पदमार्गको बृहत् खाका तयार पार्न मिनी धौलागिरि चक्रपथ रेखाङ्कन थालिएको धौलागिरि पर्यटन प्रवद्र्धन समितिका संयोजक खिमानन्द कँडेलले बताए । केही स्थानमा भने लामो दूरी हिँड्दा पनि बस्ती नभेटिने समस्या भएका स्थानमा बस्ती झर्ने केही मार्ग बनाउनुपर्ने देखिएकोे छ।

बेलढुंगामा तल धम्जा ओखले गाउँमा स्थापना भएको होमस्टे सञ्चालकले नजिकैको आकर्षक पहाडलाई मिनी धौलागिरिको नामाकरण गरेका छन् । जहाँको चुचुरोमा पुग्दा उत्तरतर्फ बेनी बजारसहित म्याग्दीका अधिकांश भूगोल, धौलागिरि हिमाल र कालीगण्डकी देखिन्छ । दक्षिणतर्फ बागलुङ र गुल्मीको खण्ड देखिन्छ । करिब ४ घण्टाको पैदल यात्राबाट बेलढुंगा चढेपछि तल होमस्टेमा विभिन्न स्थानीय परम्परागत सँस्कृतिका साथै अर्गानिक स्वाद उपलब्ध हुनेछ।

यस पदमार्गलाई ताराखोलादेखि म्याग्दीको रुम, बागलुङको तमानखोला हुँदै ढोरपाटनसम्मको ट्रेकिङ मार्ग बनाउन सकिने बेलढुंगा सामुदायिक होमस्टेका अध्यक्ष टेकबहादुर पुनले बताए । बागलुङ बजारदेखि ढोरपाटनसम्मको पदमार्ग तीन दिनमा सकिने गरी तयारी अघि बढाउन अभियानकर्ता लागेका छन् । पदयात्रा शुभारम्भमा सहभागी गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले नयाँ पदमार्ग पहिचान, सञ्चालन र यस खालको अभियानले पर्यटन वर्ष सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

‘धौलागिरि हिमालको आँगनमा बन्ने धौलागिरि पदमार्गले पर्यटक आकर्षित गर्न ठूलो सहयोग पुग्नेछ’, मन्त्री लम्सालले भने, ‘पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन हुनुका साथै धार्मिक, साँस्कृतिक संरक्षण र स्थानीयको आयआर्जनमा समेत टेवा हुनेछ ।’ बागलुङ बजारनजिकै निर्माणाधीन शालीग्राम संग्रहालय, प्रसिद्ध बागलुङ कालिका भगवति मन्दिरसँगै जोडेर धौलागिरि पदमार्गलाई विशेष महत्त्वका साथ प्रचारप्रसार र व्यवस्थित गर्न लाग्ने काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।

पदमार्गको फेरोका लागि थालिएको कामअन्तर्गत आगामी चैते दसंैसम्म पदमार्गको सामान्य बाटो बनाइसक्ने, संकेत बनाउने, वि श्रामस्थल र खानेपानीको व्यवस्थापन गर्ने लक्ष्य छ । बागलुङमा १६ सामुदायिक होमस्टे रहेकोमा प्रस्तावित पदमार्गमा बेलढुंगा, शिवधुरी होमस्टे सञ्चालनमा छन् । पदमार्गलाई थप विस्तार र व्यवस्थित गर्न धौलागिरि चक्रपथ पर्यटन समिति गठन गरिएको समितिका अध्यक्ष प्रेम लामिछानेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.