श्‍वेत भैरवलाई संरक्षकको अभाव : दसैं खर्च १ रुपैयाँ मात्र

श्‍वेत भैरवलाई संरक्षकको अभाव : दसैं खर्च १ रुपैयाँ मात्र

काठमाडौं : नेवार समुदायले आजु द्य:, अजिमा र भैरव मुख्य देवीदेवताको रुपमा मान्छन्। यी मध्य काठमाडौं उपत्यकामा भैरवका विविध स्वरुप छन्। जसमा हाथुद्यः (श्वेत भैरव) पनि एक हुन्। वर्षभरि नौंओटा झ्याल भित्र गुपचुप बस्ने यो भैरवले येंयाः (इन्द्रजात्रा)को अवसरमा आफ्नो विशाल तथा पूर्ण अनुहार देखाउँछ।

केही वर्ष अगाडि हाथु द्यःको मुखबाट निस्कने थों (जाँड) महिलाले पनि ग्रहण गर्न पाउने भएपछि यस भैरवको चर्चा अझै बढेर गएको छ। यस विधिलाई ‘हाथुह्याक्यु’ भनिन्छ। तर भैरवको चर्चा जति भइरहेछ यसको संरक्षण भने त्यति नै लथालिङ्ग छ।

सानैदेखि श्वेत भैरवको नित्यपूजा प्रकाश ताम्रकार (४९) को परिवारले गर्दै आएको छ। प्रकाश र उनकी पत्नी पालैपालो भैरवको रेखदेख गर्छन्। 

परिवारले देवीदेवताको पूजाआजा र धार्मिक परम्पराहरु मनाउनबाट पछि हट्दै गएपछि हाल प्रकाश र उनकी पत्नी मात्र यस कार्यमा जुटेका छन्। बिहान ६ देखि साढे नौंसम्म र बेलुकी ५ पाँचदेखि साढे आठ बजेसम्म श्वेत भैरवको एक झ्याल खोल्ने जिम्मा प्रकाश कै परिवारको हो।

परिवारका सदस्यहरु एक एक गर्दै विदेशिएपछि श्वेत भैरवको रेखदेखमा प्रकाश एक्लो पहरेदारी गर्दै छन्। प्रकाश भन्छन्, ‘पहिलेका गुठियारले राजिनामा दिएर विदेश गइसके। २०५७ सालदेखि हाम्रै परिवारमात्र यसको रेखदेखमा छ।’

उनी स्वेत भैरव गुठी व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। समितिमा अन्य सदस्यहरु छन्। स्वेत भैरवको रेखदेखमा तीनै सदस्यहरुबाट सहयोग पाए पनि जिम्मेवारी हस्तान्तरण गर्न सकेका छैनन्। 

सुनको ११ रुपैंया सिक्काको साटो १२ हजार मात्र

नेपाल कै सबैभन्दा ठूलो अनुहार भएका श्वेत भैरवको दर्शन सर्वसाधारणले वर्षको तीन पटक गर्न पाउँछन्। इन्द्रजात्रामा आठ दिनसम्म दर्शन गर्न सकिन्छ भने चैते दसैं र बडा दसैंका अवसरमा पनि श्वत भैरवको दर्शन गर्न सकिन्छ। गुठी संस्थानले इन्द्रजात्राको अवसर पारेर यी तीन पर्वमा लाग्ने खर्च श्वेत भैरव गुठी व्यवस्थापन समितिलाई वितरण गर्दै आएको छ।

तस्बिर : दिपेन श्रेष्ठ 

श्वेत भैरवको रेखदेखमा जुटेका प्रकाश ताम्राकारले पहिले सरकारले इन्द्रजात्राका अवसरमा ११ रुपैंया ७० पैसा सुनको मोहोर दिने बताए। महङ्गी बढे पनि अहिले खर्च घटाएर जम्मा १२ हजार दिने गरेको उनको भनाइ छ। आठदिनसम्म चल्ने येंयाः को अवसरमा एकादशीका दिन होम गरेर बलि दिनुपर्ने हुन्छ। रांगा, बोका र हाँसको बलिदिने काम द्वादशी र पूर्णिमाका दिन पनि हुन्छ।

द्वादशीका दिन हनुमानढोकामा यःसिं (लिङ्गो) ठड्याइसकेपछि इन्द्रजात्रा सुरु हुन्छ। त्यसपछि प्रत्यक साँझ ‘हाथुहायक्यु’ हुन्छ। यो भनेको श्वेत भैरवको मुखबाट निस्किएको जाँड-रक्सी प्रसाद स्वरुप भक्तजनहरुलाई ग्रहण गराउनु हो। प्रत्येक वर्ष करिब ८० लिटर जाँड-रक्सी भैरवको मुखमा पाइप लगाएर खुवाइन्छ।

यी सबै प्रचलनलाई निरन्तरता दिन हालको रकम अपुग भएको ताम्रकार बताउँछन्। उनी भन्छन्, ‘पहिले ११ रुपैयाँले दुई वर्षसम्मको खर्च जुट्थ्यो।’
श्वेत भैरवकै विशेष पूजा हुने चैते दसैंमा सरकारको तर्फबाट पहिले एक मोहोर दिइन्थ्यो। जुन हाल आएर ८ हजार भएको छ। बडा दसैंमा सुनकै एक रुपैँया दिइन्थ्यो। जुन हाल एक रुपैंयामा मात्र सिमित भएको छ।
सुनको मोहर दिने प्रचलन राजा रणबहादुरले सुरु गरेका थिए। हाल नित्य पूजा गर्न महिनाको पाँच सय दिइन्छ जुन कुनै समय सुनको पाँच मोहर थियो।

एक झ्यालबाट चिहाउँदै श्वेत भैरव

भैरवलाई महादेवको पाँच अवतार मध्य एक मानिन्छ। भैरवका विविध अवतार मध्य हाथु द्यः (श्वेत भैरव) पनि एक हुन्।  सर्वसाधारणले श्वेत भैरवको दर्शन वर्षमा तीन ठूला चाड इन्द्रजात्रा, चैते दसैं र बडा दसैंमा गर्न पाउँछन्। अन्य दिन श्वेत भैरव नौं ओटा टिकी झ्या (काठका साना साना प्वाल भएको झ्याल) भित्र नै रहन्छन्। तर आजभोलि यो नौं ओटा झ्याल मध्य एक झ्याल संधै जसो खोलिन्छ।

भदौ २४ बाट सुरु भएको येंयाः (इन्द्रजात्रा) को आठै दिन श्वेत भैरव दर्शनका लागि खुल्ला गरिन्छ। परम्परा अनुसार वर्षदिनमा निश्चित समयमा मात्र श्वेत भैरवको दर्शन गर्न मिल्छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार श्वेत भैरवको निजी गुठीले आफ्नो इच्छा अनुसार झ्याल खोलेको बताए। अध्यक्ष शाक्यले भने, ‘निश्चित दिनमा मात्र झ्याल खोल्नु पर्ने भए पनि श्वेत भैरवको निजी गुठीको निर्णयमा हामीले हस्तक्षेप गरेका छैनौं।’

श्वेत भैरव व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ताम्रकार महानगरले नै झ्याल खोल्न अनुमति दिएको बताउँछन्। ताम्रकारका अनुसार धेरै वर्ष पहिले श्वेत भैरवलाई अहिलेको जस्तो झ्यालभित्र राखिएको थिएन। भैरवको दर्शन जुनसुकै समयमा गर्न सकिन्थ्यो तर बीचमा विभिन्न कारणबस यस भैरवको अनुहार झ्यालले बारिएको उनको भनाइ छ।
 
संस्कृतिविद्‍ तथा जानकारहरु भने श्वेत भैरवको पूजा तान्त्रिक विधि अनुसार गर्नु पर्ने भएकाले सधैँ खुल्ला राख्न नहुने बताउँछन्।
श्वेत भैरवलाई दैनिक सैयौं भक्तजनले दर्शन गर्छन्। राजा रणबहादुर शाहले चार हजार एक दाम यस भैरवको विशाल अनुहार बनाउन लगाएका थिए। करिब १५ फिटको यस भैरवको विशाल अनुहारको दर्शन गरेमा कुनै पनि किसिमका ठूला रोगले नसताउने जनविश्वास छ।

द्वादशी अर्थात इन्द्रजात्राको शुरुवातसंगै श्वेत भैरवको दर्शन गर्न खुल्ला गरिन्छ। इन्द्रजात्राको समय देगुः तलेजुको तल अवस्थित स्वेत भैरवको मुखबाट आउने जाँड, रक्सी प्रसाद स्वरुप बाँडिन्छ। प्रसाद ग्रहण गर्न युवाहरुको तछाडमछाड नै हुने गर्छ। २०७० सालदेखि महिलाहरुका लागि पनि उक्त प्रसाद ग्रहण गर्न एक दिन छुट्याइएको छ। यसलाई ‘हाथुह्याक्यु’ पनि भनिन्छ।

श्वेत भैरवको असली नाम ‘सरभ मुख’

श्वेत भैरवका अलावा उपत्यकामा काल भैरव, इन्द्रचोकमा रहेको आकाश भैरव, पशुपतिमा रहेको उन्मन्त भैरव, पाटनको बटुक भैरव, बुङ्गमतिको हेग्रीव भैरव, लेलेको टिका भैरव, किर्तिपुरको बाघ भैरव, ओटुको बाका द्यः भैरवकै स्वरुप हुन्। 

श्वेत भैरव रणबहादुर शाहले १८५२ भाद्रमा स्थापना गरेकाले यो येंयाः अर्थात इन्द्रजात्राको हिस्सा भएको हो। होइन भने पहिलेदेखि नै प्रचलनमा रहेको इनत्रजात्रामा श्वेत भैरवको विशेष पूजा हुँदैन थियो। 

रणबहादुर शाहले उपत्यकाका देवीदेवतामा शक्ति भए नभएको प्रमाणित गर्न सबै मूर्तिलाई फुटाएर हेरेका थिए। श्वेत भैरवको सेतो मूर्ति फुटाउँदा उनी ठाउँको ठाउँ मै छटपटाएर मुर्छा परे। उक्त घटनाले राजा रणबहादुरमा देवीदेवतामा शक्ति हुन्छ भन्ने विश्वास पलाएको थियो। श्वेत भैरवमा दैविक शक्ति भएको थाहा पाएर पछि शान्ति पूजा गरेर उनले श्वेत भैरवको स्थापना गराउन लगाएका हुन्।

संस्कृतिविद्‍ डा. त्रिरत्न मानन्धरका अनुसार श्वेत भैरवको असली नाम ‘सरभ मुख’ हो। ‘सरभ ह जनावर हो,’ डा. त्रिरत्न भन्छन्, ‘कुनै समय यो हिंस्रक जनावर सिंहभन्दा पनि शक्तिशाली भएको मानिन्छ।’ सरभको उल्लेख भारतीय राजा हर्षवर्धनको जीवनी लेखेका वाण नामक कविले आफ्ना लेखहरुमा  गरेका छन्।

सेतो ढुङ्गाबाट बनेकाले यसको नाम श्वेत भैरव राखिए पनि यस भैरवलाई महादेवको अंश मानिन्छ। श्वेत भैरवको विशाल अनुहार हनुमानढोकामा भए पनि पूर्ण शरीर टेकुको पचली मन्दिर परिसरमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.