विकास पछि पर्नुका कारण पनि खोज्ने कि ?
जुन कुरा योजनाअनुसार हुन्छ त्यही नै विकासको परिणाम हो। विकासमा क्रान्ति ल्याउँछौं भन्नुको अर्थ हो- जबर्जस्ती जुनसुकै उपाय गरेर भए पनि चाहेअनुसारको परिणाम हात पार्छौं। आज नेपालमा सोचेजति विकास नहुनु, सोचेजति मानवता र इमानदारी कायम नहुनु अनि दुईतिहाइ सरकारबाट अपेक्षित विश्वास पूरा नभएको ठान्नुको कारण हो- विकासमा नेपाल अझै पछि परेको छ। त्यसो त, विगतलाई हेर्दा हरेक क्षेत्रमा विकास भएको छ, तर त्यसलाई जनता स्वीकार गर्न तयार छैनन्।
किनकि अहिले बनेको नयाँ संरचना र सरकारले तीव्र गतिमा, नयाँ आयाममा विकासका मोडेलहरूलाई अगाडि सार्नुपर्छ भन्ने जनअपेक्षा हो। आज विश्वमा विकसित कहलिएका जापान, सिंगापुर, चीनलगायतका राष्ट्रहरूले पनि २०-३० वर्षको अन्तरालमा राष्ट्रको विकासमा कायापलट गरेका थिए। हामी विदेश घुम्ने मात्र कि त्यहाँको विकासका मोडेलहरूलाई पनि अनुकरण गर्ने ? भन्ने जनप्रश्न स्वाभाविक हो। भित्री संकल्प र निःस्वार्थ भावबाट राष्ट्रको विकासमा ध्यान नदिने हो भने जनताले चाहेको शासन व्यवस्थाले मात्र हुँदो रहेनछ। नेतृत्व वर्गको कलाकौशलता र दूरदर्शिता आवश्यक रहेछ भन्ने तथ्य अहिले जनमानसले मनन गरेका
छन्। विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि अपेक्षित विकास भएन, यो त समस्या उप्काउने कारण मात्र हो। समाधानकै लागि त विकास किन अपेक्षित भएन भनेर कारण खोज्ने हो कि ?
स्वार्थी भावना ः हिजो सर्वहारा भनेर चिनिने हाम्रा नेतृत्व वर्ग र आज उनीहरूको हैसियत हेर्दा लाग्छ, विकास नभएको होइन, व्यक्तिगत विकास सबैको भएको छ। हिजो समानता र राष्ट्र हितमा भाषण दिई जनमत प्राप्त गरेर नेतृत्व तहमा पुगिसकेपछि राष्ट्रको विकासमा बढी ध्यान गएको छ कि आफ्नै स्वार्थमा सबैले देखेको, भोगेको र महसुस गरेको पक्ष हो। धनी र गरिब, हुने र नहुनेको खाडल नजानिँदो तरिकाले बढ्न थालेको छ। सार्वजनिक सम्पत्तिको संरक्षणमा होस् या कार्यपालिका, न्यायपालिका, सञ्चार क्षेत्र सबैतिर आफ्नो स्वार्थ कसरी पूरा हुन्छ, त्यसअनुरूप कार्यहरू हुने र आफ्नो अनुकूल निर्णय हुने गरेका छन्।
आफ्नो संस्कृति, प्रेम, आत्मीयता र आफूभित्रको खोज नहुनु पनि विकासमा पछि पर्नुको कारण हो।
यसबाट थाहा लाग्छ किव्यक्तिगत आर्थिक विकासभन्दा आत्मिक विकास भएको भए स्वार्थपूर्ण मनस्थिति हावी हुने थिएन कि ? लोभलालच, व्यक्तिगत महत्वाकांक्षा मात्र जीवन जिउने तरिका होइन।
म नै सबैभन्दा अगाडि पुगूँ र अरूलाई उछिन्न सकूँ भन्ने स्वार्थपूर्ण स्वभावले बाहिर देख्दा सम्पन्न देखिए पनि आन्तरिक रूपमा सन्तोषपूर्ण जीवन बाँच्न सक्दैन। जीवनका विधायक पक्ष के हुन् र म मेरो कर्तव्य निर्वाहमा कसरी उत्तीर्ण हुन्छु भन्ने बोध आउन सकेको भए जनता पछि पर्ने र तिनै जनताका मत पाएका नेतृत्व वर्ग व्यक्तिगतरूपमा सम्पन्न हुने यथार्थलाई जनताले कतिसम्म र कहिलेसम्म सहन गर्न सक्छन् त्यो सोचनीय पक्ष छ। व्यक्तिगत रूपमा सम्पन्न हुँदै गएपछि पनि आर्थिक, सामाजिक र राजनीतिक धरातल कस्तो थियो र कता जाँदै छौं , थाहा पाउनु जरुरी छ। चेतनाको स्तरबाट म कुन स्तरमा छु र राष्ट्रको विकासको चरण कुन स्तरमा छ र विकासका अवरोध के हुन् त ? नेतृत्व वर्गले मनन गर्नुपर्ने समय आएको छ।
आफ्नो असाधारणताको पहिचान गर्न नसक्नु ः राष्ट्र पछि पर्नुको कारण हो- जसले नेतृत्वको जिम्मा पाएको छ उसले आफ्नो असाधारणतालाई चिन्न नसक्नु र अरू जसरी चलेका छन् त्यसरी नै चल्नु। सत्तामा पुगेपछि अरूले कमाए, मैले किन नकमाउनु ? सबैले त व्यक्तिगत सम्पन्नता र आफ्नै स्वार्थमा लागेका छन् म मात्र किन इमानदार बनूँ ? प्रत्येक व्यक्तिलाई अस्तित्वले असाधारण खुबी दिएको छ।
कोही कसैसँग तुलना गरेर यो नै हुनुपर्छ र यति नै हुनुपर्छ भन्ने छैन तर किन व्यक्तिले आफ्नो असाधारणता र स्वभावलाई जनहितमा र राष्ट्र विकासमा लगाउन सकेको छैन ? दुईचार जना मात्र व्यक्तिले आफ्नो क्षमतालाई खुलेर प्रस्तुत गर्ने खुबी राख्ने हो भने राष्ट्रमा छोटो समयमै कायापलट परिवर्तन आउनेछ। नेतृत्व तहमा जो आउँछ ऊ आफैं मात्र सम्पन्न भएर आफ्नो कार्यकाल समाप्त गर्छ। यही अभ्यासले निरन्तरता पाइरहनु नै राष्ट्र विकासमा पछि परेको हो।
नेतृत्व तहमा रहनेले ‘म आफैं जस्तो बनूँ’ भन्ने विवेकको अभाव नै राष्ट्र विकासमा ढिलाइ भइरहेछ। बुद्ध, राम, शिवको भूमि हो नेपाल। यी आदर्श पुरुष अर्थात् सन्तत्वको कारण आज पनि देशले नाम राखेको छ। यी सन्तत्वहरूले कसैको नक्कल गरेनन्, आफ्नै स्वभावको र आफ्नै स्वधर्ममा जीवन बाँचे। यही स्वभावले गर्दा जनतालाई समेत अहिंसा र कल्याणकारितामा जिउने कला सिकाए। हामीले यस्ता सकारात्मक ऊर्जालाई आफ्नो जीवनमा किन नअपनाउने ? किन पश्चात्तापको जीवन बाँच्ने ? किन आफ्नो असाधारण प्रतिभालाई अरूको हितमा नलगाउने ? सोचनीय र मननीय छ।
सजगताको कमी ः विकासका लागि योजना बनाउनु तर योजनाअनुरूप काम नहुनु विकासमा पछि पर्नुको कारण हो र यसको कारण सजगताको कमी हो। योजना बन्यो तर कार्यान्वयन कहाँ पुगेको छ खोजी नहुनुको कारण हो सजग नुहुनु, होसपूर्ण नहुनु। बुद्धले स्मृति, जागरुकता, स्मरणका सूत्रहरू सिकाएर जानुभयो तर हामीले यसलाई प्रयोगमा ल्याउने कोसिस नै गरेका छैनौं भन्दा अनुपयुक्त हुँदैन। जसमा विवेक छैन, याद छैन, होस छैन, उल्झन छ, ऊ नेतृत्व तहमा छ भने कसरी राष्ट्रको विकास होला। विकासका लागि त सद्भावना, करुणा र संवेदना आवश्यक पर्छ। सजगताबिना यी गुणहरूको विकास हुन सक्दैन। सकारात्मक
भावदशालाई स्मरण बनाइराख्ने र भीड कता जाँदै छ होइन म कता जाँदै छु, मेरो मार्ग सही छ कि छैन भन्ने बोधको विकास हुन सके मात्र त्यस्ता व्यक्तिको नेतृत्वले राष्ट्रमा विकास सम्भव हुन्छ।
योजना, नीति र संरचनाको आपसमा समन्वय नमिल्नु ः विकासका लागि योजना बन्छन् र पनि योजना, नीति, संरचना र वितरणमा आपसमा समन्वय नभएको पाइन्छ। सरकारी स्तरदेखि निजी क्षेत्रका लगानीकर्ताहरू र व्यवसायमा पुँजीगत लगानीको वास्तविक लेखाजोखा गरेर लगानी गर्ने गरिएको छ या छैन ? लगानी, वस्तु, सेवा, उत्पादन र आर्थिक विकासको मापदण्ड र दायरा कसरी फराकिलो बनाउने जस्ता विषयलाई समेट्न सकिएन भने विकास पछि पर्छ।
अर्को तथ्य, विकास भनेको आर्थिक विकासको प्रसंग र भौतिक सुख मात्र नभएर प्रेम, शान्ति र आत्मीयता पनि मानिसका आवश्यकता हुन् भन्ने बुझ्ने मनोविज्ञानको कमी पनि एउटा कारण हो। किनकि जबसम्म व्यक्तिले आफूभित्रका समस्याबाट मुक्ति पाउँदैन तबसम्म आर्थिक सम्पन्नताले भित्रको समृद्धि प्राप्त हुँदैन। आफ्नो संस्कृति, प्रेम, आत्मीयता र आफूभित्रको खोज नहुनु पनि विकासमा पछि पर्नुको कारण हो। हामी बाहिरको धुवाँधुलो र प्रदूषणले मात्र आक्रान्त छैनौं। आफ्नो मनभित्रको धुलो, विचारको प्रदूषण र सोचाइको गरिबी त्यति नै विकराल भएर बसेका छन्।
भित्रको विकास नभईकन बाहिरको विकास, स्वास्थ्य र सफासुग्घर चाहिन्छ भन्ने हेक्का आउँदैन। आर्थिक असमानता र पहुँचको प्रभावले असमानता सृजना गरेको छ। कर्मप्रतिको लगनशीलता, कर्तव्यपरायणता, इमानदारी र अनुशासनको अभाव नै पिछडिनुका कारण हुन्। स्वभाव, प्रभाव र अभाव आफैंद्वारा सृजित कुरा हुन्। जीवनका सबै आयामलाई सन्तुलन राख्ने कला वास्तविक विकास हो। नेतृत्व वर्गले यसलाई आत्मसात नगर्दासम्म विकासको अनुभूति सम्भव छैन।
प्रतिक्रिया दिनुहोस !