बागलुङमा पानीको सकस : मुहान र कुवा चहार्दै स्थानीय

बागलुङमा पानीको सकस : मुहान र कुवा चहार्दै स्थानीय

बागलुङ : बागलुङ बजारमा खानेपानीको समस्या चरम बनेको छ । पछिल्लो दुई साता यता बजारमा नियमित खानेपानी आपूर्ति नभएपछि बजारबासी प्रभावित भएका छन्। स्थानीय हजारौं उपभोक्ता अहिले पानी नआउने र आए पनि धमिलो दूषित पानी आउने समस्याबाट आजित बनेको बागलुङ नगरपालिका ३ की लक्ष्मी केसीले बताइन् ।  

समस्या टार्न बजारबासी आसपासका पाखाथर, कुडुले, तित्याङको फड्केडाँडालगायतका मुहान र कुवामा पुग्ने गरेका छन् । बागलुङ सदरमुकाममा दैनिक करिब ३२ लाख लिटर खानेपानी आवश्यक पर्ने भए पनि आवश्यकताको आधा मात्र पानीको आपुर्ति हुँदै आएको छ ।

त्यही आधा आपूर्ति पनि पहिरोले पाइप बगाएपछि प्रयाप्त वितरण गर्न नसकिएको खानेपानी वितरणको जिम्मा लिएको बागलुङ नगर खोनेपानी उपभोक्ता संस्थाले जनाएको छ । 'नियमितरुपमा पानी नआउने समस्या बढेको छ, आइहालेमा पनि धमिलो आउँछ,' बागलुङ नगरपालिका-२ जिपपार्कका निता श्रीसले भनिन्, 'सात दिनयता धारामा पानी छैन, शौचालय, भाडाकुँडा धुन पनि समस्या छ । जारको पानी खरिद गरेर कति समय चल्ने हो ?'

यस बीचमा आउने धमिलो पानीले भाडाँकुडा धुन, सरसफाई गर्न समेत समस्या भएको उनको गुनासो छ। तर पानी धमिलो आउने गरेको गुनासोमा अहिले शुद्धिकरण गरेर वितरण गर्ने अवस्था नरहेको संस्थाको भनाई छ । 

बर्खाको समयमा पहिरो जाँदा खानेपानी वितरण पाइप फुट्ने कारण नियमित खानेपानी आपूर्ति गर्न नसकिएको नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रवन्धक हिमाल शर्माले बताए । ‘

हामीले रातदिन काम गरेर खानेपानीको सहज आपूर्ति गर्ने प्रयास गरिरहेका छौं,' प्रबन्धक शर्माले भने, 'पानीको नियमित आपूर्ति नहुँदासम्म पानी प्रशोधन गृह सञ्चालन गर्न सकिदैन।' वर्षातको समयमा धारामा धमिलो पानी आउनु अहिलेको समस्या नभई वर्षौदेखिको समस्या हो।

सम्भवतः एक वर्षपछि मात्र नगरवासीलाई शुद्ध पानी वितरण गर्न प्रवन्धक शर्माको भनाई छ । साना प्रशोधन गृहले पानी शुद्धिकरण गर्न नसकेका कारण ठूलो प्रशोधन गृह निर्माण गरिरहेको खानेपानी संस्थाले जनाएको छ । 

हाल डिभिजन खानेपानी कार्यालय र बागलुङ नगर खानेपानी संस्थाको ४५ करोड रुपैयाँको लागतमा काठेखोलाको पानी लिफ्टमार्फत प्रशोधन गरी वितरण गर्ने आयोजना निर्माणको काम भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले बताए । 'बागलुङमा लामो समयदेखि पानीको चरम समस्या भएको हामीलाई बोध छ । त्यसैले दीर्घकालिन समाधानका लागि ठूलो आयोजना निर्माण गर्न लागेका हौं, नगर प्रमुख पौडेलले भने, ' उपभोक्ता मारमा परेपछि लिफ्ट योजना ल्याइएको हो।' 

खानेपानीलाई नियमित पानी वितरण गर्न गत वर्ष उच्च अदालत पोखरा बागलुङ इजलासले समेत नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो । अदालतका मुख्य भई काम गर्ने तत्कालिन न्यायधिश शेषराज सिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले २०७५ भाद्र १८ गते परमादेश जारी गरेको हो ।

अदालतको परमादेशको समेत खानेपानी संस्थाले अवज्ञा गरेको छ । 'खानेपानी संस्थाका नाममा उच्च अदालतले नियमित रुपमा स्वच्छ, सफा पिउन योग्य पानीको व्यवस्था गर्न र पानी नआउँदाको दिनको महुशुल कटाएर तिर्ने व्यवस्था गर्न परमादेश जारी भएको थियो,' उच्च अदालत बागलुङ बारका उपाध्यक्ष बद्रिप्रसाद शर्माले भने, 'अहिले बजारमा खानेपानीको समस्या फेरी चरम देखिएको छ, मैले पनि फोन गरेर ध्यानाकर्षण गराएको छु, नत्र अदालतमा अवज्ञाको मानहानी मुद्वा लिएर जान्छु ।'

अदालतले नगर खानेपानी संस्थासहित डिभिजन खानेपानी कार्यालय र बागलुङ नगरपालिकालाई समेत यथोचित समन्वय र भूमिकाका लागि निर्देशन दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.