दसैंमा चम्किएको असन बजार

दसैंमा चम्किएको असन बजार

काठमाडौं : दसैं नजिकिएसँगै बजारहरूमा किनमेल गर्नेको घुँइचो लाग्छ । सधैं भरिभराउ हुने असन बजार दसैंमा अझै बेफुर्सदिलो बनिदिन्छ। धेरै भीड हुँदा 'असनजस्तो भीड' भन्ने भनाइलाई प्रमाणित गर्दै छ असनले अहिले । 

सम्पूर्ण सामान सहजै किन्न पाइने असनमा मानिहरूको आकर्षण लोभलाग्दो छ । जन्मदेखि मृत्युसत्कारसम्मका आवश्यक सबै सामाग्री असनमा पाइने भएर नै ग्राहक अन्त कतै नगइ असन बजार नै धाउँछन्।

शुस्मिता श्रेष्ठ दसैं सामान किन्न असन बजार पुगेकी छन्। उनको हातमा टन्नै झोलाहरु छन्। उनलाई परिवारका महिला सदस्यका लागि सारी किन्नु छ। धेरैजनालाई उपहार दिनु पर्ने भएकाले उनी होलसेल बजार खोज्दै हिँडेको बताउँछिन्। यसका लागि असन बजार उनलाई उपयुक्त लाग्छ। शुस्मिता भन्छिन्, ‘सस्तोमा राम्रा सारी असन बजारमा हुन्छन्। त्यसैले सबैलाई सारी नै उपहारमा लग्दैछु।’ श्रेष्ठजस्तै थुप्रै महिला ग्राहक आफू र आफ्नो परिवारका लागि सारीकुर्ता किन्न असन बजार पसेका छन्। सामान छानीछानी किन्न उनीहरुलाई भ्याइ नभ्याइ छ। 

दसैं नजिकिएसँगै सारी पसलका साहुजी अजय रौनियार तीन हजारमा बेच्ने गरेको सारी हजार पचासमा बेच्न थालेको बताउँछन्। होलसेलका सामान पाइने ठाउँमा ग्रहकको घुँइचो छ । रौनियार दस वर्षदेखि असनमा व्यापार गर्दै आएका छन्। भारती नागरिक रौनियार असनमा सँधै राम्रो व्यापार हुने बताउँछन्। उनी भन्छन्, ‘व्यापार राम्रो नभएको भए उहिले नै देश फर्किसकेको हुन्थेँ।’

भक्तपुरका दिगम्बर श्रेष्ठ पनि असनको गल्लीमा आफ्नो सानो कुर्ता पसल चलाउँछन्। पछिल्लो समय भारतीय डिजाइनका टप्स्–कुर्ता नेपालमा फेसन बनेपछि उनी लाभान्वित भएका छन्। श्रेष्ठ भन्छन्, ‘शनिबारदेखि दसैंको चहलपहल बढ्दा व्यापार समेत उकालो लागेको छ।’ 

विगतको वर्षभन्दा यो वर्ष हरेक सामानमा व्यापक मूल्य वृद्धि भएको गुनासो उपभोक्ताको भए पनि असनमा अन्य क्षेत्रमा भन्दा सस्तो सामान पाइने लक्ष्मी थापा  बताउँछिन्। बिहेको सामान किन्न असन आएकी लक्ष्मी दसैं सामान समेत असनबाटै जुटाउने गरेको अनुभव सुनाउँछिन्।

असन ढाकाको लत्ता कपडा र पित्तल, तामाका साम्रागीका लागि पनि निकै प्रख्यात छ। तीन पुस्तादेखि ढाकाको टोपी बेच्दै आएका विकास बानिया पछिल्लो समय टोपी लगाउनेको संख्या घटेको बताउँछन्। बानिया भन्छन्, 'आजभोलि टोपी लगाउने घटेका छन्। २०४६ सालपछि घट्ने क्रम जारी छ।’

असन प्राचीन हाट बजार हो। मौलिक बजारको पहिचान पाएको यो क्षेत्रमा पुस्तौँदेखि व्यवसाय गर्नेहरुको बाक्लो अपस्थिति छ। राजु तुलाधरको पनि ६ पुस्ताले असन बजारमा नै पसल थापे। राजुले पसल सम्हाल्न थालेको ३० वर्ष भयो। उनलाई असनको बजार बाह्रै महिना उस्तै लाग्दो रहेछ। ‘पसल सम्हाल्न थालेदेखि असनको चहलपहपमा कुनै परिवर्तन देख्दिनँ,’ उनी भन्छन्, 'दसैं होस् या तिहार मानिसको भीड सदाबाहार रहनु नै असनको विशेषता हो।’

केहि समय अगाडि असनमा सपिङ कम्पेल्कस बनाउने विषयले त्यहाँका स्थानीय व्यापारीलाई त्रसित बनाएको थियो। राजु भन्छन्, ‘असन पुरानो व्यापारिक केन्द्र हो। यो ठाउँको विशेषता र मौलिकतालाई मासेर सपिङ कम्पेल्क बनाउनु गलत हो।’

सवारी समस्या

दसैंलाई राम्रो लगाउने र मिठो खाने चाडको रुपमा लिइन्छ। सधैं भरिभराउ हुने असन बजारमा दसैंमा हिँड्नै नसक्ने भीड हुन्छ । असनमा हुने मानिसको भीडलाई सवारीसाधनले झनै प्रभाव पार्ने गरेको छ।

जुली बज्रचार्य असनमा आफ्नो ससुरा बुबाले थापेको पसल सम्हाल्दै आएकी छन्। १५ वर्षदेखि निरन्तर पसलमा बस्दा उनले पछिल्ला वर्षहरुमा मोटरसाइकलको भीडले बजारलाई अल्मलाएको पाइन्। 

‘पछिल्लो समय असन बजारमा मोटरसाइकको ओहोर दोहोरले समस्या निम्त्याएको छ,’ जुलि भन्छिन्, ‘बाटो अप्ठेरो भएकाले सवारी जामले ग्राहक पनि भड्कन्छन्।’

असन बजारमा मानिसको अत्यधिक भीड लाग्ने हुँदा सवारी साधनमा यात्रा गर्नेले असनको एक गल्लीबाट आर्को गल्लीसम्म पुग्न निकै कसरत गर्नु पर्छ। असनमा पुस्तौंदेखि व्यापार गरेर बस्नेहरु दैनिक सवारी जामबाट दिक्क भएको बताउँछन्। तर असन सेवा समितिका निवर्तमान अध्यक्ष यज्ञरत्न तुलाधरका अनुसार व्यापारीहरुले बाटो ओगटेर सामान राख्दा सडक खुम्चिएको बताउँछन्। निवर्तमान तुलाधर भन्छन्, ‘मोटरसाइकलको आगमनले बजारलाई प्रभावित पारे पनि व्यापारीहरु व्यवस्थित भएर नबस्दा असन बजार साघुँरिएको छ।’ बजार व्यवस्थापन नहुनुमा नगर प्रहरीको सक्रियता नहुनु पनि मुख्य कारण भएको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.