सी भ्रमणमा सरकारले छलफलै गरेन : विज्ञ

सी भ्रमणमा सरकारले छलफलै गरेन : विज्ञ

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणअघि छलफल र परामर्श गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। सीको भ्रमणबारे सरकारले सबै तयारी अघि बढाए पनि राजनीतिक दल वा विज्ञहरूसँग छलफल गरेको छैन।

‘सीको भ्रमण हुने दिन आइपुग्न एक साता बाँकी छ। बीचमा दसैं छ। तर, सरकारले यस विषयमा अन्य सरोकारवालासँग छलफल नै गरेको छैन’, पूर्वराजदूत डा. दिनेश भट्टराईले भने, ‘हामीकहाँ उदेकलाग्दो प्रचलन देखिँदै छ। यो स्तरको भ्रमण हुन लाग्दा सबैसँग छलफल आवश्यक हुन्छ।’ उत्तरी छिमेकबाट २३ वर्षपछि राष्ट्रपतिको भ्रमण हुन लागेकाले बहस आवश्यक रहेको उनको भनाइ छ। राष्ट्रपति सी आगामी असोज २५ गते आउने तय भएको छ।

सीको भ्रमणलाई परियोजनासँग मात्र दाँज्न नहुने सुझाव विज्ञहरूको छ। राष्ट्रपति सीको भ्रमणलाई नेकपाका नेताकार्यकर्ताले दलगत स्वार्थ पूरा गर्न प्रयोग हुन खोजेमा यसले मुलुकलाई नोक्सान गर्ने धारणा उनीहरूको छ। भट्टराईले राष्ट्रपति सी भ्रमणका अवसरमा सुरक्षा सतर्कतामा जोड दिँदै तिब्बती र हङकङका नागरिकबाट काठमाडौंमा हुन सक्ने प्रदर्शनमा सचेत हुनुपर्ने सुझाव दिए।

औपचारिक रूपमा नेपाल र चीन दुवैले भ्रमण तिथि सार्वजनिक गरेका छैनन्। उनी एक रात नेपालमा बिताउने निश्चित भएको छ। राष्ट्रपति सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चेन्नाई (चेन्नाईबाट ६५ किलाेमिटर पर माेमल्लापुरम) मा उहान–२ वार्तापछि काठमाडौं आउने कार्यक्रम छ। सी र मोदीबीच असोज २४ र २५ बिहान वार्ता हुनेछ।

सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेपछि चिनियाँ पक्षबाट राष्ट्रपति स्तरको भ्रमण भएको छैन। चीनप्रति नेपालीमा कुनै नकारात्मक धारणा नभएको अवस्थामा उनको भ्रमणलाई सर्वसाधारणले पनि चासो देखाएकाले यसमा सरकारको ध्यान पुग्नुपर्ने धारणा भट्टराईको छ।

सरकारी अधिकारी चीनले पूर्वपश्चिम रेलमार्गमा सहयोग घोषणा गर्न सक्ने विश्वासमा छन्। सरकारले पूर्वपश्चिम रेलका लागि चिनियाँ एक्जिम बैंकसँग ऋणको अपेक्षा गरेको छ। यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल जारी राखेको छ। यस्तै चिनियाँ पक्षसँग नेपालले केरुङ–काठमाडौं रेलका विषयमा विस्तृत परियोजना प्रतिवेदन तयारीमा जोड दिनेछ।

प्राध्यापक श्रीधर खत्रीले पहिलेको चीन र अहिलेको चीनमा धेरै फरक देखिएकाले सीको भ्रमणमा विशेष ध्यान दिनुपर्ने बताए। ‘हामीले चीन बुझ्न ढिलाइ गर्न हुँदैन,’ उनले भने, ‘माओ र देङको पालाको चीन र अहिलेको चीनमा धेरै फरक छ।’

विज्ञहरूका अनुसार राष्ट्रपति सीको भ्रमण नेपाल–चीन सद्भाव माथि उठाउने एउट कदम पनि हो। ‘भ्रमणमा सहयोगका ठोस निर्णय हुन सक्ने अपेक्षा आमजनताको छ। त्यसमा कमी देखियो र विदेशमन्त्री वाङ यीको भ्रमणमा जस्तै सहमति र सम्झौता भए विश्वासका आधार टुट्नेछ,’ भट्टराईले भने, ‘भ्रमणका अवसरमा रेल, सडक, सुरुङमार्ग, जलविद्युत् निर्माण र प्रसारणलगायत पूर्वाधारका केही योजनामा सहमति वा ठूलो घोषणा हुने अपेक्षा आमजनताको छ।’

नेपाली राजनीतिकर्मी र अर्थशास्त्रीले भ्रमण सफलताको मापन परियोजना सम्झौताका आधारमै गरेकाले सोही आधारमा छलफल भइरहेको पूर्वप्रधानमन्त्री झलनाथ खनालका परराष्ट्र मामिला सल्लाहकार रहिसकेका नेकपाका नेता मिलन तुलाधरले बताए। उनले भने, ‘सरकारले प्रतिपक्ष र विज्ञहरूसँग पक्कै छलफल गर्नेछ। कतिपय भित्रभित्र छलफल भइरहेको पनि हुन्छ। चिनियाँ मोडल फरक भएकाले बाहिर नल्याएका होलान्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.