दुर्गा शक्तिको आह्वान देवत्वको जागरण

दुर्गा शक्तिको आह्वान देवत्वको जागरण

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्।।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।

नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।।

दुर्गा शक्तिको आह्वानले जस्तोसुकै संकट र प्रतिकूल परिस्थितिहरू पनि सहज हुन्छन् र मानव जातिका लागि कल्याणको मार्ग खुल्छ भन्ने सनातन विश्वास रहिआएको छ। सनातन निरन्तर चलिरहेको, चलिरहने विश्वास हो। प्रयोग र विज्ञानले विश्वस्त पार्न नसकेका कतिपय धारणा, मान्यता र सत्यतालाई मानव विश्वासले युगौंसम्म टिकाएर राखेको हुन्छ। नेपालीको महान् चाड दसैंमा विशेषगरी दुर्गा शक्तिको आह्वान र उपासना गरिन्छ। नौ दिनसम्म नवदुर्गाको आराधना र उपासनापश्चात् दशौं दिन देवीको प्रसाद र आशीर्वादस्वरूप टीका र जमरा ग्रहण गरिन्छ। नकारात्मक शक्तिहरूलाई परास्त गरेर सकारात्मक ऊर्जा प्राप्त गर्ने अवसरका रूपमा पनि यो पर्वले महत्त्व राख्छ। तर सांकेतिक रूपमा देखिएको, जानिएको र बुझिएको दुर्गा शक्ति, देवीको तस्बिर, हातहरूमा हतियार अनि असुरलाई पैतालामुनि पारिएको जुन दृश्य तस्बिरमा देखाइएको हुन्छ, त्यसलाई सीधै अर्थ लगाएर देवीले असुरहरूको हिंसा गरेको कुरा मात्र बुझ्यौं भने हाम्रो ज्ञान अपूर्ण हुन जान्छ।

देवी, दुर्गा अर्थात् नारी शक्ति जसरी उल्लेख गरे पनि यी शक्तिले कुनै प्राणीको हिंसा गरेको नभईकन व्यक्तिभित्र रहेको काम, क्रोध, लोभ, मोह, ईष्र्यारूपी असुर अर्थात् नकारात्मक शक्तिलाई परास्त गर्ने संकेत गरेको तथ्य बुझ्नुपर्छ। मानिसभित्रको कमजोरीपना, दुव्र्यवहार, घृणालगायतका नकारात्मक शक्तिलाई सिँचित गरेर राखिएका विकारहरू परास्त गर्न दुर्गा शक्ति अर्थात् देवत्व शक्तिको जरुरत छ भनेर सन्देश दिन खोजिएको हो। दुर्गा शक्तिको आह्वान नवदुर्गाको मन्दिर गएर फूलअक्षता चढाउनु र निराहार बस्नु मात्र अवश्य होइन। प्रत्येक व्यक्तिभित्र रहेको देवत्व जागृत गराउनु पनि हो। व्यक्तिको जीवनमा अराजकता, अन्योल, कमजोरीपना, भय, नैराश्य जागृत भएका कारण प्रायजसो अस्थिरता र असन्तोषमा जीवन गुज्रिरहेको भेटिन्छ। प्रत्येक व्यक्तिभित्र असुरको गुण मात्र छिपेको छैन, देवत्वको स्वभाव पनि लुकेर बसेको छ भन्ने कुरा जागृत गराउनका लागि देवीहरूको, दुर्गा शक्तिको महिमालाई परम्परादेखि महत्त्वका साथ हेरिँदै आइएको हुनुपर्छ।

नवदुर्गाभरि दुर्गा शक्तिको आह्वान मात्र होइन, हामीभित्र रहेको दैवीय शक्तिलाई उजागर गर्ने प्रयास गरौं।

देवत्व र असुरको प्रतीकात्मक संकेतको अर्थ हो कि प्रत्येक व्यक्तिभित्र देवत्व र असुर दुवै गुण समाहित छन्। हाम्रा व्यवहार र मनस्थितिले पनि यो देखाउँछ। तर महŒवपूर्ण पक्ष भने हामी कुन स्वभाव लिएर बाँच्ने, व्यवहार गर्ने र जीवनलाई कसरी धन्य बनाउने आफैंमा भर पर्छ। दुवै गुण एकैपटक प्रकट हुन सक्दैनन्। अर्थात् मानिस एकैपटकमा असुर र देवता बन्न सक्दैन। देवत्व, सत्यता, इमानदारीले भरिपूर्ण व्यक्ति असुर बनेर अरूलाई धोका दिन सक्दैन। म को हुँ र मभित्र कस्तो गुण छिपेको छ, त्यसको पहिचान गर्नु जरुरी छ। देवीलाई आह्वान गर्न बाहिर मन्दिर, मूर्ति, तस्बिरमा फूल, अक्षता चढाएर पुग्दैन। आत्मादेखि आह्वान गर्नुपर्छ।

व्यक्तिभित्र नै छिपेको छ– राक्षसी र दैवीय गुण। प्रेम, श्रद्धा, स्नेह, कल्याणकारी पनि व्यक्तिभित्रै छ र घृणा, द्वेष, असन्तोष, लोभ, मोह पनि व्यक्तिभित्रै छिपेको छ। तिनै असुररूपी स्वभावलाई पैतालामुनि पारेर प्रेमरूपी स्वभाव जागृत गर्नु दुर्गा शक्तिको आह्वान गर्नु हो। ‘अहिंसा परमो धर्म’ भनेर सारा प्राणीको रक्षा गर्ने देवीले कुनै प्राणीको हत्या, हिंसा गर्ने संकेत पक्कै दिएकी हुन्नन्। ‘तिमीहरूभित्र रहेको असुररूपी तत्व परास्त गर’ यही नै देवी शक्तिको प्रेरणा र सन्देश हो। देवीको अष्ट हातमा भएका हतियारले दिन खोजेको सन्देश पनि ज्ञानरूपी हतियारले व्यक्तिभित्र भएका विकाररूपी तत्व परास्त गर्नु र आत्मावान् भएर बाँच्न सिकाउनु हो। अष्ट हातमा भएका हतियार र शक्तिको अर्थ हो– ममा प्रेम, जागरण, कल्याणकारी, सहयोग, ज्ञान, प्रज्ञा, ध्यान र धैर्यरूपी हतियार छन् र तिनलाई प्रयोग गरेर जीवन सार्थक बनाउँछु।

नवदुर्गाभरि मन्दिर जानु, उपासना गर्नु र मीठामीठा परिकार बनाएर परिवारजनलाई खुवाउनुमा मात्र सीमित गर्‍यौं भने त्यो कर्मकाण्ड बन्छ। संकल्प गरौं– नवदुर्गाभरि म सबैसँग मीठो बोल्छु, कसैलाई हिंसा हुने कार्य गर्दिनँ, कसैप्रति घृणा गर्ने छैन। कसैका बारेमा गलत र नकारात्मक सोच्ने छैन। स्वयंमा आनन्दित र प्रफुल्लित रहनेछु। प्रेम बाँड्नेछु। परोपकारका कार्य गर्नेछु। ध्यान साधनामा डुब्ने छु। योभन्दा उपयुक्त उपासना र उत्सवको आयाम अरू के होला ? व्रत, उपासना र पूजाको अर्थ हो– म भित्रैबाट शान्त, सरल, धैर्यवान्, प्रज्ञावान्, इमानदार बन्ने छु। नकारात्मक चिन्तन गर्ने छैन, हानिकारक भोजन गर्ने छैन।

व्रत लिनुलाई मात्र महŒव दिएर होइन, व्रतबाट ग्रहण गर्न खोजेको कुरा के हो, त्यसलाई पनि ख्याल गर्नु वास्तविक चिन्तन हो। यसले नै आत्माको शक्तिलाई पनि वृद्धि गर्छ। आफ्नो इच्छाशक्ति वृद्धि गर्छ र सकारात्मक ऊर्जा प्रवाह हुन थाल्छ। नौ दिनसम्म सात्विकतालाई ध्यान दिन सकियो भने कति उत्तम होला ? प्रसाद के हो ? जुन चीज सात्विक छ, कल्याणकारी छ, सर्वहितकारी छ, त्यही नै प्रसाद हो। अरूलाई देखाउनका लागि होइन, आफ्नो स्वास्थ्यका लागि, आफ्नो संकल्प र प्रतिज्ञा शक्ति बढाउनका लागि व्रत र उपासना गर्‍यौं भने सार्थक हुनेछ। नवदुर्गाभरि प्रज्ज्वलित गरिने दियो अर्थात् प्रकाश केवल कपासको बत्ती र तेलको मि श्रणबाट निस्केको उज्यालो मात्र अवश्य होइन। कर्मकाण्डका लागि जलाइने दियो मात्र होइन। हाम्रो प्रेम, सद्भाव, मित्रता, समझदारी र मानवताको प्रकाश बनेर फैलियोस्।

आफूभित्रको अन्धकारलाई ज्ञान, ध्यान र प्रज्ञारूपी दियोले परास्त गर्न सकोस्। हामीले दिने शुभकामना शब्दमा मात्र होइन, भावबाट प्रकट हुन सकून् र व्यवहारमा लागू हुन पनि सकून्। जागरण, सात्विकता, प्रेम र प्रकाश भएपछि कुनै पनि सम्बन्ध सुमधुर र दीर्घकालीन हुनेछन्। यही नै जीवनको सार्थकता र पर्वको उत्सवमय औचित्य बन्नेछ। आपसमा विश्वास, समझदारी, प्रेम कायम रहन सकेको खण्डमा मात्र जीवन जिउने शैलीमा सकारात्मकता आउनेछ र यही नै दैवीय गुण हो। त्यसैले नवदुर्गाभरि दुर्गा शक्तिको आह्वान मात्र होइन, हामीभित्र रहेको दैवीय शक्तिलाई उजागर गर्ने प्रयास गरौं। दुर्गा माताले कस्तो सन्देश दिन खोज्नुभएको छ, त्यसलाई ख्याल गरौं। आफूभित्रको सम्पदा, समृद्धि र आफ्नो आत्माको पहिचान गरौं अनि जीवनलाई नै उत्सवमय बनाऔं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.