किरणको उत्कृष्‍ट प्रदर्शनले धेरै गोल खानबाट जोगियो नेपाल

किरणको उत्कृष्‍ट प्रदर्शनले धेरै गोल खानबाट जोगियो नेपाल

क्यानबेरा (अस्ट्रेलिया) : विश्वकप छनोट फुटबलको बिहीबार खेलिएको खेलमा घरेलु टोली अस्ट्रेलियाले नेपाललाई ५—० गोलको फराकिलो अन्तरले हराएको छ। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित जियो रंगशालामा खेलिएको एकपक्षीय खेलमा प्रारम्भदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राखेको थियो।

घरेलु टोलीका प्रशिक्षक ग्राहम आर्नोल्डले अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा भने झैं खेलको सुरुदेखि नै अस्ट्रेलियाले नेपालविरुद्ध आक्रामक रणनीति अंगालेको थियो। आफ्नो पहिलो छनोट खेलमा नेपाली टोलीविरुद्ध कुवेतले ७ गोल गरेकाले पनि अस्ट्रेलिया अझ बढी गोल गर्न आतुर देखिन्थ्यो।

अस्ट्रेलियाका लागि छैटौं मिनेटमै जेमी म्याकलरेनले पहिलो गोल गरे। त्यसअघि खेलको पहिलो मिनेटमा रञ्जित धिमालले दिएको ब्याक पासलाई गोलरक्षक किरन चेम्जोङले क्लियर गर्न खोज्दा बल रिबाउन्ड भई नेपाली टोली गोल खानबाट जोगिएको थियो। पाँचौं मिनेटमा पनि अस्ट्रेलियन खेलाडीको प्रहारलाई नेपाली टोलीका गोलरक्षक किरनले उत्कृष्ट बचाउ गरेका थिए।

नेपाली टोलीका स्विडिस प्रशिक्षक योहान कालिनले सुरुमा दुई प्रभावशाली खेलाडी नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई मैदानमा ओरालेका थिएनन्। अस्ट्रेलियाले दोस्रो गोल १९औं मिनेटमा गर्‍यो। दोस्रो गोल पनि जेमी म्याकलरेनले नै गरे। अजिज बेचिचको हेड पासमा म्याकलरेनले हेड गोल गरेका हुन्।

अस्ट्रेलियाका लागि तेस्रो गोल २४ औं मिनेटमा ह्यारी सटरले गरे। उनले क्रेग गुडविनको कर्नर पासमा गोल गरेका थिए। नेपालले अस्ट्रेलियाजस्तो प्रभावशाली टोलीविरुद्ध पनि सुरुदेखि नै रक्षात्मक नभई आक्रामक नीति अपनाएको थियो। जसका कारण नेपालले प्रारम्भदेखि नै एकपछि अर्को गोल ब्यहोर्नु पर्‍यो।

पहिलो हाफमा अस्ट्रेलियाले ३—० को अग्रता लियो। खेलको ५८औं मिनेटमा अस्ट्रेलियाले चौंथो गोल थप्यो। अस्ट्रेलियन खेलाडी ह्यारी सटरले हेड गरेको बल बचाउन खोज्दा नेपाली डिफेन्डर दिनेश राजवंशीसँग ठोक्किएर गोल हुन पुग्यो। ६५ औं मिनेटमा नेपाली प्रशिक्षकले अभिषेक रिजाललाई निकालेर विमल घर्तीमगरलाई मैदानमा प्रवेश गराए।

नेपाली प्रशिक्षकले ७९ औं मिनेटमा अञ्जन विष्टलाई निकालेर तेज तामाङलाई मैदानभित्र प्रवेश गराए। नेपाली टोलीका गोलरक्षक किरन चेम्जोङले अस्ट्रेलियन खेलाडीले प्रहार गरेको करिब एक दर्जन उत्कृष्ट प्रहारलाई विफल पारेका थिए। उनी नेपाली टोलीका कप्तान पनि हुन्।

८५ औं मिनेटमा नेपाली प्रशिक्षकले विशाल राईको स्थानमा सन्तोष तामाङलाई मैदानमा प्रवेश गराएका थिए। खेलको ९० औं मिनेटमा नेपालले पाँचौं गोल खायो। अस्ट्रेलियाका जामी म्याकलरेनले नेपाली टोलीका रक्षकहरुलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए।

करिब २५ हजार दर्शक क्षमताको जियो रंगशालामा नेपाल र अस्ट्रेलियाबीचको खेल हेर्न करिब १८ हजार पाँच सय ६३ दर्शक उपस्थित भएका थिए। दर्शक दिर्घामा नेपाली टोलीका समर्थकको बाक्लो उपस्थिति रहेको थियो। खेल हेर्न करिब आठ हजारको संख्यामा नेपाली समर्थक उपस्थित थिए।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि नेपाली टोलीले खेलेको यो तेस्रो छनोट खेल हो। कुवेतसँग उसैको घरेलु मैदानमा खेलिएको पहिलो छनोट खेलमा नेपाल ७—० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। त्यसपछि नेपाली टोलीले दोस्रो छनोट खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २—० गोलले हराएको थियो। उक्त खेलमा दुबै गोल अञ्जन बिष्टले गरेका थिए।

अहिलेसम्म नेपालले गर्‍यो २ गोल

विश्वकप छनोटको तीन खेलमा नेपाली टोलीले १२ गोल खाइसकेको छ भने केबल दुई गोल गर्न सकेको छ। नेपालले तीनवटै छनोट खेल ‘अवे’ मैदानमा खेलेको हो। अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन मिल्ने एकमात्र दशरथ रंगशाला लामो समयदेखि पुनर्निमार्णको अवस्थामा रहेकाले नेपालले हालसम्म घरेलु मैदानमा छनोट खेल खेल्न पाएको छैन।

विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा पनि नेपालभन्दा अस्ट्रेलिया निकै अगाडि छ। अस्ट्रेलिया ४४औं र नेपाल एक सय ६१औं स्थानमा छन्। अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकप खेलिसकेको छ। अस्ट्रेलियाले सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको थियो। त्यसपछि सन् २००६, सन् २०१०, सन् २०१४ र सन् २०१८ मा अस्ट्रेलियाले लगातार विश्वकपमा सहभागिता जनाउँदै आएको छ।

सन् १९७४ र सन् २००६ को विश्वकपमा ओसेनिया क्षेत्रबाट विश्वकपमा छनोट भएको अस्ट्रेलिया त्यसपछि भने एसियाको प्रतिनिधित्व गर्दै विश्वकपमा सहभागी भएको हो। सन् २००६ को विश्वकपमा भने अस्ट्रेलिया अन्तिम १६ सम्म पुगेको थियो। अन्तिम १६ को भिडन्तमा अस्ट्रेलियालाई इटालीले हराएको थियो।

‘सकरुज’ उपनाम पाएको अस्ट्रेलियाले सन् १९६६ देखि विश्वकप छनोट खेल्न थालेको हो। सन् २०१८ को विश्वकपमा अस्ट्रेलिया पहिलो चरणबाटै बाहिरिएको थियो। फ्रान्स, डेनमार्क र पेरुसँगै समूह ‘सी’ मा परेको अस्ट्रेलियाले तीनमध्ये एक खेलमा बराबरी र दुई खेलमा हारको नतिजा निकालेको थियो। पाँच पटक विश्वकप खेले पनि अस्ट्रेलियाले हालसम्म विश्वकपमा जापान र सर्बिया गरी दुई राष्ट्रलाई मात्र हराउन सकेको छ।

जारी विश्वकप छनोटको एसियाली क्षेत्रअन्तर्गत समूह ‘बी’ मा हालसम्म दुई खेल खेलेको अस्ट्रेलिया अपराजित रहँदै ६ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा कुवेतलाई ३—० गोलले हराएको थियो। अस्ट्रेलियाले आफ्नो तेस्रो छनोट खेल भने अक्टोबर १५ तारिखमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी चाइनिज ताइपेईसँग उसैको मैदानमा खेल्नेछ।

यसैगरी दुई खेल खेलेको कुवेत कुवेत तीन अंकसहित तालिकाको दोस्रो स्थानमा झरेको छ। कुवेतले आफ्नो तेस्रो खेल शुक्रबार जोर्डनसँग उसैको मैदानमा खेल्दैछ। एक खेल खेलेको जोर्डन तीन अंकसहित तालिकाको तेस्रो स्थानमा छ। तीन खेल खेलेको नेपाल तीन अंकसहित चौथो स्थानमा आसिन छन्। अघिल्ला दुबै खेलमा हार भोगेको चाइनिज ताइपेई भने तालिकाको पाँचौं स्थानमा छ।

विश्वकप छनोटको आफ्नो चौथो खेल खेल्न अब नेपाल अस्ट्रेलियाबाटै जोर्डन प्रस्थान गर्नेछ। नेपाल र जोर्डनबीचको छनोट खेल अक्टोबर १५ तारिखमा खेलिने छ। अस्ट्रेलियाबाट नेपाल फर्किएर जोर्डन जाँदा हवाई रुट लामो पर्ने भएकाले सिधै जोर्डन जान लागिएको जानकारी नेपाली टोलीका ब्यवस्थापक मधुसुदन उपाध्यायले दिए। ‘अस्ट्रेलियाबाट नेपाल फर्किए जोर्डन जाँदा लामो हवाइ यात्रा गर्नुपर्ने र खेलाडीले पनि आरामको अवसर नपाउने भएकाले सिधै जोर्डन जान लागिएको हो’, उपाध्यायले भने।

असोज १६ गते नै अस्ट्रेलिया आइपुगेको राष्ट्रिय टोलीले सिड्नीस्थित ‘सिड्नी एकेडेमी अफ स्पोर्ट एन्ड रिक्रिएसन’ मा ६ दिन नियमित अभ्यास गरेको थियो। राष्ट्रिय टोलीलाई सिड्नीमा अभ्यासका लागि सम्पूर्ण ब्यवस्था ‘अस्ट्रेलिया—नेपाल फुटबल संघ’ र एनआरएन अस्ट्रेलियाले मिलाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.