अन्तरप्रेरणा जागृतिबाट समृद्धि
हामी आफ्ना जीवन र समाजका हरेक संरचनामा विकास चाहन्छौं। विकास भएन भने जहाँको तहीं रहन्छौं। जहाँको तहीं रहनु त जीवन्तता भएन। विकासको अर्थ हुन्छ– फैलिनु। जुन अवस्थामा छ त्यसबाट विराटतामा प्रवेश गर्नु। व्यक्तिको आत्मिक विकास होस् या राष्ट्रको विकास, त्यसमा प्रेरणाको महत्त्वपूर्ण भूमिका रहन्छ। विना प्रेरणा कोही पनि विराटतातिर अगाडि बढ्न सक्दैन। तर, त्यो प्रेरणा बाह्य हो या आन्तरिक, त्यो भने छुट्ट्याउन सक्नुपर्छ।
सन् २०१९ अक्टोबर १२–१३ नेपालका लागि एउटा एतिहासिक दिन रह्यो। किनकि चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि दुर्लभ अवसर थियो। सन् १९९५ मा भएको जियाङ जेमिनको भ्रमणपछि २३ वर्षको अन्तरालमा भएको सीको भ्रमण नेपालका लागि उपलब्धिमूलक बन्यो। दुई दशकको अन्तरालमा भौतिक पूर्वाधारको विकासमार्फत आर्थिक विकासमा छलाङ मारेको चीनको उदाहरण हेरेर, देखेर र सुनेर बाह्य प्रेरणा हामीमा जागेको थियो। त्यसका आधारमा पनि केही सिक्न सक्छौं कि ?
छिमेकीको नाताले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको विकासको प्रभाव छिमेकी नेपालले प्राप्त गर्नुपर्ने हो। तर, अहिलेसम्म दक्षिण एसियाली मुलुकमध्ये चीनको सहयोग र लगानी नेपालमा कम देखिन्छ। त्यस आधारमा पनि राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध र सहयोग थप सुदृढ होला र नेपालको विकासमा चीनी सहयोग अरू फलदायी होला भन्ने अपेक्षा बढ्नु स्वाभाविक हो। यसले हामीलाई बाह्य रूपमा धेरै प्रेरणा जगाउने आधारहरू बनेका छन्। मानिसले प्रेरणाले नै सिक्छ र सिकाउन सक्छ अनि सिक्न तयार हुनुपर्छ र त्यो व्यवहारमा प्रमाणित गरेर पनि देखाउन सक्नुपर्छ भन्ने सन्देश पनि सी भ्रमणको एउटा पाठ हो भन्ने हामीले बिर्सनु हुँदैन।
त्यसो त, हाम्रो नेतृत्व वर्गले पटकपटक कयौं देशको भ्रमण गरेका छन् र त्यहाँका विकास र त्यसका कारण थाहा पाउने गरेका छौं। र पनि, हामीले लागू गर्न सकेका छैनौं किन ? किनकि हामीमा बाह्य प्रेरणाको असर त पर्यो, गरे हुँदोरहेछ भन्ने थाहा पायौं। तर यसलाई व्यवहारमा उतार्नुपर्छ भन्ने अन्तर्प्रेरणा जागृत भएन। अन्योल, ढिलासुस्ती, निर्णय क्षमतामा अलमल, दिगोपना र दूरदृष्टिको अभाव सबै अन्तर्प्रेरणा जागृत नहुनुका कारण हुन्। बाह्य प्रेरणाले जीवनमा कार्य गर्ने आदेश र सन्देश दिन्छ भने अन्तर्प्रेरणाले आफ्नो भित्रबाट दायित्वबोध गराउँदै मैले गर्नैपर्छ भन्ने संकल्पको विकास गर्छ। मानिस मस्तिष्कबाट मात्र चल्दैन, उसमा हृदय पनि हुन्छ। हृदयदेखि नै मैले घर, परिवार, समाज र राष्ट्रलाई के गर्न सक्छु भन्ने एउटा दायित्व बोध र त्यसलाई व्यावहारिकता दिने काम गर्न सक्छ।
छिमेकी मुलुकहरूको प्रगति र हाम्रो अवस्था हेर्दा हामीसँग स्रोत, साधन र जनशक्ति नभएर होइन, अन्तर्प्रेरणाको अभावले चाहेजति प्रगति गर्न सकेका छैनौं भन्ने बोध हुन जरुरी छ। संस्थागत क्षमता विकास, औद्योगिक, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकासजस्ता दिगो विकास हरेक क्षेत्रमा देख्न चाहने हो भने अन्तर्प्रेरणा जागृत नगरीकन हुँदैन। आत्म श्रद्धावान् बन्नु, आत्मवान् हुनु, विश्वास र लोभरहित अवस्था अन्तर्प्रेरणा जागृत गर्ने माध्यम हुन्। अन्तर्प्रेरणा उब्जेको कर्मको सिद्धान्त र परिणामले व्यक्तिलाई आनन्द पनि मिल्छ। यस्तो व्यक्तिले आँटेको काम पूरा गर्न तल्लीन रहन्छ। घर, परिवार, समाज र राष्ट्रमै आफ्नो असली पहिचान बनाउन सफल हुन्छ।
विकसित देशका उदाहरण हेर्दा केही व्यक्तिको संकल्प र अन्तर्प्रेरणाले छोटो अवधिमा सहजतापूर्वक विकासका काम भएको पाइन्छ। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई ध्यानमा राखेर रातारात सडकका खाल्डाखुल्डी पुरिए, कालोपत्रे गरियो र सडकछेउछाउमा रूख उमारिए, गमलाहरू राखेर फूलहरूले सडक झिलिमिली बनाइए। बाह्य प्रभाव र प्रेरणा नै सही चाहे गर्न सकिँदो रहेछ भन्ने उदाहरण प्रस्तुत भयो। आफ्नै जनताका लागि भने यो सुविधा दिन नसक्ने हैसियत हाम्रो हो कि जनताका लागि यो सुविधा, सरसफाइ अनि आकर्षण आवश्यक छैनन् ? बडो सोचनीय छ।
चिनियाँ राष्ट्रपतिको यो भ्रमण दुई देशबीचको मैत्री सम्बन्ध, सहयोग र अनुदानमा मात्र सीमित छैन, चीनले कसरी आफ्नो देशलाई त्यति समृद्ध बनायो र हामीले सकेका छैनौं भन्ने बोध गराउनु पनि हो। ४० वर्ष अगाडिसम्म चिनियाँहरूको प्रतिव्यक्ति आम्दानी दुई सय डलरभन्दा काम थियो र १८ प्रतिशत मात्र नगर विकास भएको थियो। मात्र ४० वर्षपछाडि फर्केर हेर्दा आज चीन आर्थिक रूपमा विश्वको दोस्रो सम्पन्न मुलुकमा गनिन्छ।
चीनले ६०० मिलियन जनतालाई गरिबीबाट मुक्त गरिसकेको छ भने विश्वको ७० प्रतिशत गरिबी निवारण भएको छ। यसरी अगाडि बढिसक्दा पनि धेरै कुरामा अझै जोखिम र चुनौतीको सामना गर्नुपरेको धारणा छ चिनियाँ नेतृत्वले। तर पनि आफ्ना योजनाहरू अगाडि बढाइरहेका छन्। आर्थिक संरचनाको विकास, अरू नयाँ प्रविधिको खोजी, उत्पादनमा मूल्यशृंखला, वातावरणीय शुद्धता र सुरक्षा अनि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै विकास योजना अगाडि बढाउने लक्ष्य रहेको सी बताउँछन्। उनले अबको तेह्रौं पञ्चवर्षीय योजनामा आर्थिक विकासको पहुँच सबै क्षेत्रमा पुर्याउने र एउटा समृद्ध राष्ट्रको रूपमा स्थापित गर्ने लक्ष्य लिएका छन्। खोजमूलक, सहकार्य, हरित वातावरण र खुला अर्थनीति नै अबको नयाँ विकासको माध्यम र धारणा बनाएका छन्।
भौगोलिक अवस्था, क्षेत्रफल र अरू विविध कारणले नेपाललाई चीनको बराबर तुलना गर्न मिल्दैन। तर ४० वर्षको इतिहास र अहिलेको अवस्थामा आउँदासम्म खासै परिवर्तन नदेखिनु दुःखद् पक्ष हो। सुखद अवस्थाको सृजना गर्न भने अन्तर्प्रेरणा नै आवश्यक पर्दछ। एसियाली विकास बैंकका उपाध्यक्ष वनकाइ चाङले भनेका थिए– ५० वर्षको नेपालको इतिहास हेर्ने हो भने राष्ट्रिय रूपमा गरिबी निवारण, समृद्ध जीवन शैली, आर्थिक विकास, कृषि उद्यम र दिगो विकासको स्पष्ट धारणा अगाडि नबढ्नु नै विकासको वाधक हो। शक्तिशाली र विकसित दुई छिमेकी राष्ट्र पाउँदा पनि आफ्ना विकासका योजनाहरू अगाडि बढाएर व्यावहारिकता दिन नसक्नु नै नेपालका लागि दुःखद पक्ष हुन्।
नेपालमा योजना र नीति नबनेका होइनन्। योजना कार्यान्वयन गराउने पक्ष तदारुकताका साथ नलाग्नु अभिशाप बनेको छ। अहिले दुइ देशबीच भएको सम्झौतालाई कार्यरूप दिन पनि आन्तरिक शक्ति र प्रेरणाले काम हुनुपर्छ। वैदेशिक नीतिद्वारा छिमेकी राष्ट्रको लाभ लिन सक्ने अवसरबाट नेपाल अझै पनि चुक्नु हुँदैन। यो समयमा विश्व बजारीकरणलाई समेट्ने गरी आफ्नै स्रोतसाधनबाट हुने उत्पादनद्वारा गुणस्तरीयता कायम गरी विश्व बजारसँग प्रतिस्पर्धा गर्ने हैसियत बनाउन सक्छ नेपालले। इतिहासका कमजोरी बिर्सेर, वर्तमानमा जेजति स्रोत–साधन उपलब्ध छन्, त्यसको प्रयोगद्वारा द्रुत विकास गर्न सकिन्छ भन्ने हाम्रो नेतृत्व वर्गलाई ज्ञान हुन आवश्यक छ।
प्रतिक्रिया दिनुहोस !