सेनामा भर्ना गराइदिने भन्दै रकम असुल्ने प्रहरी फन्दामा
खाँदबारी : सेनामा भर्ना गराइदिने भन्दै रकम असुलेको आरोपमा एकजना पक्राउ परेका छन्। चिचिला गाउँपालिका १ बस्ने राजु भन्ने राजकुमार राईले सैन्य पदका उम्मेद्धारसँग रकम असुलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए।
बराहदल गुल्म खाँदबारी ब्यारेक संखुवासभामा आवेदन फारम भरेका दर्ता नं. ७२६८ का सैन्य पदका उम्मेदवारसँग अभियुक्त राईले सेनामा भर्ना गराइदिने भन्दै रकम माग गरेका थिए । राईले उम्मेदवारको आमासँग १ लाख २० हजार रुपैयाँ मागेका थिए । ८० हजार रुपैयाँ दिने समझदारी गरी उनकी आमाले ५० हजार अग्रीम रकम बुझाएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक राईले भने, 'राजकुमारले सेनामा जागिर लगाइदिने आश्वसन दिएर ठगी गरेको भन्ने सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो ।' ५८ हजार रुपैयाँसहित निजलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका राईलाई जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !