संकटमा विजयपुर दरबार
धरान : धरान–१४ स्थित ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा डोजर र स्काभेटर प्रयोग गरी जग्गा प्लटिङ गर्न प्रतिबन्ध लगाए पनि नियम विपरित पहाड भत्काउन सुरू गरिएको छ। वडाअध्यक्ष कृष्ण भट्टराईको लिखित निर्देशनमा जग्गा कारोबारीले गैरकानुनी रूपमा डोजर प्रयोग गरी दरबार क्षेत्रका स–साना पहाड भत्काउन थालेका हुन्।
यस क्षेत्रका धार्मिक स्थलहरू, पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिर आसपासका क्षेत्रका पाहाडहरू डोजर लगाएर भत्काउन थालेपछि स्थानीय आक्रोशित बनेका छन्। स्थानीयले तत्काल दरबर क्षेत्रमा थालिएको उत्खनन बन्द गर्न माग गरेका छन्। आर्थिक चलखेलमा ऐतिहासिक क्षेत्रको अस्तित्व मेटाउने काम भइरहेको भन्दै स्थानीयले धरान उपमहानगरपालिकासँग बन्द गर्न माग गरेका हुन्।
जग्गा प्लटिङ गर्न जग्गा कारोबारीले धरानकै प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाम अगाडिको पहाडदेखि डोजर लगाएर भत्काउन थालेका छन्। यसअघि पनि जथाभावी डोजर लगाएर जग्गा प्लटिङ गर्न थालेपछि ऐतिहासिक तथा पुरातात्विक संरचनाको अस्तित्व संकटमा पर्ने भन्दै उपमहानगरपालिकाले विजयपुर क्षेत्रमा डोजर र स्काभेटर लगाउन प्रतिबन्ध लगाएको थियो।
तर वडाध्यक्ष कृष्ण भट्टराईले नगरपालिकाको निर्देशनको अवज्ञा गर्दै जग्गा व्यावसयीसँग मिलेर डोजर लगाउन अनुमति दिएका हुन्। स्थानीय मंगलसिंह लिम्बुले विजयपुर क्षेत्रमा लगाइएको डोजर आतंक तत्काल बन्द गर्नुपर्ने बताए। ऐन विपरित गरिएको उत्खनन् र जग्गा प्लटिङले पुरातात्विक क्षेत्र संकटमा परेको लिम्बुले बताए। जग्गा व्यावसायीले नापी कार्यालयका कर्मचारीहरूसँग मिलेर बन्द गरिएको जग्गाको कित्ताकाँट गरी बिक्री गर्न थालेका छन्।
आदिवासी जनजाती महासंघ सुनसरीका सल्लाहकार डम्बर गुरुङले विजयपुर दरबार क्षेत्रमा डोजर लगाएर पहाड भत्काउन थालेपछि निर्माणधीन बहुजातीय संग्राहलय आसपासका क्षेत्रका रमणीय स्थलहरु कुरूप बन्दै गएकोमा चिन्ता गरे। स्थानीयले वडाध्यक्षलाई कारबाही गर्न माग गरेका छन्। धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु भण्डारीले विजयपुर दरबार क्षेत्रमा डोजर लगाएर जग्गा प्लटिङ गर्न प्रतिबन्ध लगाएको बताइन्।
उनले वडाअध्यक्ष भट्टराईलाई डोजर लगाउन लिखित अुनुमति दिने अधिकार नभएको स्पष्ट पारिन्। भण्डारीले दरबार क्षेत्रमा डोजर लगाएर पहाड भत्काउने काम बन्द गर्न नगर प्रहरी परिचालन गरिएको जानकारी दिइन्। नगरपालिकाको निर्णय विपरित काम गर्ने वडाध्यक्षलाई कारबाही गरिने उनको भनाइ छ। भट्टराईले भने आफ्नो वडामा वडाध्यक्षको अधिकारको हैसियतले डोजर लगाउन अनुमति दिएको दाबी गरे।