‘वीरगन्जका अग्नि नियन्त्रकको गोली हानी हत्या’
वीरगन्ज : वीरगन्ज महानगरपालिका कार्यालयको वारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक बुनिलाल चौरसीयाको गोली हानी हत्या भएको छ । गत बिहीबार साँझ घरबाट निस्किएका उनको शव माइधीया पोखरीको डिलमा फालिएको अवस्थामा शनिवार फेला परेका थियो ।
शवको नारायणी अस्पतालमा पोष्टमार्टम भएको छ । उनको शरीरका विभिन्न ठाउँमा गोली लागेको देखिएको छ । पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार टाउको र छातिमा २–२ र नाइटोमा १ गरी पाँच गोली लागेको छ ।
पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले अहिलेसम्मको अनुसन्धानले चौरसीयाको हत्या गोली हानेरै भएको बताए । ‘शवको पोष्टमार्टम रिपोर्ट अहिले प्रहरीकोमा आइपुगेको छैन’, उनले भने, ‘तर अहिलेसम्मको अनुसन्धानमा गोली हानेरै हत्या भएको देखिन्छ ।’
चौरसीयाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक दम्पतिलाई शुक्रबार राति नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्ज ६ माइस्थानका दिपक किशोर अग्रवाल र उनकी श्रीमति निधी अग्रवाललाई पक्राउ गरेको हो ।
प्रहरी हिरासतमा रहेका अग्रवाल दम्पतिको घरमा शुक्रबार राति नै प्रहरीले खानतलासी गरेको छ । खानतलासीका क्रममा अग्रवालको घरभि रगतको थोपा भेटिएको स्रोतको दाबी छ ।
हत्यामा संलग्न रहेको आशंकामा दुइ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको भन्दै प्रहरी उपरिक्षक राठौरले भने ,‘ घटना शंकास्पद देखिएकाले प्रहरीले अनुसन्धान गरिरहेको छ , अरु कुरा पछि खुल्छ ।
चौरसियाको हत्या गरेर शव कपडामा बेरेर माथिबाट प्लास्टिकले छोपेर पुन माथिबाट निलो कलरको तन्नाले बाँधेर फालिएको अवस्थामा भेटिएको थियो । ‘संवेदनशील घटना भएकाले थप अनुसन्धानका लागि पर्सा प्रहरीले जनकपुरबाट तालिम प्राप्त कुकुरसमेत झिकाएको छ’, अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक गौतम थापाले भने ।
मृतक चौरसीयाको नातामा सालो पर्ने देव चौरसीयाका अनुसार अग्रवालकी श्रीमती निधीले चौरसियासँग व्याजमा लिएको ऋणको रकम फिर्ता गर्न गत बिहिबार आफनै घरमा बोलाएकी थिइन् ।
बिहिबार साँझ ५ बजे तिर अग्रवालको घर पुगेका चौरसियालाई अग्रवालकी श्रीमती निधीले ऋण बापत लिएको रकम मध्ये ३ लाख भारतीय रुपैयाँ दिएर पठाएको र अग्रवालको घरबाट रकम लिएर फर्किएका चौरसीया त्यहि बेलादेखि सम्पर्कमा नआएको उनको भनाइ छ। उनको परिवारले गत शुक्रबार शव पोखरीको डिलमा भेटेका थिए ।
प्रतिक्रिया दिनुहोस !