नामको साइडलाइनमा सार्कको चिन्ता

नामको साइडलाइनमा सार्कको चिन्ता

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अवरुद्ध प्रक्रिया अघि बढाउन संयुक्त पहल गर्ने बताएका छन्।

सार्क अध्यक्षसमेत रहेका ओलीले हसिनासँग अवरुद्ध सार्कलाई क्रियाशील बनाउन नेपाल र बंगलादेश सक्रिय हुनुपर्नेमा जोड दिएका थिए। सार्क स्थापनामा नेपाल र बंगलादेशको विशेष भूमिका छ।

अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनका क्रममा भएको साइडलाइन भेटवार्तामा प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानका नेताहरूसँग सार्कलाई गतिशील बनाउने विषयमा छलफल गरेका हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्कलाई अघि बढाउन सहकार्य र परामर्श गर्दै जाने विषयमा छलफल भएको बताए। सार्क शिखर सम्मेलन विगत चार वर्षदेखि अवरुद्ध छ।

बंगलादेशका प्रधानमन्त्री हसिनासँग ऊर्जा, पारवहनलगायत सम्पर्क सञ्जाल विस्तार र व्यापारिक सहकार्यमा छलफल भएको जानकारी ज्ञवालीले दिए। उनले भने, ‘सहकार्यका लागि छलफल निकै उपयोगी र फलदायी भयो।’

प्रधानमन्त्री ओलीले पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीसँग दुईपक्षीय चासोका साथै सार्कलाई गतिशील बनाउने विषयमा छलफल गरेका थिए। सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका चुनौतीका विषयमा छलफल भएको ज्ञवालीले बताए। भेटमा प्रधानमन्त्री ओलीले सार्क मुलुकबीच मतभेद कम गरी यसलाई पुनः सक्रिय बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न आआफ्नो स्थानबाट काम गर्न आवश्यक रहेको धारणा राखेका थिए।

पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न नपाएकोमा चिन्तित छ। पाकिस्तानले जतिसक्दो छिटो शिखर सम्मेलन गर्न पहल गरिरहेको छ। प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उपराष्ट्रपति भेन्कैया नायडुसँग पनि सार्क लगायतका विषयमा छलफल गरेका थिए।

शिखर सम्मेलनमा सहभागी नेताहरुका लागि आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओलीले विभिन्न नेताहरूसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कतिपय भेटमा प्रधानमन्त्री र उनका सल्लाहकारमात्र थिए भने अधिकांश भेटमा परराष्ट्रमन्त्री र परराष्ट्र अधिकारी सहभागी थिए।

नामको १८ आंै शिखर सम्मेलन शनिबार सम्पन्न भएको छ। सम्मेलनमा सहभागी प्रधानमन्त्री ओलीले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको बताएका थिए। उनले सम्मेलनको साइडलाइनमा राष्ट्र एवं सरकार प्रमुखसँग भेटवार्ता गर्दै नेपालको अडान स्पष्ट पारेका थिए।

उनले शिखर सम्मेलनको साइडलाइनमा भेनेजुयलाका राष्ट्रपनि निकोलस मडुरो र उत्तर कोरियाका राज्य कमिसनका पहिलो उपाध्यक्ष चोङ ¥योङ हायसँग भेटवार्ता गरेका छन्। दुवै भेटमा कम्युनिस्ट आइडोलोजीका विषयमा छलफल भएको एक सहभागीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले दर्जन बढी मुलुकका नेताहरुसँग दुईपक्षीय भेटवार्ता गरेका थिए। प्रधानमन्त्रीले सम्मेलन केन्द्र परिसरमा अजरबैजानका राष्ट्रपति तथा १८ औं नाम शिखर सम्मेलनका अध्यक्ष इल्हाम अलियभलाई सम्मेलन सफलतापूर्वक आयोजना गरेकामा धन्यवाद दिएका छन्। प्रधानमन्त्रीले शनिबार शिखर सम्मेलन सकेलगत्तै अजरबैजानको बाकुस्थित अतेस्गाह मन्दिर अवलोकन गरेका थिए। प्रधानमन्त्री आइतबार काठमाडौं आइपग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

ओली–मडुरो भेटबारे पश्चिमाको चासो

नामको १८औं शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मडुरोसँग गरेको भेटलाई लिएर काठमाडौंमा पश्चिमा मुलुकले चासो देखाएका छन्।

केही महिनाअघि भेनेजुयलाको विषयमा सत्तारुढ दल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ति जारी गर्दा अमेरिका र अन्य पश्चिमा राष्ट्रले चासो देखाएका थिए। उनीहरुले भेटबारे सञ्चारमाध्यममा आएको विषयलाई लिएर औपचारिक र अनौपचारिक रुपमा जिज्ञसा राख्न थालेका छन।

भेनेजुयलालाई पश्चिमा मुलुकहरुले प्रतिबन्ध लगाइरहेका छन्। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले उनीहरुकै अनुरोधमा भेट भएको बताएका छन्। मडुरोसँग भएको भेटको तस्बिर भने सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.