एक लाखको कलम

एक लाखको कलम

राजविराज : एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ। तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा बढी छ।

प्रत्येक वर्ष चित्रगुप्त पूजाको अवसरमा बिक्री हुने गरेको कलम यस वर्ष एक लाख एक सय पाँचमा बिक्री भयो। राजविराज–८ निवासी रेखादेवी कर्णले उक्त कलम खरिद गरिन्।

राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित समारोहबीच उक्त कलम कर्णलाई हस्तान्तरण गरियो। चित्रगुप्त सेवा समिति राजविराजले प्रत्येक वर्ष भाइटीकाको दिन चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको कलम डाँक बढाबढको माध्यमबाट बिक्री हुने गर्छ।

यस वर्ष कर्णले उक्त कलम खरिद गरेको समितिका अध्यक्ष सतिशकुमार दत्तले जानकारी दिए। उनका अनुसार ४० वर्षदेखि ‘कलम सकार’ गर्ने परम्परा रहेकामा यस वर्ष सबैभन्दा बढी रकममा कर्णले कलम सकार गरेकी हुन्। कर्णका पति सुरेन्द्रलाल कर्ण अवकाशप्राप्त शिक्षक हुन् भने जेठा छोरा शम्भु इन्जिनियर र कान्छा छोरा सरोज चिकित्सक छन्।

कलमका देवता तथा मानिसको पाप र पुण्यको लेखाजोखा राख्ने देउताको रूपमा भगवान् चित्रगुप्तको पूजा गरिन्छ। चित्रगुप्तको पूजामा चढाइने कलम खरिद गर्ने व्यक्तिले चाँडै आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्ने विश्वास छ।

चित्रगुप्त पूजाका दिन देश तथा विदेशमा रहेका कायस्थ समुदायले अनिवार्य रुपमा आफ्ना इष्ट देवता चित्रगुप्त र कलमको पूजा गर्छन् र सो दिन लेखपढ गर्दैनन्। सृष्टिकर्ता परमपिता ब्रह्माको इच्छापुत्र चित्रगुप्तको सन्तान भएको मान्यता राख्ने कायस्थ समुदायले सदियौँदेखि यो परम्परा मान्दै आएका छन्। चित्रगुप्तलाई ब्रह्माद्वारा पाप र पुण्यको लेखाजोखा गर्न यमराजको दरबारमा नियुक्त गरिएको प्रसंग पद्म पुराणमा उल्लेख छ।

‘कलम सकार’ प्रतिस्पर्धा समितिका अध्यक्ष अशोककुमार कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ९ देखि १२ मा अध्ययनरत आठ जना र स्नातक तहमा अध्ययनरत चार जनालाई छात्रवृत्ति वितरण गरिएको थियो। स्नातक तहको छात्रवृत्ति पूर्व शिक्षक वैद्यनाथलाल कर्णले आफ्नी दिवंगत श्रीमती स्व. सुप्रभा कर्णको स्मृतिमा दिँदै आएका छन्। यसै अवसरमा कायस्थ समुदायको १६ वर्ष मुनिका बालबालिकाबीच हाजिरीजवाफ प्रतियोगितासमेत गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.