कखरा सिक्दै माविका विद्यार्थी
बागलुङ : एसईई तयारीमा रहेकी ताराखोला गाउँपालिका–१ स्थित प्रजातन्त्र विकास माविका रेजिना घर्ती कक्षामा कखरा सिकाउन थालेपछि दंग परिन् । १० वर्षअघि सिकेको कखरा अहिले फेरि लेख्न सिकाउने गाउँपालिकाले के गर्न खोजेको भनेर सुरुमा भेउ पाउन पनि मुस्किल भएको घर्ती सुनाउँछन् ।
घर्ती मात्र होइन, नेपाल मावि ताराका संगम परियार पनि सुरुमा अलमलमा परे । तीन दिनपछि भने कखरा लेख्न सिकेकोमा सबैजसो विद्यार्थी निकै उत्साहित थिए । ताराखोला गाउँपालिकाले मातहतका विद्यालयका विद्यार्थीको अतिरिक्त क्रियाकलापमार्फत क्षमता अभिवृद्धि गर्ने अभिप्रायले पहिलो पटक तीनदिने आवासीय आर्ट (पेन्टिङ) तथा उद्घोषण तालिम आयोजना गरेको थियो । जसमा माध्यमिक तहका ४० विद्यार्थी सहभागी भए ।
तालिमले आफूहरुमा लेख्न तथा बोल्ने कलाको विकासमा धेरै सहयोग पुर्याएको हरि मावि हिलकी निकिता खड्काले बताइन् । ‘सुरुमा कखरा लेख्नुस् भन्दा भित्रभित्रै रिस उठेको थियो’, जनप्रेम माविका किसान गुरुङले भने, ‘सिक्दै जाँदा लेखनकलाको छुट्टै सीप कौशल जान्न पायांै । यसले हामीलाई कलाको महŒवबारे थप बोध गराएको छ ।’
तीन दशकदेखि लेखनकला व्यवसायमा क्रियाशील रन्तल आर्टका मच्छिन्द्र शाक्यले तीन दिनको अवधिमा क देखि ज्ञ, ए देखि जेट र शून्य देखि ९ सम्मको अकं लेख्न सिकाइएको बताए । ‘कखरा लेख्नुस् भन्दा सुरुमा विद्यार्थी कोही रिसाए जस्तो, कोही आत्तिएको जस्तो देखियो’, शाक्यले भने, ‘बिस्तारै लेखिरहेका अक्षरमा फरक कलासहित लेख्दा आएको फरकपनले विद्यार्थी निकै उत्साहित देखिए । कम्तीमा पनि ५÷७ जनाले साधना गरिरहे राम्रो लेख्न सक्ने सम्भावना छ ।’
लेखन र उद्घोषण कलाले विद्यार्थीको अतिरिक्त क्षमता पहिचान र प्रस्फुटन गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको अर्गल माविका प्रधानाध्यापक गणेश घर्तीले बताए । ‘हाम्रो ध्यान घोकन्ते पढाइ लेखाइमा मात्र केन्द्रित छ । विद्यार्थीको चाहनाअनुसार यस्ता तालिम आवश्यक छ’, घर्तीले भने, ‘यसलाई निरन्तरता दिनुपर्छ’
ताराखोला गाउँपालिकाले चालू वर्षमा विद्यार्थीको अतिरिक्त क्षमता अभिवृद्धिका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसबाट लेखन, उद्घोषण र नृत्यसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । ‘सबै विद्यार्थीको प्रतिभा र चाहना फरक हुन्छ । त्यसको समयमै सबै तह तप्काबाट पहिचान र कदर हुनुपर्छ’, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने,‘अतिरिक्त क्षमता भएका विद्यार्थीलाई क्षमता विकास गरेर व्यावसायिक रुपमा लाग्न पनि सकून् भन्ने सोच छ ।’
प्रतिक्रिया दिनुहोस !