वायु प्रदूषण कम गर्न दिल्लीमा जोर बिजोर प्रणाली

एएनआई नयाँदिल्ली : भारत सरकारले राष्ट्रिय राजधानी नयाँदिल्लीमा सोमबार बिहान ८ बजेबाट यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ।
यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो। सोमबारबाट जोर नम्बरका सवारी साधनमात्र चलाउन राज्य सरकारले अनुरोध गरेको छ।
दिल्लीमा विगत केही समयदेखि वायुमा निकै प्रदूषण देखिएको भन्दै स्थानीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेपछि दिल्ली सरकारले वातावरण प्रदूषण रोक्न पहल थालेको हो। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले वातावरण प्रदूषण रोक्न सरकारले गरेको पहलमा सहयोग गर्न र यातायातमा जोरबिजोर प्रणाली लागू गर्न नागरिकलाई आग्रह गरेका छन्।
राष्ट्रिय राजधानीमा प्रदूषण बढेकाले यसमा योगदान पुर्याउन निजी सवारीसाधन (कार) प्रयोगकर्तालाई पनि ‘कारपुलिङ’ गर्न पनि मुख्यमन्त्रीले अनुरोध गरेका छन्।
मुख्यमन्त्रीले नागरिकलाई सरकारले गरेको घोषणालाई मान्न आग्रह गर्दै हिन्दी भाषा प्रयोग गर्दै ट्वीट गरेका छन्, ‘प्रिय दिल्लीवासीहरू, आजबाट निजी चारपांग्रे सवारीसाधनका लागि जोरबिजोर तथा कारपुलिङ प्रणाली कार्यान्वयनमा आएको छ। आफ्नो, आफ्ना बालबालिका र परिवारको स्वास्थ्यका लागि नियमलाई पालना गरौँ। कार चढ्ने सबैले कारमा आलोपालो गरेर आफ्नो गन्तव्यसम्म पुगौँ। मित्रता, सम्बन्ध बढाऔँ। पेट्रोलको बचत गरौँ र प्रदूषण घटाऔँ।’
नियमअनुसार पालोमा नपरेका कार प्रयोगकर्तालाई पालोमा परेका सवारीधनीले सहयोग गर्न वा ‘कारपुलिङ’ गर्न सरकारले अनुरोध गरेको हो।
दिल्लीमा ‘आम आदमी’ पार्टी नेतृत्वको राज्य सरकारले घोषणा गरेको यो कार्यक्रम आगामी दश दिन (नोभेम्बर १४) सम्म लागू गरिने छ। तर यो नियम नोभेम्बर १० आइतबारका लागि भने मान्य नहुने बताइएको छ। भारतमा आइतबार साप्ताहिक बिदा दिइने भएको र बिदाका दिन सवारीसाधनको चाप कम हुने हुनाले सो दिन यो नियम लागू नहुने बताइएको छ।
मुख्यमन्त्री केजरीवालले अक्टोबर १७ मा गरेको घोषणाअनुसार सोमबारदेखि जोरबिजोर प्रणाली लागू भएको हो। यो नियम मोटरसाइकल, सार्वजनिक बस तथा अन्य ढुवानीका साधन तथा आपत्कालीन सेवामा भने लागू हुनेछैन। महिलाले चलाउने गाडीलाई पनि नियम लागू नहुने बताइएको छ।
सोमबार जोरबिजोर प्रणाली लागू हुने तयारी भइरहँदा यसको केन्द्र सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) तथा प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई) ले विरोध जनाएका छन्।
भाजपाका वरिष्ठ नेता तथा राज्य सभाका सदस्य विजय गोयलले दिल्ली सरकारको जोरबिजोर प्रणाली आफूहरूलाई मान्य नभएको बताएका छन्। उनले प्रदूषण नियन्त्रणका लागि राज्य सरकारले चालेका कदमले नागरिकलाई दुःख हुने र यो प्रदूषण नियन्त्रणका लागि सर्वमान्य आधार नभएको भन्दै सांकेतिक विरोधका लागि आफूले सवारीसाधन चलाउने बताए। नेता गोयलले आमआदमी पार्टीको यो कदमलाई निर्वाचनमा मत तान्ने नाटकका रूपमा व्याख्या गरे।
त्यस्तै कांग्रेस नेता जेपी अग्रवालले राज्य सरकार राजधानीमा देखिएको प्रदूषणको समस्यालाई सही तवरले सम्बोधन गर्न विफल भएको बताए। प्रदूषणको समस्या अत्यधिक तथा नियन्त्रण बाहिर पुग्नुमा सरकार जिम्मेवार रहेको भन्दै सरकारको आलोचना गरे। उनले समस्या समाधान गर्न अन्य राज्यका सरकारले कस्तो नीति लिएका छन् भनी यसलाई छलफल गर्न छिमेकी राज्यका मुख्यमन्त्रीहरूसहितका अधिकारीसँग बसेर रणनीति बनाउन सुझाव दिए।
प्रतिक्रिया दिनुहोस !
