टुँडिखेल जोगाउने अभियान

टुँडिखेल जोगाउने अभियान

काठमाडौं : काठमाडौंमा खुला ठाउँ कति छन्? जहाँ विपत् पर्दा आश्रय लिने ठाउँ होस्। पैदल यात्रीले केही समय हिँडेपछि विश्राम लिन सकुन्। सहरको चहल–पहलसँगै बस्तीको एक छेउमा खुलापार्क होस्। जहाँ विभिन्न वनस्पति रोपियोेस्। वातावरण स्वच्छ र हरबरा होस्।

अव्यवस्थित, धुवाँधुलो र फोहोरी सहरको उपमा पाएको काठमाडौंमा यस्तो खुला मैदानको कल्पना गर्नु हाँस्यास्पद लाग्छ। तर, प्रयास गरे के सम्भव हुन्न र?  
नागरिक अभियान्ताले काठमाडौंमा रहेको एक मात्र विशाल मैदान टुँडिखेललाई बचाउन ‘अकुपाई टुँडिखेल’को अवधारणा ल्याएका छन्। जुन राजनीतिक परिवर्तनसँगै सेना र सरकारद्वारा अतिक्रमणमा पर्दै आएको छ।

नागरिक स्तरबाट कात्तिक २३ गते शनिबार टुँडिखेल मानव साङ्लोले घेरिँदै छ। उक्त दिन विश्व स्वतन्त्रता दिवस पनि हो। विजयलाल श्रेष्ठको संयोजकत्वमा हुन लागेको अकुपाई टुँडिखेल अभियान बिहान ८ बजेबाट सुरु हुनेछ। यो अभियानको मुख्य उद्देश्य टुँडिखेलमा भइरहेको अतिक्रमण रोक्ने र यस क्षेत्रलाई खुला पार्कको रूपमा विकसित गर्नुरहेको अभियन्ता बताउँछन्।

संयोजक श्रेष्ठ तत्कालका लागि टुँडिखेलमा रहेका अस्थायी संरचना हटाउन नागरिक स्तरबाट दबाब दिने बताउँछन्। ‘अस्थायी बसपार्क, पार्किङ् र व्यापारिक स्टल तत्काल हटाउन अभियान केन्द्रित रहने छ’, श्रेष्ठले भने।

अभियान एक दिने नभई यसलाई निरन्तरता दिने सम्पदा संरक्षक अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन्। ‘यो अभियान केही महिनासम्म चल्ने छ,’ तुलाधरले भन्छन्, ‘अभियानलाई प्रभावकारी बनाउन चित्रकला, नाटक, फोटो प्रदर्शनीलगायत झाँकीको उपस्थिती गराइनेछ।’

टुडिँखेल सबैको चासोको विषय भएकाले यो अभियानलाई ‘रोल मोडल’को रूपमा विकास गर्ने योजना रहेको तुलाधरले बताए। स्वच्छ हावा, खुला ठाउँको महत्त्व सहरी क्षेत्रमा अझै बढी छ। यसको महत्त्वबारे सर्वसाधारणलाई अवगत गराउन उत्तिकै आवश्यक भएको उनी ठान्छन्। ‘टुँडिखेलजस्तो खुला ठाउँको संरक्षण गरेमा यसले इतिहास, सम्पदा र वातावरण सबैलाई जोगाउँछ’, उनी भन्छन्, ‘यो अभियानले भविष्यमा राज्यका अन्य ठाउँमा भएका बेथिति सपार्न बाटो देखाउनेछ।’

प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ काठमाडौंलाई विकासभन्दा व्यवस्थापनको आवश्यकता रहेको औंल्याउँछन्। प्राचीन सभ्यता बोकेको सहरमा स्मार्ट सिटिको अवधारणा पनि जायज नभएको श्रेष्ठको भनाइ छ। ‘हामीले विकासको सन्तुलन गुमाउँदै गएका छौं’, उनी भन्छन्, ‘आर्थिक लाभ र भौतिक विकासलाई मात्र ध्यान दियौं भने हाम्रो मौलिक पहिचान गुम्नेछ।’ 

स्थानीय मुूल्य र मान्यता जोगाउँदै जनचेतनाको स्तर बढाउँदै लग्नु पर्ने उनको धारणा छ। सम्पदाविद् विष्णु कार्की सर्वसाधारणको भावनासँग गाँसिएको टुँडिखेल अतिक्रमणमा पर्नुले देशमा विकास नीति संवेदशील हुन नसकेको प्रति चासो राख्छन्। 

टुँडिखेलको परिधी

‘टुँडिखेल एसियाकै ठूलो परेड मैदान’ लेखक हेनरी एम्ब्रोस ओल्डफिल्डको ‘स्केचेज अफ नेपाल’ पुस्तकमा टुँडिखेलको परिधी उल्लेखित छ। जसमा यो चउर उत्तरमा रानीपोखरी र दक्षिणमा दशरथ रंगशालासम्म फैलिएको भनिएको छ। तर, यसको एक चौथाइ हिस्सा सेनाले ओगटेको छ। 

हेर्दा देखिने टुँडिखेलभित्र पनि अहिले गन्जागोल चिलिरहेछ। काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानका अनुसार मल्लकालमा टुँडिखेलको परिधी गंगालाल अस्पतालबाट सुरु भएर बागमती किनारा नजिकैको दशरथ रंगशालासम्म फैलिएको थियो। ‘राणाले फ्रान्स, बेलायतको आर्किटेक हेरेर टुँडिखेलको वरिपरि दरबार बनाएका थिए’, उनले भने। 

मासिँदै टुँडिखेल

हेनरीको पुस्तकमा करिब पाँचकिलोमिटर लामो र ती सय मिटर चौडा फैलिएको टुँडिखेल साँघुरिएर सानो भागमा सीमित भएको छ। पछिल्लो समय अस्थायी बसपार्कको नाममा रत्नपार्कसँगैको क्षेत्र महानगरले ढलान गरेको छ। सँगैको दुईमाजु मन्दिर परिसरमा व्यापारका लागि टहरा बनेका छन्। 

खुलामञ्च पार्किङ स्थलमा परिणत भइसक्यो। टुँडिखेलको दक्षिण भागमा धरहरा पुनर्निर्माणका लागि ल्याइएका सामान थुपारिएको छ। वरिपरिका भगनावशेष घरको माटो त्यहीँ ल्याएर थन्काइन्छ। रंगशालासँगैको भागमा पुलिस क्लब, सेनाका लागि पुस्तकालय, भव्य पार्टिप्यालेस छन्। हाल बीचको एक भागमात्र सर्वसाधारणका लागि खुला छ।

अहिलेको सैनिक मञ्च कुनै समय सानो गौचरण थियो। त्यहाँ खरीको बोटा थियो। राष्ट्राध्यक्षले त्यहीँ गएर भाषण गर्थे। त्यस ठाउँलाई गुरु मापाको घर (छें) पनि भनिन्छ। त्यो राक्षसको घर भएको स्थानीयको विश्वास छ। यस ठाउँसँग किम्बदन्ती जोडिएको छ। टुँडिखेलसँग टुँडिल देवीको किम्बदन्ती पनि जोडिएर आउँछ। टुँडिल देवीकै नामबाट ‘टुँडी ख्य’ हुँदै कालन्तरमा टुँडिखेल नाम रहन गएको हो। 

टुँडिखेलमा साँस्कृतिक आस्था पनि जोडिएको छ। नेवार समुदायले प्रत्येक वर्ष घोडाजात्रा (पाःचह्रे) मा गुरुमापामा खट साट्ने गर्छन्। कुनै समय यो क्षेत्र साँस्कृतिक र धार्मिक थलो रहेपनि पछि टुँडिखेलको रुपमा विकसित भएको हो।

काठमाडौंमा सुरुमानै बस्ती बसालिएको थिएन। यो क्षेत्रमा भूकम्प जोखिम रहेकाले बस्ती बसाल्न बाह–बहिको लागि अलग्गै जग्गा छुट्याइएको सांसद प्रधान बताउँछन्। 

‘सबै पूर्वधारको विकास पछि मात्र बस्ती निर्माण गरिएको थियो’, उनी भन्छन्, ‘बागबजार र भोटाहिटीको एक पाटो र बीचमा सहिदगेट बन्यो। छेउतर्फ रंगशाला निर्माण गरियो।
तस्बिर : उमा विष्ट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.