कलाकारले छपक्‍कै वीरगन्ज

कलाकारले छपक्‍कै वीरगन्ज

वीरगन्ज : बिहीबारदेखि नेपाली चलचित्रकर्मीहरुको उपस्थितिले वीरगन्जमा बजार छपक्कै ढाक्यो। नेपाल चलचित्र निर्माता संघको आयोजनामा विहिबारदेखि शुरु भएको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागिता जनाउन काठमाडौंबाट वरिष्ठदेखि स्थानीय कलाकारहरुको भब्य जमघट छ। बिहीबार बिहान वीरगन्जको घण्टाघरबाट विभिन्न जातजाति र समुदायका भेषभूषाको झाँकीसहितको प्रभातफेरी निकालिएको थियो। प्रभातफेरीमा सहभागी नेपाली चलचित्रका नायक, नायिका, निर्देशक, निर्माताका मुहार हेर्न स्थानीयको ठूलो भीड देखिन्थ्यो।

आदर्शनगर रंगशालामा आयोजित तीनदिने महोत्सवको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली समाजमा विद्यामान रहेका दाइजो, बालविवाह, महिला हिंसाजस्ता सामाजिक कुरीति र कुप्रथाविरुद्ध जागरण फैलाउने खालका सन्देशमूलक चलचित्र निर्माण गर्न आग्रह गरिन्।

राष्ट्रपति भण्डारीले महिलाको उत्थान र विकासको लागि प्रदेश २ मा सञ्चालन गरिएको ‘बेटी पढाआंै, बेटी बचाऔं’ अभियान सफल तुल्याउन चलचित्रकर्मी र कलाकारलाई आह्वान गरिन्। उनले चलचित्र र यस क्षेत्रसँग सम्बन्धित कलाकार राष्ट्रका गहना भएकाले नेपाली चलचित्र क्षेत्र र कलाकारको उत्थान र विकासमा ध्यान दिन सरकारको ध्यानाकर्षण पनि गराइन्।

समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय दायित्वमा चलचित्र क्षेत्र अग्रसर हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘यो महोत्सवले चलचित्र क्षेत्रलाई समृद्ध उद्योगका रूपमा विकास पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरेकी छु।’ चलचित्रकर्मी र कलाकारलाई प्रोत्साहन गर्न निजी क्षेत्र, सञ्चार जगत्लगायत सबै क्षेत्रले ध्यान दिनुपर्ने जरुरी रहेको राष्ट्रपति भण्डारीले बताइन्।

नेपालमा रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक एंव पर्यटकीय क्षेत्रलाई नेपाली चलचित्रले विश्वसामु पहिचान दिलाउन सफल भएको भन्दै उनले भनिन्, ‘हजारौंको संख्यामा रोजगारी दिएको स्वदेशी चलचित्र उद्योगमा संलग्न    श्रमजीवी चलचित्रकर्मीको आर्थिक संरक्षण र सामाजिक सुरक्षाको प्रत्याभूत गर्ने नेपाल सरकारको समसामयिक नीति पनि छ।’

कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको इतिहास र राष्ट्रियता जीवन्त राख्ने काम चलचित्र र साहित्य क्षेत्रले नै गर्दै आएको बताए। मुलुक अहिले इतिहास निर्माणको प्रक्रियामा रहेको भन्दै उनले यो तीनदिने चलचित्र महोत्सव पनि इतिहास निर्माणको एउटा कडी साबित हुने विश्वास लिएको बताए।

चलचित्र क्षेत्रलाई सरकारले केवल मनोरञ्जन र आम्दानीको क्षेत्रका रूपमा मात्रै नलिएको भन्दै मन्त्री बाँस्कोटाले मुलुकको समृद्धि र राष्ट्रियता अझ मजबुत बनाउने कार्यमा कलाको माध्यमले लाग्न पनि चलचित्रकर्मीसँग आह्वान गरे।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोफसलमा प्रतिभा भएका कलाकारको कला र प्रतिभा पहिचान गरी नेपाली रजतपटमा स्थान दिन आग्रह गरे। उनले भने, ‘मोफसलमा रहेका विभिन्न भाषाभाषीका कलाकारलाई नेपाली रजतपटमा स्थान दिन सकियो भने नेपाली चलचित्र क्षेत्रको भविष्य अझ उज्ज्वल र स्वर्णिम छ।’

नेपालमा प्रतिभा र कला भएका एकसे एक कलाकार रहे पनि अझै पनि बलिउडकै चलत्रचित्र हाबी रहेको भन्दै उनले चिन्ता व्यक्त गरे। नेपाली चलचित्र क्षेत्रमा रहेका कमीकमजोरीको पहिचान गरी सुधार गरे नेपाली चलचित्र क्षेत्रको भविष्य सुखद रहेको पनि उनले धारणा राखे।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले मधेसको कला, संस्कृति, संस्कार र भाषाले अबका दिनमा नेपाली रजतपटमा स्थान पाउने विश्वास व्यक्त गरे।

उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले नेपाली चलचित्रका प्रथम छायाकार वैकुष्ठ मास्के र प्रथम सम्पादक तीर्थलाल    श्रेष्ठलाई सम्मान गरिन्। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार र वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले पनि सम्बोधन गरेका थिए।

नेपाल उद्योग वाणिज्य महासंघ र वीरगन्ज उद्योग वाणिज्य संघ सहआयोजक रहेको तीनदिने चलचित्र महोत्सवमा बलिउडका चर्चित अभिनेता गोविन्दालगायत नेपाली चलचित्रका चर्चित पुराना तथा नयाँ कलाकारको सहभागी छन्।

उद्घाटन समारोहपछि बिहीबार साँझ बलिउडका अभिनेता गोविन्दका साथै नेपाली चलचित्रका नायक, नायिकाले सांस्कृतिक प्रस्तुति दिएका छन्। शुक्रबार र शनिबार महोत्सवमा नेपालका विभिन्न भाषाभाषीका चलचित्र र चर्चित चलचित्रको प्रदर्शनी, नेपाली चलचित्र सम्बन्धित सेमिनार र कार्यशाला आयोजना गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.