सामाजिक कुरीति हटाउन
नेपालमा केही वर्षयता धेरै सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले समाजमा हुने परम्परागत मान्यता र प्रचलनलाई कम गर्दै बालविवाह, छाउपडी, छोरीलाई स्कुल पठाउने अभियान,जातीय छुवाछुतदेखि लिएर घरेलु हिंसा कम गर्दै जनचेतना जगाउने आयोजना सञ्चालन गर्दै आएका छन्। पछिल्लो समयमा आएर यस्ता क्रियाकलापलाई समाजबाट मुक्त गराएर शान्तिप्रिय समाजको निर्माण गरी छोराछोरी बराबरी भन्ने नारालाई आत्मसात् गर्दै अगाडि बढ्न जसरी सरकारी, नागरिक र जनस्तरबाट तथा विभिन्न गैरसरकारी संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ त्यति नै मात्रामा आध्यात्मिक र धार्मिक गुरुहरू, अगुवाहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन हुन थालेका छन्।
धार्मिक या आध्यात्मिक गुरुहरू, अगुवाहरू पनि समाज रुपान्तरणका अभिन्न अंग भएकाले यिनीहरूको चेतना जागृतिमूलक कार्यक्रम र अभियानले समाजका कुरीति कम गर्न ठूलो भूमिका खेल्न सक्छ भन्ने प्रयोगात्मक अभ्यास पनि सुरु हुन थालेको छ। समाज रुपान्तरणमा एकपक्षीय भूमिका र पहलले मात्र अवश्य काम हुन सक्दैन। अन्तरधार्मिक संघसंस्था मिलेर लाग्ने हो भने संयुक्त प्रयासले सकारात्मक परिवर्तन अवश्य आउनेछ। जबसम्म चेतनाको स्तरमा विकास हुँदैन र परम्परागत धारणाबाट मुक्त हुन सकिँदैन तबसम्म विकास र समृद्धि धेरै परको फल हुन जान्छ। चेतनाको स्तरबाट सकारात्मक कसरी हुने, आन्तरिकरूपमा शान्त र प्रेमिल कसरी हुने, धर्म र अन्धविश्वासबाट पर हटेर मानवीयताको आधारमा सामाजिक मान्यता र प्रचलनलाई कसरी कायम राख्ने भन्ने कुरा कुनै आध्यात्मिक या धार्मिक गुरुले आवाज उठाउँछ भने त्यो विषयलाई सबैले आत्मसात् गर्न सक्छन्।
विज्ञान, परिवर्तन र मानिसका आधारभूत आवश्यकता र मान्यतालाई बुझ्न नसक्ने समाजमा पनि धार्मिक आस्था, मान्यता र प्रचलनलाई बुझिराखेका हुन्छन्। बालविवाह, छाउपडी, छुवाछूतलाई धर्मको आधारमा मान्यता दिइनु, छोरीलाई रजस्वला हुनुअघि कन्यादान दिएर बिहे गर्नु पुण्य काम हो भन्ने मान्यता आजको दिनसम्म कायम रहनु जस्ता विषयलाई धर्ममा वास्तवमै के भनेको छ ? धार्मिक गुरुहरूले बताइदिएमा जनस्तरले चाँडो बुझ्न सक्छ। हिन्दु, बौद्ध, इस्लाम, किराँत वा जेजे धार्मिक सम्प्रदाय छन् कुनै पनि धर्ममा, आध्यात्मिक परम्परामा, शास्त्रमा बालविवाह, छुवाछूत र छोरी हुनुकै कारणले गर्ने भेदभाव उल्लेख भएको पाइँदैन। धर्म र परम्परालाई विश्वास गर्ने त्यस्ता समाजमा धार्मिक अगुवाहरू र आध्यात्मिक अगुवाइहरूले उत्प्रेरात्मक कार्यक्रमद्वारा सजिलै जनचेतना जागृत गराउन सक्छन्। धेरै ठाउँमा आजकल यस्ता अभ्यास भइरहेका पनि छन्।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजन र सहयोगमा वल्र्डभिजन, यूएन, यूएन वुमन, युनिसेफ, साइभाकलगायतका गैरसरकारी संस्थाले यस्ता कार्यक्रम अगाडि बढाइरहेका छन्। यस्ता पहल प्रभावकारी भएको र सकारात्मक नतिजा आइरहेको विभिन्न अनुसन्धान र रिपोर्टले बताएका छन्। एसडीजी गोलको उद्देश्य ५ र १० मा समेत महिला सशक्तीकरण, बालबालिकाको उत्थानका लागि पहल, समाजमा घट्ने असामाजिक क्रियाकलाप न्यूनीकरण गर्दै लैजानुपर्ने उद्देश्यलाई प्राथमिकतामा राखिएको छ।
यसलाई सफल बनाउन पनि प्रत्यक्ष/अप्रत्यक्षरूपमा सरकार, नागरिक समाज, जनस्तर, गैरसरकारी संघसंस्था र आध्यात्मिक एवं धार्मिक अगुवाहरूको अन्तरधार्मिक सञ्जालको ठूलो भूमिका रहन्छ। धेरै जिल्लाहरूमा पण्डितहरूले नागरिकता हेरेर मात्र विवाह गराउने अभ्यास बसेको पाइन्छ। १९ वर्ष नपुगी विवाह गर्न नपाइने नियमलाई सार्थक र व्यवहारिक बनाउन पण्डितले उमेर हेरी साइत ननिकालेसम्म विवाह हुन नसक्ने परम्परा कायम हुन सकेको पाइन्छ। हरेक धर्म र आस्थामा मुख्य केन्द्रविन्दुमा प्रेमलाई राखिएको पाइन्छ। कट्टरता र गलत अभ्यास मानव अधिकारविरुद्धका अभ्यास हुन्। कुनै पनि धर्मशास्त्र र आस्थाका प्रसंगहरूमा कट्टरता, हिंसा र अराजकताको संस्कार पाइँदैन। प्रेमले नै विभेद र कुरीतिलाई न्यूनीकरण गर्न मद्दत गर्ने हुनाले सबै धर्मावलम्बी, अनुयायी र आस्थावान् व्यक्तिको आवाज र अभ्यास एकै हुन सकेमा समाजमा शान्ति, प्रेम, समानता र स्थायित्व कायम रहन जान्छ।
मनुस्मृतिमा उल्लेख छ—‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ जहाँ नारीको सम्मान हुँदैन त्यहाँ देवता पनि खुसी हुन सक्दैनन् भने धर्मशास्त्रमा नारीलाई अपमान कसरी गरिएको होला र ? त्यसैगरी मनुस्मृतिमा थप उल्लेख गरिएको छ—‘न स्त्री स्वातंत्र्यं अर्हति’ अर्थात् नारीलाई स्वतन्त्रता र रक्षा चाहिन्न किनकि नारीलाई बालक हुँदा बुबाले प्रेम र सुरक्षा दिन्छन्, विवाह भएपछि श्रीमान्को प्रेम र सहयोग रहन्छ अनि बुढेसकालमा छोराको सहयोग र प्रेम रहन्छ। यही यथार्थ र सत्यलाई आधार मान्ने हो भने महिलामाथि विभेद गर्ने, हिंसा पुर्याउने र सामाजिक मान्यता र प्रचलनमा रोक लगाउने कसले ? जो बुबा हुन सकेको छैन, जो श्रीमान् हुन सकेको छैन र जो छोरा हुन सकेको छैन उसले ? कति संवेदनशील र मानवीयताको उदाहरण !
गैरसरकारी संस्था तथा नागरिक समाजले थालनी गरेका यस्ता कार्यक्रममा सरकारीस्तरबाट नीति तथा कार्यक्रम एवं रणनीतिमार्फत कार्यक्रममा प्रस्तुत गरी योजनाबद्ध तरिकाले अगाडि बढाउन सके सामाजिक कल्याणकारी काम प्रभावकारी तरिकाले अगाडि बढ्नेमा विश्वस्त हुन सकिन्छ। गैरसरकारी संघसंस्थालाई नकारात्मक दृष्टिले हेर्ने र नकारात्मक प्रचार गर्ने गरेको भए पनि आजको परिवेशमा नेपालमा पिछडिएका समाजमा हात धुन सिकाउनेदेखि लिएर शौचालयको प्रयोग गर्ने, छुवाछूत, छोरीलाई स्कुल पठाउने अभियान र बालविवाह न्यूनीकरण जस्ता कार्यक्रममा गैरसरकारी संघसंस्थाकै आयोजनाले बढी सहयोग गरिरहेको तथ्यांक भेटिन्छन्।
नेपालको सम्बृद्धि राजधानी र वरिपरिका जनताको जीवनस्तर र जीवनशैली मात्र तुलना गरेर पुग्दैन। दूरदराजमा रहेका नेपालीको जीवन स्थिति, त्यहाँका बालबालिकाको स्थिति, शिक्षा, स्वास्थ्य, खानपान, जीवन निर्वाह सबै परिस्थिति र यथार्थ हेर्नुपर्ने हुन्छ। विरोधको नाममा विरोध गर्नुभन्दा सबै क्षेत्रबाट संयुक्त प्रयासले विकास अभियानका, सामाजिक कल्याणका काम अगाडि बढाउन सकियो भने सन्तोषजनक उपलब्धि हासिल हुनेछ।आध्यात्मिक अभियन्ता, धार्मिक अभियन्ता, सामाजिक अभियन्ता र नागरिक समाजले आयोजना गर्ने हरेक सामाजिक काममार्फत चेतनामूलक, व्यावहारिक पक्षलाई जोड दिन सकियो भने समाजका खराब प्रवृत्ति अवश्य निरुत्साहित हुँदै जानेछन्।
रुद्री, पूजा, सप्ताह जस्ता धार्मिक कार्यक्रममा बालविवाह, जातीय छुवाछूत, छोरीहरूप्रतिको अनादर र एक किसिमको घरेलु हिंसालाई पनि सम्बोधन गरेर यस्ता कार्य समाजविरोधी, अमानवीय कर्म हुन् भन्ने सन्देश दिन सकेमा समाजमा सकारात्मक परिवर्तन आउँछ नै। ध्यान, योग जस्ता कार्यक्रमबाट व्यक्तिलाई मानसिक रूपमा स्वस्थ, मस्त, निरोगी, आनन्दित र शान्त रहन सिकाउने हो भने व्यक्तिमा चेतनाको स्तर माथि उठी नै हाल्छ। समाजको परिस्थितिभन्दा पनि व्यक्तिहरूको मनस्थितिको कारण समाजमा अराजकता बढ्ने हुँदा मानसिक शान्ति मिल्ने कार्यक्रमहरू हरेक क्षेत्रबाट हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !