‘काठमाडौं–ढाका सञ्जाल अपरिहार्य’

‘काठमाडौं–ढाका सञ्जाल अपरिहार्य’

काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सार्क क्षेत्रको विकासका लागि काठमाडौं र ढाकाबीच सम्पर्क सञ्जाल (सडक, रेल, हवाई, जल) अपरिहार्य रहेको बताएका छन्।

सार्क र बिम्स्टेक मुख्यालय रहेका यी दुई राजधानीबीच सडक, हवाई, रेल र जलमार्गमा सहकार्य भएमा समृद्धिको उचाइमा पुग्न सकिने उनको भनाइ छ। यसका लागि दुवै मुलुकले आआफ्नो स्तरबाट पहल गर्नुपर्ने धारणा राष्ट्रपति हमिदले नेपाली उच्चस्तरीय नेताहरूसँग व्यक्त गरेका हुन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालय काठमाडौं र बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिम्स्टेक) सचिवालय ढाकामा छ।

हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूसँग भेटवार्ता गरेका छन्।

नेताहरूको भेटमा उनले सार्क र बिमस्टेक फरक उद्देश्यका लागि स्थापना भएका भिन्नभिन्न संगठन भए पनि विकास र समृद्धिका लागि सहकार्य गर्ने साझा मञ्च रहेको बताएका थिए। ‘दुई संगठनको सहकार्य र त्यसभित्रका उपक्षेत्रीय सहकार्यले हामी साझा विकास अघि बढाउन सक्छौं,’ राष्ट्रपति हमिदलाई उद्धृत गर्दै भेटवार्तामा सहभागी एक नेताले भने।

नेपालको ऊर्जा क्षेत्र र पर्यटन समृद्धिको आधार भएकाले यसमा सहकार्य गर्नुपर्ने हमिदले बताए।

नेपाल र बंगलादेशको बीचमा करिब ४० किलोमिटर भूभाग भारत छ। त्यसैले सडक, रेल, हवाई तथा जलमार्गबाट जोडिन भारतीय साथ र सहयोग मुख्य रहनेछ। त्यसका लागि भारतसँग छलफल गर्न दुवै देशका नेता सहमत भएका छन्।

नेपालमा जलमार्गको विकास गर्न कोसी र गण्डकीलाई भारतको गंगा नदीमार्फत बंगलादेशका जमुना र पद्मा नदीसँग जोड्न सकिने धारणा दुवै देशका अधिकारीहरूको थियो।

सिंहाबाद–रोहनपुर रेलमार्ग तथा सइदपुर–विराटनगर–भद्रपुर हवाई सञ्जाल बनाउने विषयमा पनि छलफल भएको छ। बंगलादेश र नेपाल आकर्षक पर्यटकीय गन्तव्य भएकाले दुवै मुलुकले संयुक्त प्याकेजमा काम गर्ने विषयमा परामर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सबै भेटमा उनले दुई मुलुकबीचको पारस्परिक सम्बन्ध र सहकार्यमा जोड दिएका थिए। प्रधानमन्त्री ओलीसँगको भेटमा उनले नेपालमा ऊर्जा क्षेत्रमा बंगलादेशले सहकार्य गर्न खोजेको बताएका थिए। दुवै मुलुकले भारतसँग छलफल गरेर छुट्टै प्रसारण लाइनको व्यवस्थाका लागि पहल गर्ने सहमति भएको छ।

 बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग बुधबार होटल मेरियटमा शिष्टाचार भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रासस

भेटवार्तामा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थिए।

राष्ट्रपति हमिदसँग प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। सभापति देउवासँग दुईपक्षीय व्यापार, सम्पर्क सञ्जाल विस्तार, जलविद्युत् आयोजना निर्माण र लगानीका विषयमा छलफल भएको कांग्रेस नेता डा. नारायण खड्काले बताए। गरिबको मुलुक भनेर चिनिने बंगलादेशका तर्फबाट नेपालमा लगानी गर्ने विषयमा पनि छलफल गरेको थियो। बंगलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालको सहयोग रहेकोमा राष्ट्रपति हमिदले खुसी व्यक्त गरे। देउवासँगको भेटमा उनले क्रान्तिमा योगदान पुर्‍याउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी दिएका थिए।

हमिदले नेकपाका अध्यक्ष दाहालको राजनीतिक व्यक्तित्वको प्रशंसा गरेका छिन्। नेपालको राजनीति परिवर्तन र शान्ति प्रक्रियामा अध्यक्ष दाहालको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो। नेपाल र बंगलादेश विकास तथा राजनीतिक स्थिरतामा अगाडि बढिरहेको भन्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझा रूपमा अघि बढ्नुपर्ने बताएका थिए।

राष्ट्रपति हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पनि भेटेका छन्। सबै छलफलमा सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवद्र्धनलगायत आपसी चासोका विषयमा छलफल भएका थिए। फूलबारी नाका र बन्द भएको बस सेवा सञ्चालनका विषयमा पनि छलफल भएको थियो।

बंगलादेश स्वतन्त्रतादेखि नै सक्रिय राजनीतिमा रहेका हमिद राष्ट्रपति हुनुअघि सभामुख थिए। आलंकारिक राष्ट्रपतिको जिम्मेवारीमा रहे पनि उनी सम्मानित राजनीतिज्ञ हुनाले उनको धारणा त्यहाँ स्विकार्य हुन्छ। बंगलादेशलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने नेपाल सातौं राष्ट्र हो।

राष्ट्रपति भण्डारीद्वारा रात्रिभोज आयोजना

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न बंगलादेशका राष्ट्रपति हमिद शीतल निवास पुगेका थिए। उनको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रिभोज दिएकी थिइन्।

हमिद राष्ट्रपति भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा ५२ सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार काठमाडौं आएका हुन्। उनी बुधबार दिनभर राजनीतिक भेटघाटमा व्यस्त बने। राष्ट्रपति हमिद बिहीबार पोखरा जाने कार्यक्रम छ।

भेट फलदायी : ओली

प्रधानमन्त्री ओलीले बंगलादेशका राष्ट्रपति हमिदसँगको भेट फलदायी भएको बतएका छन्। ‘बंगलादेशका राष्ट्रपति हमिदसँगको भेट फलदायी भयो। नेपाल सरकार, नेपाली जनता, आफ्नो तर्फबाट राष्ट्रपति हमिद, उनकी पत्नी र प्रतिनिधिहरूलाई हार्दिक स्वागत गर्दछु। उहाँहरूको नेपाल बसाइ सुखद बनोस्,’ प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.