बंगलादेशका राष्ट्रपतिले फेवातालमा डुंगा चढ्ने
पोखरा : गण्डकी प्रदेश सरकारले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको पोखरा भ्रमणमा सुरक्षाको भरपर्दाे व्यवस्था मिलाउन प्रदेश र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।
कार्यवहाक मुख्यमन्त्री किरण गुरुङको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति हमिदलाई नेपाली कला र शैली अनुसार भव्य स्वागत गर्ने निर्णय गरेको छ। बंगलादेशी राष्ट्रपति अब्दुल हमिद बिहीबार पोखरा आउँदैछन्।_20191112103118.jpg)
हमिदलाई पोखरा विमानस्थलमा स्वागत गरी फिस्टेल होटलमा दिवाखाना खुवाएर रुपाकोट लैजाने कार्यक्रम तय भएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।
राष्ट्रपतिलाई नेपाली कला र संस्कृतिअनुसार स्वागत गर्न पोखरा महानगरपालिका र रुपा गाउँपालिकालाई जिम्मा पाएका छन्। ‘रुपाकोटमा नेपाली कला र संस्कृति झल्कने नृत्य र झाँकी प्रदर्शन गर्न पोखरा महानगरपालिका र रुपा गाउँपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ’, मन्त्री बस्नेतले भने। रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले मारुनी र सोरठी नाच तथा पञ्चेबाजाले बंगली पाहुनाको स्वागत गर्ने कार्यक्रम बनाएको जानकारी दिए। दिवाभोजका लागि फेवाताल किनारको फिस्टेल लज पुग्ने बंगलादेशी राष्ट्रपतिले तालमा नौका बिहारसमेत गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। फेवामा डुंगा सयरका लागि १ घन्टाको समय छुट्याइएको छ।
हिमाल, ताल तलैयाको दृश्यावलोकनका लागि रुपाकोट रिसोर्टमा लगी त्यहाँ राष्ट्रपति हमिदको सम्मानमा नेपाली लोकशैलीको कार्यक्रमसहित विदाइ गर्ने कार्यक्रम छ। विमानस्थलमा राष्ट्रपतिलाई कार्यवहाक मुख्यमन्त्री गुरुङले स्वागत गर्नेछन् भने रुपाकोटमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत र विदाइ गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !