भुइँ छोडेका पयाहरू

भुइँ छोडेका पयाहरू

फर्कंदा जम्मा पारेर ल्याएको पैसा खनखन गन्दै साहूलाई तिरेको र साहूले साउँको ब्याज र ब्याजको प्याज केलाउँदै गरेको हिसाब। हिसाब गरिसकेपछि सुनेको अंकले उडेको तिनको अनुहारको कान्ति र सुकेका ओठमुख पनि अहिले सम्झनामा आउँछन्।


भिजिट भिसामा हजुर, भिजिट भिसामा।

भुइँ छोडेर उड्ने हजुर, पश्चिम दिशामा।।

यता सुर्जेनारायण डुबे, उता लागिदिन्छ घाम।

यता मान्छे निदरीमा, उता भइदिन्छ काम।।

यता जति हाड घोटे, ठिक्क हुन्छ लाउन खान।

उता काम गर्‍यौ भने, पाइन्छ है राम्रो दाम।।

के गर्नु र यस्तै रैछ, प्रभु दैवको लीला।

उहिले नै उड्नुपथ्र्यो, धेरै भइसक्यो ढिला।।

नगएको नदेखेको, त्यो बिरानो नौलो ठाउँ।

आँखाबाट झरी पर्छ, सम्झी आफ्नो गाउँ।।

भिजिट भिसामा हजुर, भिजिट भिसामा।

भुइँ छोडेर उड्ने हजुर, पश्चिम दिशामा।।

गएको वैशाखमा प्रदर्शनमा आएको चलचित्र ‘दाल भात तरकारी’को यो गीत पहिलोपटक सुनेपछि मैले पनि लय मन पराएँ र पछि गुनगुनाएँ पनि। तर गीत सुन्दै गएपछिको एक दिन मेरा मित्र सचिन घिमिरेसँग भेट भयो। कुरैकुरामा कहाँबाट लेख्ने पढ्ने कुरा आयो। अनि यो गीतको पनि प्रसंग आयो। उनले यो गीतलाई केन्द्रमा राखेर केही लेख न भनेर सुझाए। अलिकति पृष्ठभूमि पनि थपेर खासमा उनले गीतले बोलेको परिवेशलाई अहिलेको समय जोडेर विवेचना गर न भनेका थिए।

उनको आशय थियो- भुइँ छोडेर गएपछि गज्जबै हुने भएपछि देशमा सकभर नबस त भनेको हो नि। उता राति हुँदा यता पनि त दिन हुन्छ र यता दिन हुँदा हामी पनि त काम गर्छौं। उताका मात्रै मान्छे काम गर्ने यताका चैं दिउँसै सुतेर बस्ने भन्ने ? यो कस्तो मनोवृत्ति हो ? सबै उतै गएपछि मात्र ठीक हो भन्ने शब्दसँग उनले विमति राखेका थिए। उनले यसैको फेरो समातेर केही लेख न भनेका थिए। तर लेख्न बस्दा मलाई अर्कै कुराले तान्यो। उनले भनेभन्दा भिन्न। त्यसलै यो स्मृति आलेख यो गीतले सम्झाएको अर्को गीत जुन मैले बाल्यकालमा असाध्यै धेरै सुनेको थिएँ। त्यसले तानेर अघि बढाएँ। सुदूरपश्चिममा ५० को दशकका चर्चित गायक भोजराज भट्टले गाएको यो गीतका शब्द थिए ः

पैया गुडन लाग्या, बम्बै जाने रेलगाडीका, पैया गुडन लाग्या।

अब छुटन लाग्या, पाहाडका डाङ्ङा खोला, अब छुटन लाग्या।।

धोइदिन्या कोइ छैन, धोती मैली टोपी मैली, धोइदिन्या कोइ छैन।

रोइदिन्या कोइ छैन, परदेश मरन्याको, रोइदिन्या कोइ छैन।।

आँसीकी लवाइ छ, सेरी पाक्या पेलमपुर, आँसीकी लवाइ छ।

कैलकी अवाइ छ, साँचीराख्यै मायाजाल, कैलकी अवाइ छ।।

तेइ दुःख सइरनु, जो दुःख ईश्वरले दियो, तेइ दुःख सइरनु।

न पूmल पैरनु, न मैले कोपिला टिप्नु, न पूmल पैरनु।।

बणाल भोक्कर, देइमाणुका दाइना दमाउ, बणाल भोक्कर।

हजारी टोक्कर, मेरो माया साँची राखेइ, हजारी टोक्कर।।

पैया गुडन लाग्या, बम्बै जाने रेलगाडीका, पैया गुडन लाग्या।

आब छुटन लाग्या, पाहाडका डाङ्ङा खोला, आब छुटन लाग्या।।

यी दुवै गीतमा वैदेशिक रोजगारीको चित्र छ। तर चित्रणचाहिँ फरकफरक छ। अघिल्लो गीतले रोजगारीका लागि बिदेसिनु नै उत्तम भएको, त्यो मात्रै अहिलेको गज्जबको विकल्प भएको र त्यसले दाल भात तरकारीलाई टेवा पुर्‍याउने बयान गर्छ भने पछिल्लो गीतले बिदेसिँदाको अवस्थाको चित्रण गर्दै त्यहाँ आइपर्ने कामको दुःख र घरपरिवारको सम्झनाको बयान गर्छ। अलिकति समानताचाहिँ विदेशी भूमिमा पुगेपछि गाउँठाउँ र घरपरिवार सम्झेर भक्कानिनुपर्ने अवस्थाको बयान छ।

पहिले मध्य र सुदूरपश्चिममा मात्रै बढी प्रचलनमा रहेको भारतको रोजगारी निर्विकल्पजस्तै थियो। त्यो भाग पनि काठमाडौंसम्म भौतिक रूपले नै जोडिएपछि अहिले वैदेशिक रोजगारीको आयाम फेरिएको छ। अहिले देशकै कुल आयको निकै ठूलो हिस्सा राख्ने रेमिट्यान्स वैदेशिक रोजगारी भई कसरी पैmलिएको छ भनी बुझ्न यी दुई गीत आआफ्ना समयका ऐना हुन्।

गीतकै कुरा गर्दा एकछिन म माध्यमको निर्विकल्प अवस्थाले व्यक्तिको रुचि र ज्ञानलाई कसरी निर्देश गर्छ भने पाटोबारे चर्चा गर्छु। २०५० सालअघि रेडियो नेपालको केन्द्रीय प्रसारणले जे

गीत बजाउँथ्यो गाउँमा हामी त्यसैमा रमाउँथ्यौं या भनौं रमाउने बानी परेको थियो। नारायणगोपाल, गोपाल योञ्जन, नातिकाजी, भक्तराज, कुमार बस्नेत, लालबहादुर खातीलगायत नाम आफ्नै गायकभैंm लाग्नु निर्विकल्प रेडियो नेपाल हुनु हो। यस्तै भारतका किशोर कुमार, मोहम्मद रफी, महेन्द्रकुमार, मुकेश, लतामंगेशकर, कुमार सानु पनि आफ्नै लाग्थे। कारण गाउँमा अल इन्डिया रेडियो गजबै राम्रोसँग टिप्थ्यो। तर आफ्नै पाखापखेरीका गीत रेडियोमा सुन्न भने रेडियो नेपाल दिपायलमै आइपुगेपछि मात्र सम्भव भयो। नत्र रनबनमा घाँसदाउरा र मेलापात अनि गोठालो जाँदा गुञ्जिने संगीतबिनाका गाइने ठाडी भाका (जो अक्सर कानमा औला हालेर गाइन्छ) र जाँत (जात्राका समयमा) मा खेलिने देउडाका दोहोरी मात्रै सुन्न मिल्थे। स्थानीय स्वादका नयाँ गीत सुन्ने अवसर तिनैले दिलाउँथे जो भारतबाट घर फर्कंदा टेपरिकर्डरमा क्यासेट हालेर ठूलो स्वरले घन्काउँथे। र तिनले नै दिन्थे बजारमा आएका नयाँ स्थानीय र हिन्दी गीतका समाचार। तर २०५० मा जब रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र दिपायल सुरु गर्‍यो तब मात्रै स्थानीय गीतहरू सुन्न अलिकति सहज भयो टेपरिकर्डर नहुनेका लागि पनि। अहिले त एफएम रेडियोको संख्याले, मोबाइल र सामाजिक सञ्जाल (खासगरी फेसबुक) माध्यमको छनोटलाई धेरै सजिलो बनाइदियो। तर म यो लेखमा मेरो स्मृतिले बुझ्न थालेदेखि २०५५ सम्मको समयावधिमा कैद भएर त्यति बेलाको समय सम्झने र त्यसलाई आजको समयमा हेर्दा कस्तो सुनिन्छ भन्ने चेष्टा गर्दै छु। यो विशुद्ध मेरो स्मृतिमा मात्र आधारित छ। त्यसैले केही तथ्यगत कमजोरी हुनसक्ने सम्भावना चैं यसमा जीवितै छ।

त्यति बेला भर्खरभर्खर रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र दिपायलले दिउँसोको एक घण्टामा बजाउने गीतले पश्चिमका गीत खाली क्यासेटमा मात्र होइन, रेडियोमा पनि बज्छन् है भनेर गर्व गर्नुपर्ने समय। त्यसो त बाँकी नेपालसँग सुदूपश्चिम भौतिक र अपनत्वका हिसाबले जोडिएको पनि धेरै भएको छैन। कर्णालीमा बनेको पुल र त्यसपछिका अरू २२ वटा पुलले जोडेपछि आफ्नै देशको अर्को भाग बल्ल सुगम भयो। नत्र बा, ठूला बा र हजुरबाहरूले तीन महिनामा हिँडेर काठमाडौं पुगेको, लखनउ, पटना, रक्सौल हुँदै वीरगन्ज पुगेर त्यहाँबाट काठमाडौं छिरेका कथा सुनाउँदा यो जुनीमा काठमाडौं पुगिएलाजस्तै लाग्दैनथ्यो।

भारतका विभिन्न सहरका किस्सा, सेट र सेटेनीका कथा, कमरा र खोलीका कथा सुनाउँदा रोमाञ्चित हुने मन अचेल सम्झँदा पनि रोमाञ्चित हुन्छ। मलाई लाग्छ, हाम्रोतिरका भारतमा रोजगारी जानेहरू धेरैजसो चौकिदारीको जागिर पाउँथे। किनभने धेरैका मुखबाट तिनलाई तिनका सेटहरूले ‘बहादुर’ भनेर बोलाएका कथा नै धेरै सुनिन्थे। पैदल, गाडी अनि रेलका पैयामा गुडेर भारतका विभिन्न सहरमा रोजगारीका लागि पुग्ने कुरालाई भोजराज भट्टले नै संकलन गरी गाएको गीत सुदूरपश्चिमतिर खुबै घन्कनेमध्येको एक थियो। किनभने यो गीतको पहिलो बोलले नै भारतमा जाने रोजगारीको अवस्थाको कथा बोल्थ्यो।

घरमा बाआमा र श्रीमतीसँग ठाकठुक पर्‍यो या कोही गाउँमा देखिन छोड्यो भने सहजै अनुमान लगाइन्थ्यो कि ऊ कुनै भारतीय सहरमा रोजगारीका लागि गइसक्यो। ती गएको र त्यहाँ पुगेको खबर केही समयपछि डाँकले लिएर आउँथ्यो। साइँला बाको घरमा हुलाकको कार्यालय थियो। उहाँ त्यसैमा काम गर्नुहुन्थ्यो र डाँक त्यहीँ आउँथ्यो। त्यसलाई छोटी हुलाका भन्थे। सायद गाउँ पञ्चायत (पछि गाविस)को तहमा त्यही नै हुन्थ्यो। हल्काराले डाँक ल्याएको चालमा आफन्तको चिठी आउने अपेक्षामा लागेका लामले बताउँथ्यो आफन्तको खबर जान्ने तिनको अधैर्य। साइँला बाले नै लौ फलानाको चिठी आएको छ भनेपछि तिनको अनुहारमा झल्कने कान्ति गज्जबको हुन्थ्यो। त्यो कान्ति त्यति बेला हराउँथ्यो जब त्यो चिठीमा के लेखिएको छ भनेर तिनले पढ्न सक्दैनथे। मैलै पनि डाँक आएका बेला कहिलेकाहीँ यस्ता चिठीहरू पढेको छु। त्यो पनि लयमा लय मिलाएर। त्यो लय मैले साइँला बाबाट सिकेको थिएँ। उहाँले कसरी पढ्नुभएको छ भन्ने सुनेपछि त्यो नक्कल गर्न सकिन्थ्यो। चिठी पढिसकेपछि तिनले खसालेको आँसु र खुस्काएको हाँसो, शब्दसँगै उज्याला र अँध्यारा भएका तिनका अनुहार सम्झेर अहिले पनि मन रोमाञ्चित हुन्छ। कुनै कुनै बेला आग्रह आएपछि एकाध चिठीहरूको जवाफ पनि लेखेको छु। जसरी उताबाट आएको चिठीको शैली हुन्थ्यो, जवाफ लेख्ने शैली पनि लगभग उस्तै हुन्थ्यो, ‘हामी यहाँ आरामै छांै, त्यहाँको आरामीका लागि श्री केदारसँग प्रार्थना गर्दछौं। पत्र लेखनाको खास कारण यो छ कि...’ आदि आदि।

अहिले सम्झँदा अचम्म लाग्छ, बोलीचालीको डोटेली चिठी लेख्दाचाहिँ कहाँ गायब हुन्थ्यो कहाँ। किन भाषा जीवन्त भइरहन अक्षरमा पनि कुँदिनुपर्छ, अहिले बल्ल बुझ्दैछु। समय पक्कै फेरिएको छ। हिजो मैले चिठी पढिदिने घरका सदस्यहरू आज आपैंm चिठी पढ्न सक्ने भएका छन्, जवाफ फर्काउन सक्ने भएका छन्। तर अब न हिजाको शैलीमा चिठीहरू लेखिन्छन् न त त्यसरी नै जवाफ। २०५५ मा झन् गाउँमा टेलिफोन आइसकेपछि र अचेल हातहातमा पुगेको मोबाइल र मोबाइलमै पुगेको फेसबुकले आफन्तलाई त नजिक्याएको छ तर त्यो समयको स्वादलाई भने विस्मृतिमा धकेलिदिएको छ। सँगै त्यो समयको व्यक्तिव्यक्ति बीचको सम्बन्ध, स्नेह र प्रगाढतालाई भने निमोठेर हुत्याएको छ।

खासगरी क्षेत्री र दलित समुदायका दाजुभाइहरू मौसमी रोजगारी र स्थायी रोजगारीका लागि भारत जान्थे। कोही पाँच छ महिनामै फर्कन्थे त कोही पाँच छ वर्षमा। र अभैm जाँदैछन् पनि। फर्कंदै छन् पनि। रोजगारीका लागि भारत जान चाहिने पैसाका लागि साहुकहाँ गरिएको तमसुख गरेको मैलै आफ्नै आँखाले देखेको छु। सयकडा ३६ का दरले ब्याजको पैसा पाउँदा पनि ती फुरुंग हुन्थे, मीठो भविष्यको कल्पनामा। रोजगारीमै रहँदा र फर्केर आउँदासम्म पनि धेरैको ऋण सकिएको हुँदैनथ्यो। फलस्वरूप कसैका घरखेत जान्थे त कसैका गहना। र अभावले फेरि तिनलाई त्यतै हुत्याउँथ्यो। रोजगारीको यो दारुण कथा म पहाड छउन्जेल पनि चलिरहेथ्यो र अहिले पनि चलिरहेको छ। स्वरूपमा परिवर्तन पक्कै आएको छ। परम्परागत साहु फेरिएर दलाल, ठेकेदार, शिक्षक, कर्मचारी, गाडी मालिक र डोजर मालिकले त्यो स्थान लिएका होलान्। ब्याजदर पनि लगभग उस्तै छ। फेरिएको छ त केवल समय र शैली।

पश्चिम पहाडका दाजुभाइहरू वैदेशिक रोजगारीमा (भारतबाहेकका देशमा) जाने क्रम सायद ५० को दशकको आखिरीपछि मात्र बढेको हुनुपर्छ। नत्र मैले गाउँमा हुँदा अहिले वैदेशिक रोजगारीका लागि कहलिएका खाडी र अरबका देशको नाम सुनेको थिइनँ, जो आज पर्याय भएका छन्। बरु गाउँमा हुन्जेल मैले भारतका धेरै सहरका नाम सुनिसकेको थिएँ- लुधियाना, पञ्जाब, हरियाणा, बम्बई, पुना, गुजरात, जोधपुर, मद्रास, दिल्ली आदि आदि। झोला बोकेर निधारभरि अक्षता र तेल हालेर चिल्लो बनाएका कपाल टल्काउँदै, मलिनो मुख लगाउँदै लाहुर हिँडेका दाजुभाइ। आँसु पुछ्दै बिदाइ गरिरहेका आमाबाहरू, दिदीबैनीहरू, तिनका श्रीमती र लालाबालाहरू।

झल्झली सम्झिरहने अर्को दृश्य हो घर फर्कंदा टिनको बाकस टल्काउँदै र काँधमा बडेमानको टेपरिकर्डर घन्काउँदै आएको। यी पनि हिजैजस्तो लाग्छ। तर अचेलको पुस्ताले यो अब सायदै देख्ला। फर्कंदाको फुर्मासमा कहिल्यै तिनले चिया खुवाएको, चक्लेट किनिदिएको सम्झना ताजै छ। फर्कंदा जम्मा पारेर ल्याएको पैसा खनखन गन्दै साहूलाई तिरेको र साहूले साउँको ब्याज र ब्याजको प्याज केलाउँदै गरेको हिसाब। हिसाब गरिसकेपछि सुनेको अंकले उडेको तिनको अनुहारको कान्ति र सुकेका ओठमुख पनि अहिले सम्झनामा आउँछन्। तर ऋण चुक्तापछि पनि बाँकी रहेको पैसाले किनेका गाईभैंसी, हलगोरु डोर्‍याउँदै ल्याएको, अर्काको खेतमा मात हालेको (निश्चित समयका लागि पैसा दिएबापत अर्को व्यक्तिको खेतबारी कमाउने प्रथा) या निखनेको (पैसा चुक्ता गरी आफ्नो खेतबारी पुनः आपैंmले कमाउने) बखत तिनको अनुहारको आभा र त्यसमा पैmलिएको मुस्कान पनि रोजगारीले दिएको अर्को पाटो हो।

अहिले समयसँगै गीतको भाका फेरिएको छ र अवस्था पनि। तर व्यथा र वेदनाको तह लगभग उही छ। जान त उहिले पनि हाम्रातिरबाट लाहुरेहरू घरबाट पश्चिम दिशामै लाग्थे। तर त्यो पश्चिमको अन्तिम गन्तव्य भारतका कुनै सहरसम्म मात्र हुन्थ्यो। अचेल पश्चिमको परिभाषा फेरिएको छ। उहिलेको पश्चिम त्यहाँबाट कहाँ हो कहाँको अझ पश्चिम अमेरिका, बेलायत र युरोपका कुनै देश भनेर बढी चिनिन्छ। खाडी र अरबका देश त गाउँघरका लगभग सबैले सुनेका, जानेका छन् र तिनका परिवारका सदस्य झन् त्यहीँ पुगेका छन्। अस्ति समाचारमा पढ्दैथे, गत आर्थिक वर्षमा नेपालमा सबैभन्दा बढी रेमिटयान्स अमेरिकाबाट भित्रियो रे। सीपविहीन भएर कोरा हात रोजगारीका लागि खाडी वा अरब अनि भारतमा मजदुरी गर्न गएका मजदुरभन्दा सीपयुक्त भएर गएकाहरूको कमाइ जरुर धेरै नै हुन्छ। ती दाजुभाइ जो पहिला गएथे र जो अहिले पनि जाँदैछन् थोरै केही जानेर सिकेर गएका भए रेमिट्यान्सको अहिलेको अंक झन् कहाँ पुग्दो हो ?

र गीत पनि उसरी नै फेरिएका छन् र सायद फेरिइरहनेछन्। उहिले मैला धोती र टोपी धोइदिने अनि विदेशमा रोइदिने कोही नहुँदाका बिलौना अचेल पनि गीत बनेर त आउँछन्। तर अचेल गीत मात्रै आउँदैनन्, सग्लै भुइँ छाडेर गएकाहरू राता कफनमा बेरिएर हरेक दिन भुइँ छाडेरै लास बनेर पनि आउँछन्। लास बन्ने त बनिगए, बैंसमै गएका जिउँदाहरू पनि उमेर कटाएर फर्कन्छन् जसले रमाउन पनि बिर्सेका छन्। तिनैलाई सान्त्वना दिन हर्क साउँदले लेखेकै छन् जो हेमन्त रानाको स्वर बनेर गुञ्जिएको छ ः

सुन साइँली, सुन साइँली, परदेशबाट म आउँला

सुन साइँली, सुन साइँली, चालीस कटेसी रमाउँला

सुन साइँली, सुन साइँली, दियोमा तेलै हुरुरु

सम्झी कहिल्यै नरुनु

सुन साइँली, सुन साइँली, परदेशबाट म आउँला

सुन साइँली, सुन साइँली, चालीस कटेसी रमाउँला

सुन साइँली, साइँली, निधारमा नाम्लो बरियो

भावीको खेलमा परियो

सुन साइँली, साइँली, कुलोमा पानी कलल

गाउँघरको तस्बिर झलल

सुन साइँली, साइँली, पिँडीमा जाँतो घरर

झर्दो हो आँसु बरर

सुन साइँली, सुन साइँली, परदेशबाट म आउँला

सुन साइँली, सुन साइँली, चालीस कटेसी रमाउँला
@BhattaKomal


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.