भैरहवामा लुम्बिनी पर्यटन महोत्सव
![भैरहवामा लुम्बिनी पर्यटन महोत्सव](https://annapurnapost.prixacdn.net/media/albums/lumbini-mahotsab_20191119102520_DB8xlpqhP1.jpg)
भैरहवा : रुपन्देहीको भैरहवामा पाचौँ लुम्बिनी पर्यटन प्रवद्धन, औधोगिक व्यापार तथा कृषि महोत्सव २०७६ सुरु भएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा मंगलबारदेखि सुरु भएको महोत्सवको नेकपाको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गरे।
महोत्सवमा ३ लाख जनाले अवलोकन गर्ने अपेक्षा आयोजक पक्षको छ। महोत्सवको आकर्षणको रुपमा मायादेवी मन्दिर र पशुपतिनाथ मन्दिर (मेला सचिवालय) को आकृति रहेको छ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले भ्रमण वर्षमा टेवा पुग्ने उद्देश्यले मायादेवी मन्दिरको आकृति निर्माण गरी त्यसभित्र प्रदेश ५ का विभिन्न पर्यटकीय स्थलको आकृति पनि निर्माण गरिएको बताए।
चार सय स्टल रहेको मेलामा कृषि, उद्योग व्यापार, अटो, तयारी पोशाक, छाला जुता, सूचना प्रविधि, रेष्टुरेन्ट, खाद्य, स्थानीय उत्पादन, बैंक तथा वित्तीयलगायत रहेका छन् । विगत भन्दा फरक महोत्सवको गर्ने उद्देश्य रहेकाले मानवीय स्वास्थका लागि अत्यन्तै हानीकारक मानिने प्लास्टिकको झोलालाई महोत्सवमा प्रतिबन्ध गरिएको छ ।
यस अभियानलाई मेलापछि नगरपालिकामा समेत पहल गरि प्लास्टिक मुक्त नगर क्षेत्र घोषणा गर्ने योजना रहेको संगठनका वरिष्ठ उपाध्यक्ष गिरीश त्रिपाठीले जानकारी दिए । हरेक क्षेत्रलाई अगाडी सार्ने उद्देश्यले महोत्सवमा खेललाई पनि प्रथमिकतामा राखिएको छ । लोप हुन लागेको कुस्ती, तेक्वान्दो, र ब्याडमिन्टन खेल समावेश गरिएको महोत्सवका खेलकुद संयोजक एवं उद्योग व्यापार संगठनका उपाध्यक्ष दर्पण श्रेष्ठले बताए।
मंसिर १६ गते सम्म संचालन हुने महोत्सवमा कुल ९५ लाख खर्च र २५ देखि ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको संगठनका कोषाध्यक्ष सचिन रोकाले बताए । महोत्सबको आयोजनाले उद्योग तथा व्यापार क्षेत्रमा चहल पहल बढेको र स्थानीय बजारमा व्यापार बढने अपेक्षा गरिएको महासचिव अनिल ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)