टुँडिखेल बचाउन मेयरलाई चिठ्ठी

टुँडिखेल बचाउन मेयरलाई चिठ्ठी

काठमाडौं : काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको व्यस्तता निकै बढेको छ। उनलाई भेट्न त्यति सजिलो छैन। जनप्रतिनिधिले दिउँसो २ बजेपछिको समय सर्वसाधारणका लागि दिनुपर्ने नियम छ। तर गुनासो पोख्न महानगर पुग्ने स्थानीयले उनलाई विरलै कार्यालयमा भेट्छन्।

अकुपाई टुँडिखेल अभियानका अभियन्ता सोमबार मेयर शाक्यलाई भेट्न सुन्धारा स्थित महानगरपालिकाको कार्यालयमै पुगे। उनीहरूले शाक्यसँग भेटेर टुँडिखेल अतिक्रमणप्रति ध्यानाकर्षण गराउन खोजेका थिए।

अघिल्लो दिन नै निवेदन दिएर मेयरलाई भेट्ने समय जानकारी गराइएको थियो। तर शाक्य त्यस दिन कार्यालयमा उपस्थित नै भएनन्। प्रशासनका कर्मचारीले उनी बिहानैदेखि कार्यालय नआएको बताए। दिनभरि मेयरका के कस्ता कार्यक्रम छन् भन्ने टिपोटसमेत कार्यालयमा थिएन। आधा घण्टा पर्खेपछि अभियन्ताहरूले महानगरका प्रशासन प्रमुख नमराज ढकालसँग भेटेर टुँडिखेल संरक्षण तथा प्रवद्र्धनका लागि उत्तरदायी हुन आग्रह गर्दै पत्र बुझाएका छन्।

कुनै समय एसियाकै ठूलो परेड मैदान रहेको टुँडिखेल राजनीतिक परिवर्तनसँगै सरकार र सेनाको अतिक्रमणले खुम्चिँदै गएको छ। सार्वजनिक जग्गा टुँडिखेल काठमाडौंको फोक्सो भनिए पनि अस्थायी बसपार्कदेखि पार्किङ र व्यापारिक स्टलले कुरुप बनेको छ।

वीर अस्पताल र दरबार हाइस्कुलको निर्माणाधीन सामाग्री टुँडिखेलमै थुप्रिएका छन्। बसपार्क बनाएर ढलान गरिएको छ। कामदारका लागि अस्थाई वासस्थल बन्दा ऐतिहासिक, राजनीतिक र धार्मिक महत्वको टुँडिखेलले वास्तविक स्वरूप र आकार गुमाएको छ। तत्कालका लागि टुँडिखेलका अस्थायी संरचना हटाउन माग गर्दै अभियन्ताले ध्यानाकर्षणपत्र बुझाएको सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धी तुलाधर बताउँछन्।

‘सार्वजनिक सम्पत्ति मास्ने काम जारी राखे सन्ततिले टुँडिखेल देख्न पाउने छैनन्,’ अभियन्ता तुलाधरले भने, ‘त्यसैले यसको संरक्षणमा महानगरले ध्यान दिओस् भन्ने चाहेका छौं।’ संविधानको धारा ४८ (घ) ले सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने कर्तव्य तोकेको भन्दै उनले टुँडिखेललाई अतिक्रमणबाट स्वतन्त्र बनाउन नागरिक स्तरबाट आवाज उठेको बताए।

महानगरका प्रशासन प्रमुख ढकालले टुँडिखेलमा रहेको अस्थायी बसपार्क समयमै हटाउन नसकेको स्विकारेका छन्। ‘६ महिनासम्म मात्र खुल्ला मञ्चमा बसपार्क राख्ने भनिएको थियो तर अहिलेसम्म हटाउन सकिएको छैन। भ्युटावर बनाउने समय लम्बिँदा बसपार्क पहिलेकै स्थानमा सार्न नसकेको हो,’ उनले भने। भ्युटावर निर्माण समयमै नसकिएपछि चालु आर्थिक वर्षबाट फेरि ५ वर्षको म्याद थपिएको छ। काठमाडौं महानगरकी अनुगमन समिति प्रमुख तथा उपमेयर हरिप्रभा खड्गीले टुँडिखेल बचाउने जिम्मा जनप्रतिनिधिकै भएको बताएकी छन्। भूकम्प जस्तो प्राकृतिक प्रकोपबाट बच्न र आ श्रय लिने थलो टुँडिखेल बचाउनै पर्ने उपमेयर खड्गीको भनाइ थियो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा सार्वजनिक जग्गामा अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कानुनी दायित्व स्थानीय सरकारलाई दिइएको छ। महानगर आफ्नो दायित्व पूरा गर्नबाट पन्छिँदै आएकोमा नागरिक स्तरबाट अकुपाइ टुँडिखेल अभियानको थालनी भएको हो।

अभियानको उद्देश्य टुँडिखेलमा भइरहेको अतिक्रमण रोक्ने र यसलाई खुल्ला पार्कमा विकास गर्नु रहेको अभियन्ताहरू बताउँछन्। संयोजक विजय श्रेष्ठ तत्कालका लागि टुँडिखेलमा रहेका अस्थायी संरचना हटाउन नागरिक स्तरबाट दबाबमूलक गतिविधि जारी राख्ने बताउँछन्। भन्छन्, ‘यो अभियानले सरकारलाई नैतिक दबाब मात्र दिँदैन उत्तरदायित्व बोध गराउनेमा विश्वस्त छु।’

अभियन्ताले काठमाडौंमा रहेको एक मात्र विशाल मैदान टुँडिखेल बचाउन ‘अकुपाई टुँडिखेल’को अवधारणा ल्याएका हुन्। नागरिक स्तरबाट कात्तिक २३ गते टुँडिखेल मानव साङ्लोले घेरिएको थियो भने दोस्रो साता टुँडिखेलमा खरीको बोट रोपिएको थियो। गएको शनिबार टुँडिखेलमा साहित्यिक जमघट गर्दै त्यसको महत्व उजागर गरियो। तीन महिनासम्म प्रत्येक शनिबार टुँडिखेलसँग जोडिएर सचेतनामूलक अभियान सञ्चालन गरिने अभियन्ताहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.