समानताको पुस्ता : बलात्कारविरुद्ध ऐक्यबद्धता

समानताको पुस्ता : बलात्कारविरुद्ध ऐक्यबद्धता

नोभेम्बर २५ बाट सुरु हुने लैंगिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय सोह्रदिने अभियान यस वर्ष ‘समानताको पुस्ता : बलात्कारविरुद्ध ऐक्यबद्धता’ नामक राष्ट्रिय नारासहित नेपालमा विविध कार्यक्रम र अभियानसहित सुरु भएको छ। नेपाली समाजमा पुरुषद्वारा महिलामाथि हुने बलात्कारका घटना बढ्दै गएका तथ्यांक देखा परेकाले बलात्कारविरुद्ध ऐक्यबद्धता जनाउनुपर्ने आवश्यकता महसुस भएको हुनुपर्छ। महिला र पुरुष दुवै अस्तित्वका समान सृजना भएकाले नै शिक्षा, स्वास्थ्य, सशक्तीकरण, स्वतन्त्रता, हरेक क्षेत्रमा समान अवसर, समान जिम्मेवारी, समान अधिकार, सेवा, लाभ, स्रोतसाधन आदिमा समान पहुँच र नियन्त्रण कायम रहोस् भन्ने आशय नै समानता र ऐक्यबद्धताको मर्म हो।

समाजमा रहेका व्यक्तिहरूका बीचमा महिला र पुरुषका सम्बन्धमा सोच र व्यवहारमा विभेद आउञ्जेल समानताको आभास अनुभव गर्न सकिँदैन। प्राकृतिक रूपमा महिला र पुरुषका आफ्नै शारीरिक बनोट, स्वभाव र रुचि छन्। तर व्यावहारिक रूपमा जीवनशैली जिउने क्रममा समाजमा योगदान दिने पक्ष होऊन् या जीवन जिउने तरिका र स्वतन्त्रतामा पुरुष भएकैले महिलामाथि अन्याय गर्नु सरासर अमानवीय प्रवृत्ति हो। घर र समाजले पुरुष प्रधानतामा अन्धविश्वास गर्नु र पुरुषका अमानवीय कर्महरूलाई पनि मान्यता दिइँदै आएकाले समाजमा बलात्कारजस्ता अमानवीय कार्य बढ्दै जाने गरेका हुन्। महिला र पुरुष समान हुन् भन्ने सोचको विकास हुन प्रत्येक व्यक्तिमा आन्तरिक रूपमै चेतनाको विकास हुन जरुरी हुन्छ। परम्परागत अमानवीय घटनालाई न्यूनीकरण गर्न बाहिरी शिक्षाले भन्दा पनि आत्मविकास गराउने प्रज्ञापूर्ण शिक्षाको जरुरी हुने रहेछ भन्ने तथ्य पुष्टि भइसकेको छ। किनकि सभ्य, सुसंस्कृत र शिक्षितभनाउँदा पुरुषबाट पनि महिला तथा बालबालिकामाथि बलात्कार गरेका घटना धेरै समाचार बनिसकेका छन्। एउटा व्यक्ति किन हिंस्रक बन्छ ? भन्ने कुरा व्यक्तिको मनोविज्ञानमा खोज्न नसक्दासम्म जतिसुकै अभियान चलाएर जतिसुकै कडा कानुन बनाए पनि हिंसात्मक घटना सहजै न्यूनीकरण हुनेवाला छैन।

किनभने जन्मिदा सबै व्यक्ति उही गुण लिएर आएको भए पनि विस्तारै व्यक्तिको आचरणमा परिवर्तन आउँदै जानु, व्यक्तिको बोलीचाली, सोचाइ, अभिव्यक्ति र गतिविधिमा फरकपन देखिनु मनोविज्ञानकै कारण हुन्। मानिसको स्वभाव त प्रेमिल, भावुक, कल्याणकारी, शान्त, सहयोगी, परोपकारी र मिलनसार हुनु हो। व्यक्ति यी गुणवत्ताबाट पर हटेर हिंसात्मक कार्यमा सरिक हुन्छ भने उसको स्वभाव, शारीरिक बेचैनी, भावना, उत्तेजना र नकारात्मक सोच र अरूलाई कष्ट पुर्‍याएर आनन्द लिने सोच बनाएको हुन्छ भने घटनाको कारण बाहिर परिस्थितिमा नभएर व्यक्तिको मनस्थितिमा छ भन्ने बुझ्न जरुरी हुन्छ। मानसिक शान्ति, प्रफुल्लता, प्रसन्नता, उत्तरदायित्व बोध र अरूलाई पनि खुसी मिल्ने काम गर्न खोज्ने व्यक्तिले कसैलाई हानि पुर्‍याउन सक्दैन। यो गुणवत्ता प्रत्येक व्यक्तिलाई अस्तित्वले दिएको छ र पनि सबैले यो गुणलाई आफ्नो जीवनमा अपनाउन नसकेकाले समाजमा हिंसात्मक कार्य बढ्दै गएका हुन्छन्।

जागृतिमूलक शिक्षा दिन सकेमा मात्र बलात्कारविरुद्ध ऐक्यबद्धता जनाउने सशक्त र प्रभावकारी माध्यम बन्न सक्छ भन्ने ज्ञान हामी सबैमा हुन जरुरी छ।

विशेषगरी युवाजमात यस्ता घटनामा फस्नु भनेको दुर्भाग्य हो। जीवनको मूल्यलाई जान्न र बुझ्न नसक्दा, जीवन जिउने तरिका थाहा नपाउँदा र सही व्यक्तिको संगत र सही मार्ग थाहा नपाउँदा युवाहरू जीवनको विपरीत मार्गमा लागिरहेका छन्। त्यस्ता व्यक्तिलाई सही मार्गमा मार्गनिर्देश गर्ने घरपरिवारका सदस्य, समाजका अगुवा र राष्ट्रले नै यस्ता चेतना जागृत शिक्षाका अवसरहरू सृजना गर्न सकेमा अमानवीय दुर्घटनाबाट राष्ट्र, समाज र व्यक्तिलाई नै बचाउन सकिन्छ। व्यक्तिमा शारीरिक रोग के कारणले लागेको हो, खोजेजस्तै व्यक्तिमा अमानवीय भावना र उत्तेजना कसरी पैदा हुन्छ भन्ने मानसिक कारण पनि खोजिनुपर्छ तब मात्र दीर्घकालीन रूपमै यस्ता समस्याले समाधान पाउनेछन्। व्यक्ति जब रचनात्मक कार्य, योग, ध्यान, आहारशैली र सहज जीवनशैलीबाट टाढा हुन्छ तब हिंसात्मक कार्यमा संलग्न हुन्छ। यो गहनतम् रहस्य उजागर र मनन गर्न नसकिञ्जेल बाहिरी अभियान, भाषण र नाराले अभियन्ताको उद्देश्य पूरा नहुन सक्छ र समाज र राष्ट्रले पनि सही योगदान दिन नसक्ने अवस्था सृजना हुन सक्छ। सबैले स्विकार्नैपर्छ– मानिस प्रकृतिको उपज हो।

मानिस महिला–पुरुष दुवैको संयुक्त गुण हो। मानसिक, शारीरिक र भावनात्मक रूपमा प्रत्येक मानिस एउटै हुन्छन् र सबैको लक्ष्य जीवनमा सुख, शान्ति र आनन्द प्राप्त गर्दै एउटा सामाजिक प्राणीको उदाहरण प्रस्तुत गर्नु नै हो। लिंग, जात, रङ र वर्णका आधारमा देखाइने भिन्नता र गरिने अलग–अलग व्यवहार समाजको विकाससँगै विकसित भएको एउटा प्रवृत्ति मात्र हो। चेतना र बुद्धिका कारण मानिस प्राणीहरूमा सर्वोत्कृष्ट प्राणी हो। मानिस जन्मदेखि नै क्रूर र हिंस्रक भएर जन्मिँदैन। करुणा र प्रेम उसको जन्मजात गुण हो। तर विकसित हँुदै गएको आजको समाजमा महिला भएकै कारणले गरिने भेदभाव र हिंसाका प्रकृति बढ्दै जानुले महिलाले आफ्ना हक–अधिकार माग्नुका साथै कानुनमा पनि सुरक्षित रहोस् भनेर आवाज उठाउँदै आउनुपरेको छ। धेरै वर्षहरू बितिसके। यस्ता अभियान र कार्यक्रमले निरन्तरता पाउँदै आएको तर अब सोच्नुपर्छ– आजसम्मका अभियानबाट नेपाली महिलाका जीवनमा सकारात्मक बदलाब ल्याउन सकेका छन्, छैनन् ? छैनन् भने के–के कुरामा अझै महिला पिछडिएका छन् ? राज्य, दल, नागरिक, समाज अनि महिला अधिकारका नाममा सक्रिय गैरसरकारी संघसंस्थाले केकस्ता भूमिका निर्वाह गरेका छन् र कहाँ चुकेका छन् ? यस्ता प्रश्नमा गहन बहस हुनुपर्छ। नेपाली चेलीमाथिको बलात्कारका घटना एकपछि अर्को बढ्दै जानुले महिला मुद्दा केवल केही टाठाबाठाहरूको गरिखाने माध्यममा सीमित भएको छ भन्ने आशंका कसैमा नपर्ने गरी प्रभावकारी बनाइनुपर्छ।

जब मानिसले आफ्नो होस गुमाउँछ, कामना र वासनाले लिप्त हुन्छ। उसका इच्छा र आकांक्षा आवश्यकताभन्दा बाहिरका, अनावश्यक र पूरा हुन नसक्ने छन्। त्यस्ता परिस्थितिबाट हिंसायुक्त प्रवृत्ति सृजना हुन्छन्। कसरी मानिसक रूपमै मानिसमा चेतना जगाउने र नैतिक शिक्षा दिने, शान्त मन, खुसी र उल्लासमय जीवन जिउने कला सिकाउने र आफूसँग जे छ, त्यसमा रमाउन सिक्ने कलाको उजागर गर्ने कार्यक्रम आजका युवापिँढी र पिछडिएका वर्गमा दिन सकेमा नागरिक समाज, राज्य र महिला अधिकारकर्मीले गरेको योगदानको सार्थकता रहनेछ। महिला जसरी स्वतन्त्र रूपमा जन्म लिएका छन्, जन्ममा कसैको अधीन छैन त्यसैगरी पाएको जीवन सुख र खुसीले बाँच्न पाउनुमा कसैले अधिकार दिनु पर्दैन। यो महिलाको र प्रत्येक मानिसको जन्मसिद्ध अधिकार हो। स्वतन्त्र रूपमा जीवन जिउने, शिक्षा आर्जन गर्न पाउने, आफ्नो कर्म गर्न र आफ्ना भावना–विचार व्यक्त, पीडित हुँदा उजुरी गर्न पाउने र न्याय प्राप्त गर्न पाउने अधिकारबाट कसैले वञ्चित गराउन सक्दैन महिलालाई।

अब महिलाले पनि अधिकारका मुद्दा, अधिकारका आवाजभन्दा पनि स्वतन्त्रताका लागि शान्ति र आनन्दसँग जीवन जिउने कला सिकेर त्यसलाई समाजमा व्यावहारिक रूपमा प्रयोग गर्दै समाज रूपान्तरणमा लाग्ने हो कि ? समाजमा हुने अमानवीय घटना र त्यसका दोषीहरूलाई सजायमार्फत सुधार्न खोज्नुअगाडि ऊ हिंसात्मक घटनामा सामेल हुने सोचाइ नै नराखोस् भन्ने उपाय खोज्नु र समाजका सबै व्यक्तिलाई प्रज्ञावान् बनाएर सबैप्रति समभाव र समानता राख्न सकोस् भन्ने जागृतिमूलक शिक्षा दिन सकेमा मात्र बलात्कारविरुद्ध ऐक्यबद्धता जनाउने सशक्त र प्रभावकारी माध्यम बन्न सक्छ भन्ने ज्ञान हामी सबैमा हुन जरुरी छ। अभियान, सजाय र नाराले मात्र व्यक्तिमा रूपान्तरण आउन सक्दैन। हरेक अभियानका परिणाम के प्राप्त भए, कमजोरी के रहे, सकारात्मक परिणाम के आए र चुनौती के हुँदा रहेछन् भन्ने मूल्यांकन पनि साथसाथै हुन सक्यो भने अभियानहरू प्रभावकारी हुने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.