सम्पदा क्षेत्रमा मौलायो विकृति

सम्पदा क्षेत्रमा मौलायो विकृति

काठमाडौं : हनुमानढोका दरबार क्षेत्रमा विकृति मौलाएको छ। जथाभावी पार्किङ, व्यापारीको चहलपहल र युवाको अस्वाभाविक जमघट बढ्न थालेपछि विश्वसम्पदा सूचीभित्र पर्ने यो क्षेत्र अव्यवस्थित र अराजक बन्न थालेको छ।

सम्पदा क्षेत्र नै कुरुप बनाउने गरी हनुमानढोका क्षेत्रमा फोहोर थुप्रिएको छ। देवदेवालयमा चियाको व्यापार हुन्छ। युवाहरू मन्दिरमाथि नै बसेर मध्यपान, धूमपान गर्छन्। साथै, दरबार क्षेत्रभित्रका मठमन्दिर व्यापारिक प्रयोजनका लागि खोलिन थालेपछि यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वमा ह्रास आएको छ। सम्पदा क्षेत्रका मूर्त÷अमूर्त सम्पत्ति जगेर्ना गर्न युनेस्कोले बारम्बार चेतावनी दिँदै आए पनि विकृतिलाई रोक्न गुठी संस्थान र महानगरले ठोस कदम चाल्न सकेको छैन।

पूजाको नाममा श्वेत भैरवको व्यापार 

नेवार समुदायमा भैरवप्रति विशेष आस्था छ। आजुद्यः, अजिमा पछि भैरव नै मुख्य देवता मानिन्छन्। महादेवको पाँचौं अवतार भैरवका विविध स्वरूपमध्ये कालभैरव र श्वेतभैरव जनमानसमा बढी लोकप्रिय छन्। हनुमानढोका परिसरमा रहेको यी भैरवका विशाल आकृतिमा हरकोहीको नजर पुग्नु स्वाभाविक हो। यसैको फाइदा उठाउँदै भैरवस्थानलाई व्यापारिक केन्द्र बनाउन थालिएको छ।

विशाल श्वेत भैरवको संरचनामा ह्रास आउन नदिन यसलाई काठले बनेको नौ झ्यालभित्र सुरक्षित राखिएको हो। तर, आजभोलि झ्याल दैनिक खोलिन्छ। काठको संरचनाभित्रै दियोको बत्ती बालिन्छ। दैनिक पूजा आराधना चल्छ। दानपेटीसमेत राखेर भक्तजनबाट पैसा लुट्ने काम भइरहेछ।

गुठी संस्थानले इन्द्रजात्राको अवसर पारेर उक्त क्षेत्रको सांस्कृतिक प्रवद्र्धनमा ५० लाखभन्दा बढी बजेट खर्चंदै आएको छ। यसबाट श्वेतभैरवका लागि केही रकम छुट्याइन्छ। हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत महानगरले समेत बजेट छुट्याएको छ। उक्त बजेट सम्पदा क्षेत्रभित्रको मूर्त÷अमूर्त संस्कृतिको जगेर्ना गर्न दिइएको हो। तर, श्वेतभैरव व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ताम्राकार बजेट अभाव भएको गुनासो गर्छन्।

श्वेतभैरवलाई व्यापारिक केन्द्र नबनाउन त्यहाँका पाला (पूजाको पालो परेको व्यक्ति) लाई बारम्बार सम्झाएको हनुमानढोका हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मी बताउँछिन्। ‘श्वेत भैरवलाई बन्द राख्न मौखिक रूपमा सम्झाउँदै आएका छौं। गुठी संस्थानलाई समेत पत्र पठाएका छौं तर कुनै आधिकारिक जवाफ आएको छैन,’ प्रमुख नकर्मीले भनिन्।

गुठी संस्थान शाखा कार्यालय काठमाडौंका प्रमुख शैलेन्द्र पौडेलले भने श्वेतभैरवको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘श्वेतभैरव दैनिक खुल्ने गरेको मलाई जानकारी छैन,’ पौडेलले भने, ‘यदि नियमविपरीत कार्य भएको रहेछ भने यस विषयमा छलफल गरी निकास निकाल्नेछौं।’ श्वेतभैरवलाई व्यापारीकरण गर्न नदिने पौडेलले बताए।

सर्वसाधारणका लागि हाथुद्यः (श्वेतभैरव)को दर्शन वर्षको तीन पटक मात्र खुला राखिन्छ। हाथुद्यःले येंयाः (इन्द्रजात्रा)को अवसरमा ८ दिन आफ्नो विशाल तथा पूर्ण अनुहार देखाउँछन्। बडादसैंमा दर्शन खुला राखिनुका साथै चैते दसैंमा श्वेतभैरव एक दिन एउटा झ्यालबाट चिहाउँछन्। बाँकी वर्षभरि नौ वटा टिकी झ्याः भित्र गुपचुप बस्ने गर्छन्। तर, आजभोलि नौ झ्यालमध्ये एक झ्याल व्यापारिक प्रयोजनका लागि सधँैजसो खुला रहन्छ। ताम्राकार भन्छन्, ‘बिहान र बेलुकी दैनिक झ्याल खोल्दै आएका छौं। महानगरले नै झ्याल खोल्ने अनुमति दिएको हो।’

संस्कृतिविद्‍ तथा जानकारहरू श्वेतभैरवको पूजा तान्त्रिक विधिअनुसार गर्नुपर्ने भएकाले सधैँ खुला राख्न नहुने बताउँछन्। श्वेतभैरवको पछाडि मसान चोक छ। राजा–महाराजा खलकमा कसैको मृत्यु भएमा सोही स्थानमा जलाइन्थ्यो। त्यहीँकै इनारबाट बागमतीमा अस्तु बगाइन्थ्यो। श्वेतभैरव र मसानघाट एकअर्कासँग सम्बन्धित भएकाले मुख खुला भएको भैरवलाई बन्द गरेर राख्नुपर्ने मान्यता छ।

संस्कृतिविद्‍ डा. त्रिरत्न मानन्धरका अनुसार रणबहादुर शाहले उपत्यकाका देवीदेवतामा शक्ति भए÷नभएको प्रमाणित गर्न सबै मूर्तिलाई फुटाएर हेरेका थिए। श्वेतभैरवको सेतो मूर्ति फुटाउँदा उनी ठाउँको ठाउँमै छटपटाएर मुर्छा परे। संस्कृतविद् मानन्धर भन्छन्, ‘उक्त घटनाले राजा रणबहादुरमा देवीदेवतामा शक्ति हुन्छ भन्ने विश्वास पलाएको थियो।’ श्वेतभैरवमा दैवीशक्ति भएकै कारण शान्ति पूजा गरेर श्वेतभैरव पुनःस्थापना गराएको हो।

विकृतिको अर्को नमुना कालभैरव

हनुमानढोका परिसरमा रहेको काल भैरवस्थान पनि विकृतिको नयाँ रूप बनेको छ। सधँै खुला रहने भैरवको वरिपरि फलामे डण्डीले घेरिँदा सहजै दर्शन गर्न सकिँदैन। भक्तजनले कालभैरवको दर्शन गर्न दियो, फूलमाला चढाउनुपर्ने नियमजस्तै बनेको छ। उक्त क्षेत्रमा व्यापारी, मगन्तेहरूको लामै लाइन लाग्छ। फोहोरको समस्या उत्तिकै छ। मध्यपान, धूमपान बिक्रीजस्ता कार्य मौलाएका छन्।

मानिसको आस्थासँग जोडिएको भगवान्को नाम बेचेर व्यापारीले पैसा कमाउन थालेपछि संस्कृतिप्रेमी यसको चर्को विरोध गर्न थालेका छन्। केही दिनअघि भैरवअष्टमीका दिन कालभैरवअगाडि ह्यापी बर्थ डे केक नै काटियो। ‘ह्यापी बर्थ डे बा’ लेखेर काटिएको केक सामाजिक सञ्चालमा भाइरल भयो। कालभैरव बज्राचार्यद्वारा पुजिने भएकाले अण्डाका परिकार बर्जित छ। यस घटनालाई पश्चिमी संस्कृतिको प्रभाव भएको भन्दै व्यापक आलोचना भइरहेछ।

पुजारी तथा संस्कृतिविद् यज्ञमानपति बज्राचार्य बर्थ डे केक काट्नु संस्कृतिको उपहास भएको बताउँछन्। ‘भगवान्को श्रद्धा गरेर जे चढाए पनि हुन्छ तर केक नै काटेर भैरवको जन्मोत्सव मनाउनु ठीक होइन,’ बज्राचार्यले भने। भैरव स्थान वरपर मध्यपान बिक्री गर्नु धार्मिक आस्थाविपरीत भएको समेत उनले बताए।

हनुमानढोका दरबार क्षेत्र विश्वसम्पदा सूचीभित्र पर्छ। वडा नं. २४ अन्तर्गत पर्ने उक्त सम्पदा क्षेत्रको संरक्षण पुरातŒव विभाग, गुठी संस्थानको जिम्मेवारीभित्र परेको वडाध्यक्ष बालकृष्ण श्रेष्ठ बताउँछन्। ‘पुरातत्व र गुठी संस्थानको सहकार्यमा हनुमानढोका क्षेत्र संरक्षणमा छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘विकृति हटाउन हामीले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन। संरक्षण गर्नुपर्ने गुठी संस्थान सुतेर बसेको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.