चिस्यान केन्द्र अलपत्र : ८ वर्षमा ३० प्रतिशत काम

चिस्यान केन्द्र अलपत्र : ८ वर्षमा ३० प्रतिशत काम

तानसेन : पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानलाई लक्ष्य गरी निर्माण सुरु गरिएको चिस्यान केन्द्र निर्माण अलपत्र परेको छ। तानसेन नगरपालिका-७ बाघखोरमा बन्ने कोल्ड स्टोर विगत ६ वर्षदेखि अलपत्र अवस्थामा छ।

भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण सुुरु भएको कोल्ड स्टोरको ८ वर्षको अवधिमा ३० प्रतिशत काम मात्र सम्पन्न भएको छ। निर्माण कम्पनीको लापर्बाहीले ढिलाइ भएको हो। समयमा कोल्ड स्टोर चिस्यान केन्द्र निर्माण पूरा नभएपछि यस क्षेत्रका किसान निराश छन्।

यस क्षेत्रमा तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायत कृषि उत्पादन लाई व्यवस्थित रूपमा चिस्यान केन्द्रमा कृषि उत्पादनलाई भण्डारण गर्न किसानको मागअनुसार चिस्यान केन्द्र निर्माण सुरु गरिएको थियो। केही समय भारतीय राजदूतावासले सम्झौताअनुसारको रकम निकासा नभएको भन्दै निर्माण कम्पनीले चिस्यान केन्द्रको काम बीचमै छाडेको थियो। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि तानसेन नगरपालिकाका प्रमुखको सक्रियतामा निर्माण कम्पनीलाई काममा फर्काए पनि नियमित काम गरेको छैन।

तानसेनमा चिस्यान केन्द्र निर्माण कार्य सुरु भएकोमा उत्साहित बनेका किसान निर्माण कार्य रोकिएपछि अन्योलमा परेका छन्। नगरपालिकाले चिस्यान केन्द्रलाई पुनः अर्को निर्माण कम्पनी छनोट गरेर भए पनि काम पूरा गर्नु पर्ने किसान एकप्रसाद भण्डारीले बताए। पाल्पामा फलफूलमा सुन्तला, कफी, अदुवा, बेसार, तरकारी अत्यधिक उत्पादन हँुदै आएकोले बजार मूल्य कम भएको समयमा चिस्यान केन्द्रमा भण्डारण गर्न सकिन्छ। भण्डारण गरिएको वस्तु बजारमूल्य बढेपछि बिक्री गर्न सक्ने भएकाले चिस्यान केन्द्र आवश्यक भएको किसान माधवप्रसाद भट्टराईले बताए।

३३ फिट अग्लो, २६ मिटर लम्बाई र १४ मिटर चौडाइ, २ हजार टन क्षमता रहेको चिस्यान केन्द्र ४ करोड ९९ लाख ९१ हजार ९ सय ५ रुपैयाँमा सम्झौता भएको थियो। निर्माण कम्पनीले समयमा काम पूरा नगरेपछि तानसेन नगरपालिकाले तीनपटक म्याद थपिसक्दासमेत ३० प्रतिशत काम मात्र गरेकोले जरिवानासहितको क्षतिपूर्तिका लागि पत्राचार गरेको छ। २०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेठ २३ गते सम्पन्न गर्ने सम्झौता गरेको थियो।

 समयमा काम पूरा नभएपछि २०७१ मंसिर १५ गते पहिलोपटक, २०७२ मंसिर १५ गते दोस्रो पटक, २०७५ असार ३० गते तेस्रोपटक म्याद थप गर्दा समेत निर्माण कम्पनीले ३० प्रतिशत मात्र काम गरेको छ। समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पूर्वनिधारित क्षतिपूर्ति ४८ लाख रुपैयाँ रकम तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको छ। निर्माण कम्पनीले नगरपालिकाको पत्राचारलाई बेवास्ता गरेमा कालोसूचीमा राख्ने गरी कारबाही अगाडी बढाउने तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताए।

निर्माण कम्पनी हिमडुंग एन्ड थोकर र जयरक्तकाली जेबीले भने कामअनुसार रकम नपाएको कारण काम रोकिएको जनाएकोे छ। तानसेन नगरपालिकाले भने हालसम्म निर्माण कम्पनीलाई भ्याटसहित २ करोड ६ लाख ३० हजार ५ सय रुपैयाँ भुक्तानी गरेको जनाएको छ। विगतका वर्षमा पूर्वाञ्चलका विभिन्न जिल्लामा निर्माण भएका चिस्यान केन्द्र राम्ररी प्रयोगमा नआएको, तानसेनमा निर्माण भइरहेको कोल्ड स्टोर पनि प्रयोगमा नआउने बहाना बनाउँदै भारतीय राजदूतावासले सम्झौताअनुसारको रकम दिन आनाकानी गर्दै आएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.