ट्राफिक कारबाहीपछि दुर्घटना, मृतक १४ कै सनाखत

ट्राफिक कारबाहीपछि दुर्घटना, मृतक १४ कै सनाखत

बागलुङ : जिल्लाको पश्‍चिम बडिगाड गाउँपालिकामा मंगलबार बिहान भएको जीप दुर्घटनामा मृत्यु हुने १४ जनाकै पहिचान खुलेको छ । गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोलातर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका ७ भिमगिठेको घोकर्नामा दुर्घटनामा परेको थियो। 

ठूलो मानवीय क्षती हुनेगरि भएको दुर्घटना तीव्र गतिका कारण भएको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी निरीक्षक रिणबहादुर बैदवारले जानकारी दिए।दुर्घटनाग्रस्त जीप मध्यपहाडी लोकमार्गको सडक छेउका चार पिल्लर भाँच्दै करिब ५ सय मिटर तल खोलामा खसेको छ । 

गुल्मीको इश्मा गाउँपालिकाबाट बालबच्चाबाहेक २२ जना यात्रु बोकेर आएको जीप दुर्घटना हुनुभन्दा करिब आधा घण्टा अगाडी ग्वालीचौरको खौलारामा ट्राफिक कारवाहीमा परेको थियो ।ट्राफिक प्रहरीले ओभरलोड भएको भन्दै आठजनालाई सोही स्थानमै झारेको थियो । दुर्घटनामा परेको जीपमा बालबच्चा सहित १८ जना सवारी थिए ।

ट्राफिकले झारेका यात्रुले अर्को गाडी खोजेर हिँडेको भीमबहादुर कार्कीले बताए । 'प्रहरीले झारिदिएका सबैलाई बाँच्न लेखेको रहेछ, 'कार्कीले भने, 'निसीखोलामा कुल पूजा गर्न र निम्तो मान्न आएका दाजुभाइ, पाहुना र चेलीबेटीमा रुवाबासी छ, पूजाको बेलामा यो के भोग्नुपर्‍यो।'

दुर्घटनामा परेका सबै बुधबार निसीखोलाको बायखोलामा कार्की बन्धुको कुलपूजाका लागि जाँदै थिए । कार्की बन्धुहरुको हरेक तीन/ तीन वर्षमा हुने कुल पूजाका लागि इश्माबाट आफन्त आउने बेलामा अप्रिय दुर्घटनाको खबर सुन्नु परेको बायखोलाका दिलबहादुर कार्कीले बताए।

निसीखोलामा मंगलबार राती कार्की दाजुभाइको कुल पूजाका लागि झाँक्रीसहित जाँगन बस्ने र बुधबार कुल पूज्ने कार्यक्रम थियो । दुर्घटना पछि कार्की गाउँ भनेर चिनिने निसीखोला १ को बायखोला गाउँसहित गुल्मी इश्मा स्तब्ध बनेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका ५ का वर्ष ३० का सूचना कार्की, वर्ष ४० की बसुन्धरा कार्की, वर्ष २२ की माया थापा, वडा नम्बर ४ का सवारी धनी तथा चालक वर्ष २५ का रेशम थापा रहेका छन्। 

यस्तै ४० वर्षीया सिता कार्की, उनकी चार वर्षीया छोरी अनुसा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीया महेन्द्र कार्की, ४० वर्षीय भुमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासीको बर्दघाट नगरपालिका २ बस्ने  ६० वर्षीया मुमा कार्की, बडिगाड गाउँपालिका ५ का ५५ वर्षीया लक्ष्मी केसी, कञ्चनपुर बस्ने ५५ वर्षीय धनबहादुर कार्की रहेका छन् । इश्मा गाउँपालिकाकै ६५ वर्षीय धनबहादुर कार्की भने अझै बेपत्ता छन्। 

दुर्घटनामा तीनजना घाइतेलाई ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। 'हामीले यताबाट पनि पहल गर्‍यौं, प्रजिअ क्षत्रीले भने, 'गुल्मीका सांसद मन्त्री गोकर्ण बिष्ट आएर घाइतेलाई काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.