चिरागको किक
कराते खेल्न रुचि बढ्नुको कारण मेरो ड्याडी नै होइसिन्छ। सानै उमेरमा ‘किक’ले चर्चित भएका चिराग जंग सुवेदीले ‘खेलमा किन रुचि जाग्यो ? ’ भनेर सोध्ने जो कोहीलाई यही उत्तर दिने गरेका छन्। उनी कराते खेलाडी हुन्।
ड्याडी नै गुरु
नौ वर्षका चिराग, उमेरले साना छन्। तर उनी खेलको मामलामा कुनै व्यावसायिक खेलाडीभन्दा कम छैनन्। उनको पहिचान नै ‘किक’ हो। ‘मैले जान्नेबुझ्ने भएदेखि बुवालाई खेलिरहेको देख्थेँ’, खेलमा रुचि जागेको कुरा सम्झिँदै उनी भन्छन्, ‘ड्याडीलाई विभिन्न एक्सन एक्सनका ‘किक’ हानेको देखेर मलाई पनि खेलूँ खेलूँ लाग्थ्यो। उहाँ मेरो ड्याडीसँगै गुरु पनि होइसिन्छ।’ घरमा कोही नभएको बेला होस् र एक्लै हुँदा ड्याडीले अभ्यास गरेको सम्झी सम्झी उनले पनि नक्कल गर्ने गर्थे।
करिब २६ वर्ष अगाडिदेखि व्यावसायिक रूपमा कराते खेल्दै आएका कराते प्रशिक्षक राजेन्द्र सुवेदी चिरागका ड्याडी हुन्। आफू खेलाडी भए पनि उनी आफ्नो छोरालाई खेलाडी होइन, मोडल बनाउन चाहन्छन्। तर, कराते खेल टीभीमा हेर्दा होस् या प्रत्यक्ष रूपमा कुनै टुर्नामेन्ट हेर्दा, चिरागको हाउभाउ देखेर उसको रुचि यतैतिर भएको उनले थाहा पाए। त्यसपछि उनलाई कराते सिक्न पठाए।
ड्याडीले गर्ने हरेक क्रियाकलाप जस्ताको तस्तै कपी गर्ने खुबी भएका चिरागलाई राजेन्द्रले नै बिहान बेलुका अभ्यास गराउन थाले। यसरी अभ्यास गर्दै जाँदा उनको शरीर एकदमै फ्लेक्जिबल भयो। एउटा राम्रो खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण चिरागमा आफूले पाएको उनी बताउँछन्। भन्छन्, ‘उसको शरीर एकदमै फ्लेक्जिबल छ, सायद यो वंशाणुगत गुण पनि हुन सक्छ। उसले गर्ने हरेक क्रियाकलाप खेलाडीकै हुन्छ।’ त्यसपछि चिरागलाई उनको ड्याडीले घरमा मात्र होइन, क्लबमा पनि लैजान थाले। त्यहाँ सिक्दा चिरागलाई झनै ऊर्जा मिल्यो।
चिराग एकदमै लजालु स्वभावका छन्। धेरै बोल्दैनन्। सबै कुरा आफ्नो खेलमार्फत देखाउन चाहन्छन्। ड्याडीले मोडल बनाउन चाहेको कुरा भने उनलाई त्यति चित्त बुझेको छैन। उनी भन्छन्, ‘ड्याडीले मलाई मोडल बनाउन चाहे पनि म खेलाडी नै बन्न चाहन्छु। पछि मोडलिङ पनि गर्छु।’ मुसुक्क मुस्कुराउँदै उनी थप्छन्, ‘खेलले मानिसलाई स्वस्थ र सुन्दर बनाउँछ। फिट बनाउँछ। फिट भएपछि मोडलिङ पनि गर्छु।’
घरमा अभ्यास गर्न उनीसँग ‘किक प्याड’, ‘ग्लोब्स्’, ‘पन्च प्याड’ सबै उपलब्ध छन्। उनले ६ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा खेल्न थालेका हुन्। खेल्न सुरु गरेको तीन वर्ष बितिसक्दा पनि उनी पहिलो बेल्ट अर्थात् ‘ह्वाइट बेल्ट’मै सीमित छन्। यसबारे उनका गुरु भन्छन्, ‘अहिले ऊ सानो छ। त्यसैले उसले सबै कुरा सिके पनि उसलाई बेल्टको कुनै मतलब हँुदैन। जुन दिन उसले बेल्टको महŒव बुझ्छ, त्यस दिन बेल्ट ग्रेडिङ गरिदिन्छु।’
टुर्नामेन्टमा सहभागी
सन् २०१८ को जनवरी ८ र ९ मा ‘नेपाल क्योकुसिन बुडो काई कराते एसोसियसन’को आयोजनामा भएको ‘तेस्रो अल नेपाल क्योकुसिन बुडो काई च्याम्पियनसिप २०१८’ अन्डर ३० तौलमा उनी प्रथम भए। यसबाट उनलाई झन् हौसला बढ्यो। यसबाट उनले सम्मान पनि पाए। २०१९ जनवरी १३ र १४ मा सम्पन्न दुईदिने ‘१८आंै माछापुच्छ«े फुल कन्ट्याक्ट कराते एन्ड सातौं क्योकुसिन बुडो काई कराते च्याम्पियनसिप २०१९’ टुर्नामेन्टमा पनि उनले भाग लिए। त्यसमा उनले तेस्रो स्थान हासिल गरे। त्यसैगरी सन् २०१९ कै जुनमा सम्पन्न ‘अल नेपाल क्योकुसिन कान कराते च्याम्पियनसिप’मा उनले पुनः प्रथम स्थान हासिल गरे। यी टुर्नामेन्टले उनमा अझै अघि बढ्ने प्रेरणा थपिदियो। भन्छन्, ‘विभिन्न टुर्नामेन्टमा भाग लिँदा यसले मलाई अझै अगाडि बढ्ने उत्प्रेरणा दिएको छ।’
गिनिज बुकमा प्रयास
उनले गिनिज बुक अफ वल्र्ड रेकडर््सका लागि पनि प्रयास गरेका छन्। यसबारे उनका ड्याडी तथा गुरु भन्छन्, ‘राउन्ड हाउस किक’ उसको पहिचान हो। यो किकले उसले एक मिनेटमा ३० वटा बल ननस्टप झारेको थियो। सम्भवतः विश्वभरि यो आजसम्म कसैले पनि नगरेको प्रशिक्षक राजेन्द्र बताउँछन्।’ उनी थप्छन्, ‘उताबाट ‘यो भएन’ भन्ने खबर आयो। तर कारण बताइएन।’ चिरागले यसका लागि फेरि प्रयास गर्ने भएका छन्।
पढाइसँगै खेल
विशालनगरस्थित मल्पिसिटी स्कुलमा कक्षा ३ मा पढ्ने चिराग स्कुलमा पनि सबैका प्यारा छन्। उनलाई कराते मात्र होइन, फुटबल खेल्न पनि मन पर्छ। उनी स्कुलमा फुटबल खेलका कारण चर्चित छन्। भन्छन्, ‘स्कुलको ‘स्पोर्ट डे’मा म फुटबल खेल्छु। सर मिसहरूले सबैभन्दा राम्रो खेलेको भनेर माया गर्नुहुन्छ।’
खेलसँगै पढाइमा उनी निकै राम्रा छन्। उनले घरमा पढाइ सकेर बाँकी रहेको समयमा करातेको अभ्यास गर्छन्। ‘हामीलाई स्कुलले धेरै होमवर्क दिँदैन, ठिक्क मात्र दिन्छ’, उनले भने। गृहकार्य सकाएर मात्र उनी खेलको अभ्यास गर्छन्। यही कारणले उनी पढाइसँगै खेलमा पनि राम्रो गर्ने विद्यार्थीका रूपमा विद्यालयमा चिनिन्छन्।