गौरवको आयोजना : म्याद सकियो, काम सकिएन

गौरवको आयोजना : म्याद सकियो, काम सकिएन

बागलुङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे सडकखण्ड निर्माणको जिम्मा पाएको एक निर्माण कम्पनीको थप गरिएको समय सकिएको छ । निर्माण सम्झौता अवधि सकिए पनि काम भने अलपत्र अवस्थामा छ । 

बागलुङभित्र रहेको झण्डै १ सय ४० किमी सडकमध्ये दुर्गम ग्रामिण क्षेत्रमा कालोपत्रे भइसक्दा समेत बागलुङ सदरमुकामदेखि बिहुँ खण्डको सडक भने हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने अवस्थामा छ । 

बागलुङ बजारदेखि अक्षेते तर्फसम्मको १३ किमीमा काम गरिरहेको भारत सिद्धिसाई संयुक्त निर्माण कम्पनीले पटक-पटक म्याद थप गरेर फेरी कात्तिक मसान्तमा म्याद गुजारेको छ । उसको ठेक्‍का पनि रद्द हुने, म्याद थप्ने वा अर्को टेन्डरमा जाने समेत अन्यौल छ ।

यो खण्डमा पटकपटक मुद्दा मामिला परेर यसअघिका ठेकेदारले पनि काम पुरा नगरी छाडेका थिए । गत वर्षको हिउँदै कालोपत्रे गर्ने भनेपनि विद्युत र खानेपानीले अवरोध भएको बताएपछि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले खानेपानी र विद्युतसँग सहकार्य गरेर पहल अघि बढाए पनि ठेकेदार कम्पनीले कामै नगरेको स्थानीयको गुनासो छ ।

तर, यो सडकखण्डमा निर्माण जिम्मा लिएको सिद्धिसाई निर्माण कम्पनीको म्याद सकिए पनि नयाँ खरिद ऐन अनुसार आगामी असार मसान्तसम्म काम सक्ने अन्तिम अवसर रहेको आयोजना कार्यालयले बताएको छ । त्यसका लागि निर्माण कम्पनीले तत्काल मजदुर परिचालन गरेर काम अघि बढाउनु पर्ने आयोजनाको शर्त छ ।

वर्षौदेखि बजारको मुख्य नाका आसपासमै सडक अलपत्र पारेपछि अहिले जनआक्रोश बढ्दै गएको छ । नागरिकले आयोजना कार्यालय, देकेदारदेखि, सांसद, जनप्रतिनिधि, कर्मचारीसम्मलाई जिल्लामा आयोजना हुने औपचारिक, अनौपचारिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत निर्माणका लागि दवाव दिन थालेका छन् । तर निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी गैरजिम्मेवार देखिँदै आएको छ । 

कालोपत्रेसहित ढल, ग्राभेलको कामसमेत अलपत्र हुँदा यो खण्डमा दैनिक हजारौं नागरिक सकसको यात्रा गर्नुपर्ने बाध्यतामा रहेको राम शर्मा बताउँछन् । 'यो बाटो हिँड्दा कति दुर्घटनामा परे, कतिले धूलो र हिलोको सास्ती खेपे, कालोपत्रे हुँदा सरर यात्रा आरामदायी गर्न पाउने र समयको किफायतमा कति नागरिक लाभान्वित हुन्थे ?' अधिकारकर्मी शर्माले थपे, 'एउटै ठेकेदार, निकम्मा सरकार र यसका निकायका कारण हामीले कहिलेसम्म सजाय र सास्ती खेपिरहनुपर्ने ?'

अब हरेक नागरिक सरकार, यसका निकाय र ठेकेदारको अतिवादका विरुद्ध बोल्नुपर्ने समय आएको बिहुँका खिमानन्द कंडेलले बताए । 'मुख्य सदरमुकामकै छेउमा देखिएको यो दुर्दशामा सरकार र यसका निकाय बेखवर हुनु बिडम्बनापूर्ण छ,' इञ्जिनियर समेत रहेका कंडेलले भने, 'अब स्थानीय तहदेखि केन्द्रीय तहसम्म सबै क्षेत्रबाट पहल र दवाव दिन जरुरी भएको छ ।'

जिल्लाको बिहुँदेखि घोडाबाँधे खण्डको १२ किमी सडक कालोपत्रे गर्ने जिम्मा पाएको एमपी सूर्य कन्स्ट्रक्सन संयुक्त निर्माण कम्पनीको काम गर्ने म्याद आगामी पुस मसान्तमा सकिदैछ । 

यसले पनि कामै नगरि म्याद गुजार्ने अवस्था देखिएको छ । गौरवको आयोजनामा भइरहेको ढिलाईबारे निर्माण जिम्मा लिएको सूर्य कन्ट्रक्सनका सूर्यबहादुर खड्काले आफू आर्थिक समस्यामा परेकाले ढिलाई भएको बताए । 'काम गराउनका लागि पूँजी सकिएर केही समस्या बेहोरिरहको छु, 'खड्काले भने,  'म्याद थप भयो भने पैसा खोजेर भएपनि काम पुरा गर्छु ।'
 
अब जतिसुकै तीब्र गतिमा काम गरे पनि निर्धारित पुस मसान्तमा काम सक्ने सम्भावना छैन । अलपत्र लोकमार्गका अधिकांश स्थानमा नाली समेत बनेको छैन भने कतिपय स्थानमा चक्ल्याउने काम पनि बाँकी छ । 

भारत सिद्धिसाई निर्माण कम्पनीका प्रमुख दिपेन्द्र शाहीले अहिले ढिलाई भए पनि अब दिने मौकालाई यथेष्ट सदुपयोग गरेर काम सक्ने बताउँछन् । तर, कम्पनीका कामदार फिल्डमा छैनन् । 

अब ठेकेदारको कामको प्रगति र थप गर्न सक्ने आधार हेरेर मात्र अन्तिम म्याद थप्ने नथप्ने निर्णय गरिने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए । 'बिहुँ खण्डको जिम्मा लिएको ठेकेदारले कडा चेतावनी पछि केही कामदार ल्याएको खबर छ,' आयोजना प्रमुख थापाले भने, 'बागलुङ बजार-अक्षेते खण्डको जिम्मा लिएको ठेकेदार कम्पनीलाई पनि अन्तिम मौका छ, गर्नुस् भनेर निर्देशन दिएको छु, अब परिणाम देखिने गरि काम हुनेमा हामी आशावादी छौं।'

दुवै निर्माण कम्पनीले आयोजना निर्माणमा गम्भीर लापरवाही गरेकाले ठेक्‍का तोड्ने बाहेकका सबै प्रक्रिया पुरा भइसकेको र अहिले अन्तिम मौका स्वरुप सचेत बनाएर २१ दिनमा सकरात्मक उपलब्धि र संकेत देखिन गरि काम गर्न निर्देशन दिइएको उनले बताए ।

अबको पहिलो हप्ताभित्र ५०/६० जना मजदुर खटाएर नालीको काम शुरु गर्न, दोस्रो हप्ता थप मजदुर खटाएर अरु बाँकी काम अघि बढाउन र तेस्रो साता बैकल्पिक क्रसर समेत राखे बोक्से भिर लगायतका काम नगरे अन्तिम कारवाहीमा जाने आयोजना प्रमुख थापाले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.