पौडीमा भारत, श्रीलंकाको दबदबा तोडियो

पौडीमा भारत, श्रीलंकाको दबदबा तोडियो

तीन वर्षअघि ब्राजिलको रियो दि जेनेरियोमा विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ आयोजना भएको थियो। त्यो ओलम्पिकमा नेपाली खेलाडीले कुनै चमत्कारिक प्रदर्शन नगरे पनि गौरिका सिंहले नेपाललाई चर्चित बनाएकी थिइन्। गौरिका त्यो ओलम्पिकमा भाग लिने विश्वकै सबैभन्दा कान्छी खेलाडी थिइन्। त्यतिबेला गौरिकाको उमेर मात्र १३ वर्ष थियो।

त्यसको तीन वर्षपछि अहिले फेरि जलपरी गौरिकाले देशको शिर उच्च पारेकी छन्। उनी दक्षिण एसियाली राष्ट्रहरूको ‘मिनी ओलम्पिक’ का रूपमा परिचित सागमा व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। यसअघि नेपालका कुनै पनि खेलाडीले पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सकेको थिएन।

गौरिकाले १३औं सागको बिहीबार भएको महिला दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी हुन्। दक्षिण एसियाली पौडीमा खासगरी भारत र श्रीलंकाली खेलाडीको दबदबा रहँदै आएको छ। तर, बिहीबार सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित नवनिर्मित हिटिङ (तातो पानीसहितको) पौडी पोखरीमा गौरिकाले बलिया राष्ट्रहरूको एकाधिपत्यलाई तोडिन्।

गौरिकाले निर्धारित दूरी दुई मिनेट ५.०६ सेकेन्डमा पूरा गर्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन्। उनले भारतीय खेलाडीलाई दुई सेकेन्डभन्दा पनि कम अन्तरले पछि पारेकी थिइन्। रजत पदकमा समेटिएकी भारतीय खेलाडी शिभांगी शर्माले निर्धारित दूरी पार गर्न दुई मिनेट ७.१९ सेकेन्ड समय खर्चिइन्। प्रारम्भदेखि नै गौरिकाले शिभांगीसँग झिनो अग्रता कायम राखेकी थिइन्।

महिला ४०० मिटर फ्रिस्टायल रिलेमा कास्य पदक जितेपछि गौरिका सिंहसहित नेपाली खेलाडी । तस्बिर : सुनिता डंगोल

उक्त स्पर्धामा बंगलादेशी पौडीबाज जुनयना अहमदले कांस्य पदक हात पारिन्। उनले निर्धारित दूरी पूरा गर्न दुई मिनेट १२.८३ सेकेन्ड समय लगाइन्। श्रीलंकाकी गंगा एसडी सेन मालवथथांगे निर्धारित दूरी दुई मिनेट १४.९७ सेकेन्डमा पूरा गर्दै चौथो स्थानमा रहिन्।

यसअघि नेपालमै आयोजित आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले महिला चार गुना एक सय मिटर रिले स्पर्धामा स्वर्ण पदक जितेको थियो। नेपाली टोलीमा नयना शाक्य, रुविना प्रधान, रुना प्रधान र स्तुति सिंह सहभागी थिए। गौरिकाभन्दा अघि अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिताको एकल स्पर्धामा कुनै पनि नेपाली पौडी खेलाडीले स्वर्ण पदक जित्न सकेका थिएनन्।

गौरिकाले बिहीबार नै अर्को कांस्य पदक पनि जितिन्। महिला चार सय मिटर फ्रिस्टाइल रिले स्पर्धामा नेपालले कांस्य पदक जित्दा उनी टोलीकी महत्वपूर्ण सदस्य थिइन्। उक्त स्पर्धामा नेपाली टोलीमा गौरिकासँगै डुआना लामा, टिसा शाक्य र अनुसिया तन्डुकार सहभागी थिए। नेपाली टोलीले निर्धारित दूरी चार मिनेट ७.९७ सेकेन्डमा पूरा गर्‍यो। उक्त स्पर्धामा भारत पहिलो र श्रीलंका दोस्रो भए।

स्वर्ण जितेपछि गौरिकाले आफूलाई कहिलेकाहीँ विदेशी भनेकोमा चित्त दुखाइ गरिन्। ‘म नेपाली नै हो। म आफूलाई नेपाली भन्न रुचाउँछु र यो पदक सम्पूर्ण नेपालीलाई समर्पण गर्न चाहन्छु। राष्ट्रका लागि साग पौडीमा पहिलो स्वर्ण जित्दा उत्साहित भएको छु। मलाई यसपटक ओलम्पिक खेले जस्तै खुसी लागिरहेको छ। आज केही गाह्रो त थियो। तर पनि सागका लागि पर्याप्त तयारी गरेर आएको थिएँ। हरेक पलमा बेस्ट दिने प्रयास गरें। इङ्ल्यान्डमा यसपटक नयाँ प्रशिक्षकसँग दैनिक दुई घन्टा अभ्यास गरेको थिएँ। आज स्वर्ण र कांस्य जितेको छु, धन्य भएँ,’ गौरिकाले भनिन्। गौरिकाले घरेलु समर्थकको साथले स्वर्ण जित्न थप हौसला मिलेको पनि बताइन्। नयाँ पौडी पोखरी केही चिसो भए पनि राम्रो बनेको छ। अझै नोपलका लागि धेरै पदक जित्न चाहन्छु,’ गौरिकाले भनिन्।

गौरिकाको यो दोस्रो साग सहभागिता हो। यसअघि सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं सागमा उनले रजत र कांस्य पदक जितेकी थिइन्। १३औं सागमा गौरिकाले अझ ६ वटा स्पर्धामा प्रतिस्पर्धा गर्न बाँकी छ। उनले नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पनि एक्लैले १२ वटा स्वर्ण पदक जितेकी थिइन्।

बिहीबार नै भएको महिला दुई सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा नेपालकी डुआना लामाले रजत पदक जितिन्। उनले निर्धारित दूरी पूरा गर्न दुई मिनेट ४४.६८ सेकेन्ड समय खर्चिइन्। उक्त स्पर्धामा भारतकी अपेक्षा फर्नान्डेसले दुई मिनेट ३८.५ सेकेन्डसहित स्वर्ण र श्रीलंकाकी रामुदी नुलारा समाराकुनले दुई मिनेट ४४.७१ सेकेन्डसहित कांस्य पदक जिते।

पौडीको पहिलो दिन नौ स्वर्णका लागि खेल भएकोमा अन्य स्पर्धामा भारतीय र श्रीलंकाली खेलाडीको दबदबा रह्यो। भारतीय र श्रीलंकाली खेलाडीले चार÷चार स्वर्ण जिते। अन्य स्पर्धामा नेपाली खेलाडीले कुनै पनि पदक जित्न सकेनन्। पदक जितेलगत्तै प्रतियोगितास्थलमै गौरिकाको डोपिङ परीक्षण पनि गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.