वडा कार्यालय र एक्साभेक्टरमा आगजनी
खाँदबारी : संखुवासभाको मादी नगरपालिका वडा कार्यालयमा आगजनी भएको छ।बुधबार राती मादी ५ को वडा कार्यालय र एक्साभेक्टरमा आगजनी गरेको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिए । अज्ञात समूहले वडा कार्यालयमा आगो लगाउँदा कार्यालयका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
आगजनीबाट वडा कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, प्रीन्टरलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । वडा कार्यालय छेउमा रहको मे ५ प ४८१० नम्बरको मोटरसाइकलमा समेत आगजनी गरिएको छ ।
अज्ञात समूहले मादी ओखरबोटे सडकखण्डको काम गर्दै गरेको एक्साभेटरमा समेत आगो लगाएका छन् । अज्ञात समूहले वडा नम्बर ६ मा रहेको सगरमाथा कन्ट्रक्सन कम्पनीको 'थ्री ट्वान्टी डी टु' क्याट एक्साभेटरमा पनि आगजनी गरेका हुन्।
सगरमाथा कन्ट्रक्सन कम्पनी, काठमाडौंले बज्रगुरु ग्रुपलाई सडकको काम गर्न एक्साभेटर दिएको थियो ।अज्ञात समूहले दुई स्थानमा आगजनीपछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको संखुवासभा प्रहरी प्रमुख डिएस्पी मिम लामाले जानकारी दिए ।
घटनास्थल र आसपासका क्षेत्रमा ५० नेपाल प्रहरी र १५ जना सशस्त्र प्रहरी परिचालन भएको प्रहरी प्रमुख लामाले बताए।
प्रतिक्रिया दिनुहोस !