असामान्य मूल्य

असामान्य मूल्य

जुन चिजको बढी मूल्य छ त्यही चिज प्रतिस्पर्धामा आउँछ र त्यसको महत्त्व रहने गर्छ संसारमा। बेलामौकामा जीवनको मूल्य के हो भनेर नसोध्ने होइन मानिसले पनि। एक दिन एकजना चेला गुरुको नजिक गए र सोधे– गुरु, जीवनको मूल्य के हो ? गुरुले एउटा पत्थर चेलाका हातमा राखिदिए र भने– जाऊ बजारमा गएर यसको मूल्य पत्ता लगाएर आऊ अनि म जीवनको मूल्य बताउने छु। पत्थरको मूल्य सोधेर मात्र आउनु तर बेच्ने होइन नि ! चेला पत्थर लिएर बजारतिर हिँडे। उनले एकजना सुन्तला व्यापारीलाई पत्थर देखाए र सोधे– यसको मूल्य कति होला ? सुन्तला व्यापारीले भने– पत्थर हेर्दा चम्किलो राम्रै छ १२ वटा सुन्तला दिन्छु यो पत्थर मलाई देऊ। युवकले भने– होइन, मेरा गुरुले यसलाई नबेच्नु भन्नुभएको छ।

युवक त्यहाँबाट हिँडे र आलु व्यापारीकहाँ पुगे। उनले त्यही प्रश्न गरे– यो पत्थरको मूल्य कति होला ? आलु व्यापारीले भने– म एक बोरा आलु दिन्छु यो पत्थर मलाई देऊ। युवकले भने– होइन, मेरा गुरुले यसलाई नबेच्नु भन्नुभएको छ। युवक त्यहाँबाट पनि हिँडे र सुन व्यापारीकहाँ पुगे। उनले त्यही प्रश्न गरे– यो पत्थरको मूल्य कति होला ? सुन व्यापारीले भने– ५० लाख दिन्छु यो पत्थर मलाई देऊ। युवकले भने– होइन, मेरा गुरुले यसलाई नबेच्नु भन्नुभएको छ। युवक त्यहाँबाट हिँडे र हीरा पसलमा पुगे। उनले त्यही प्रश्न गरे– यो पत्थरको मूल्य कति होला ? हीरा पसलेले भने– यो त बहुमूल्य चिज हो। सारा सम्पत्ति दिएर पनि किन्न नपाइने चिज हो। कहाँबाट ल्यायौ यो पत्थर ? युवक चुपचाप आफ्नो बाटो लागे। गुरुको आ श्रममा पुगे। छेउमै बसे। दिनभरको कहानी बताए र सोधे– गुरुजी, अब त बताउनुस्, मानव जीवनको मूल्य के हो ? गुरुले भन्नुभयो– तिमीले थाहा पायौ पत्थरको मूल्य ? एउटा सुन्तला व्यापारीले १२ वटा सुन्तला बराबर ठम्यायो। आलु व्यापारीले एक बोरा आलुमा, सुन व्यापारीले दुई लाखसम्म दियो भने हीरा व्यापारीले अमूल्य बतायो। त्यसैगरी तिमी जसरी जीवनको अर्थ लगाउँछौ त्यति नै हो, त्यही नै हो यसको मूल्य। तिमी जसको नजिक जान्छौ, ऊसँग जे छ त्यसमै तिम्रो जीवनको मूल्य देख्छ उसले। अमूल्य छ मानव जीवन सामान्य अर्थमा, सामान्य मूल्यमा जीवनलाई सम्झौता नगर। कहानी पुरानो होला तर जीवनलाई कसरी अमूल्य बनाउने, जीवनलाई कसरी महत्त्व दिने आफ्नै हातमा छ।

अस्तित्वको कृपाद्वारा प्राप्त भएको मनुष्य जीवन सबैलाई प्रेमपूर्ण तरिकाले नै बिताउने इच्छा हुन्छ तर तनावपूर्ण र अस्तव्यस्त जीवनशैलीले प्रेम फलित हुँदैन।

एकजना शिक्षकले कक्षाकोठामा सय रुपैयाँको नोट देखाएर सबै विद्यार्थीलाई सोधे– यो एक सय रुपैयाँको नोट को–को चाहन्छौ ? सबैले हात उठाए– हामी चाहन्छौं। शिक्षकले फेरि त्यही नोटलाई कुच्याएर सोधे– यो कुच्चिएको नोट को–को चाहन्छौ ? सबैले हात उठाए– हामी चाहन्छौं। सयको सफा नोट त सबै चाहन्छौ तर कुच्चिएको नोट पनि किन ? सबैले जवाफ दिए– किनकि सयको नोटको मूल्य उत्ति नै हो। यसरी नै हामीले जीवनको मूल्य बुझ्न सक्यौं भने जीवनमा सधैं खुसी मिल्छ। जीवनमा राम्रो हुँदा, अप्ठ्यारो परिस्थिति आइपर्दा, सहज–असहज जस्तोसुकै परिस्थितिमा पनि जीवनको मूल्य उही नै हो भनेर जान्न सकेको बखत जीवनप्रति धन्य हुन सकिन्छ।

अस्तित्वको कृपाद्वारा प्राप्त भएको मनुष्य जीवन सबैलाई प्रेमपूर्ण तरिकाले नै बिताउने इच्छा हुन्छ तर तनावपूर्ण र अस्तव्यस्त जीवनशैलीले प्रेम फलित हुँदैन। प्रेमपूर्ण हुन जीवनका सबै आयाम र सबै विधामा सजगता आवश्यक छ। ओशो उपनिषद्मा परम्गुरु ओशो बताउनु हुन्छ, ‘सम्पूर्णताको नाम नै जीवन हो। प्रेमपूर्ण जिउन जान्नु नै जीवन हो। जीवनसँग गुनासो गर्ने र जीवनसँग भाग्नेले पूर्णताको जीवन जिउन सक्दैन।’ संसारमा रहेर, संसारको पूर्णतामा भिजेर पनि भित्रको आनन्दमा आनन्दित जीवन बिताउन सकिन्छ। बाहिर देखिएको संसार र बाहिरी कामनाभन्दा पर पनि केही छ, जसले सतत् आनन्दमा लैजान्छ भन्ने बोध गर्न के आपत्ति रह्यो त ? संसारको मस्ती लिऊ र भित्रको मस्ती पनि लिऊ किनकि संसारको मस्तीले मात्रै तिम्रो जीवन अपूर्ण रहन्छ। संसार जित्ने हिटलरले पनि मृत्युको संघारमा आफूलाई खाली, खोक्रो र अपूर्ण पाए र भने– मेरो लास लैजाँदा दुवै हात खाली छाडिदिनू किनकि संसारले थाहा पाओस्– विश्व विजेता हिटलर पनि आखिर खाली हात जाँदै छ।

संसार बाहिर देखिने सुन्दर फूल हो। यसलाई आँखाले हेरेर आनन्द लिऊ तर त्यसको सुगन्धले तिमीलाई एक सेकेन्ड भने पनि आँखा चिम्लिन बाध्य बनाउँछ किनकि सुगन्धभित्र छ, अदृश्य छ, गहिराइमा छ। त्यो अदृश्य पाटो नै अध्यात्म हो, प्रेम हो र पूर्णता हो। बाहिर जे कुराले आनन्द दिन्छ, त्यसलाई पूर्णतासाथ ग्रहण गर्नमा कसले रोक्न सक्छ र तर त्यसको साथसाथै भित्री आनन्द केमा छ त्यसप्रति पनि ध्यान दिन जीवन प्रेमपूर्ण र पूर्णताले भरिएको हुन्छ।

साधनविना जीवन सहज हुँदैन। त्यसैले यिनको आवश्यकता पनि छ तर, साधनले दीर्घकालीन सुख र आनन्द भने दिँदैन। घर बनाउनु लक्ष्य हो भने घर बनेपछि सतत आनन्द प्राप्त हुनुपर्ने, त्यो भएको पाइँदैन। गाडी किन्नु लक्ष्य थियो भने किनेपछि अरू कुराको दुःख नहुनुपर्ने। चुनाव जितेर, पद प्राप्त गरेपछिको सुख र घमण्ड अनि डिग्री पूरा गरेर प्रमाणपत्र हात पारेको खुसी पनि केही दिन, केही वर्ष होला।

यसले जीवनभरको आनन्द दिँदैन किनकि यी सब बाहिरी आनन्द दिने क्षणिक वस्तुहरू हुन्। बाहिरी क्षणिक आनन्द थाहा पाएपछि मानिसले भित्री आनन्द, जुन दीर्घकालीन रूपमा रहिरहन्छ र सतत् बोधमय, अमृतमय आनन्द दिने कुरा के हो खोज्न थाल्यो भने ऊ अब साध्यको खोजीमा लाग्न थाल्यो भनेर बुझिन्छ। जसरी हामी घर बाहिर मात्र खुसी हुँदैनौं, आफ्नै घरभित्र प्रवेश गरेपछि आफ्नोपनको अनुभूति हुन्छ त्यसैगरी बाहिरी साधनमा मात्र सधैं रमाउन सक्दैनौं। थोरै समझको विकास भयो भने मात्र आफ्नै घरभित्र, आफ्नो स्वभाव, परम चैतन्यको बोध र शाश्वत सत्य थाहा हुन्छ तब मस्त अनि प्रेम र प्रफुल्लतासहित जीवन जिउन थाल्छौं, यही हो साध्य। बाहिरी सम्पदा आवश्यक छन् तर साध्य यही हो भन्ने ठान्यौं भने त्यो भ्रम मात्र हुनेछ। साधनमै रमाउनुको अर्थ हो– हामीलाई अरू प्रगति गर्नु छैन, जीवनको लक्ष्य जान्नु छैन। जब बहिर्मुखी चाहना र आवश्यकता अनि लक्ष्यमै पुगेको भ्रम भए पनि यी सब नश्वर र क्षणिक रहेछन् भन्ने आत्मबोध हुन थाल्छ तब मानिस अन्तर्मुखी हुन थाल्छ। अब उसलाई आफ्नो संस्कार, चाहना, व्यवहार र जीवन जिउने कलामा नयाँ आयाम थप्न मन लाग्छ। आत्म साक्षात्कारको आयाममा लाग्छ। जीवन सहजतापूर्ण जिउने मार्ग रोज्न थाल्छ। कारणबाट प्राप्त सुखको होइन, अकारण प्राप्त आनन्द र प्रेमको अनुभूति गर्न थाल्छ। सत्कर्ममार्फत अरूलाई सहयोग गर्न चाहन्छ। सांसारिक आपाधापीबाट वि श्राम लिएर भित्रको योग साधनामा समय दिन थाल्छ। समत्व भाव, आत्मशुद्धि र प्रेम नै साध्य प्राप्तिका गुण हुन् भन्ने बोध गर्न थाल्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.